७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

किसानलाई पानी पीडा : रहेन खेती, धानमा क्षति

अविरल वर्षाका कारण सुदूरपश्चिमका कृषकको खेतबारीमा लगाइएका बालीनालीमा क्षति पुगेको छ। लगातारको वर्षाले सुदूरका किसानको बारीमा लगाइएका नगदे तथा खाद्यान्न बाली सखाप भएका छन्। अहिले किसानको खेतबारीमा लगाइएको दलहन, तेलहन र फलफूलका साथै खाद्यान्न बालीमा क्षति पुगेको हो।  

बर्खे बाली भित्र्याउन लाग्दा परेको पानीले खेतमै धान भिज्नुका साथै बगेका छन्। काटेर खेतमै राखिएको धान भिज्नुका साथै बगेपछि किसान चिन्तित परेका छन्। दशैंअघि धान काटेर सुकाउन खेतमै राखेका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुगेको छ भने भर्खरै खेतमा छरिएको तोरी तथा तरकारीमा पनि क्षति पुगेको छ।

खेतबारीमा रोपिएका तथा भित्र्याउन ठिक्क पारिएका बालीनाली वर्षाले पूरै नष्ट पारिदिएको बर्दगोरिया गाउँपालिका–५, छराहीका किसान जितराम डगौरा थारूले बताए। उनले भने, ‘धान काटेर मुठा पार्न राखिएका धान सबै वर्षातको बाढीले बगाइदिएको छ, अब वर्षभरि के खाने भन्ने चिन्ता थपियो।’ असारमा गरिएको मिहिनेत कात्तिकमा आएको बाढीले सपना बगाइदिएको बताउँदै उनले भने,‘बाढीले परिवारको सबै सपना बगाइदियो, अब कसरी वर्ष धान्ने भन्ने पिरलो परेको छ।’

धान काटेको ठाउँमा तोरी र मसुरो छरेका किसान पनि अहिले मर्कामा परेका छन्। चाँडै पाक्ने धान लगाएका गौरीगंगा–७, का किसान गंगाराम चौधरीले धान भित्र्याइ सके पनि सोही खेतमा छरिएको तोरी र मसुरो काम नलाग्ने भएको छ। ‘धान काटेर भित्र्याएको थिएँ, सोही खेतमा मसुरो र तोरी छरेको थिएँ,’ उनले भने, ‘नउम्रिँदै परेको पानीले बीउ पनि कुहिने भयो।’ 

किसानले खेतबारीमा छरेको तोरी र मसुरोको बीउ पनि वर्षाका कारण काम नलाग्ने भएको कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, ‘धान खेतीमा त क्षति भयो नै त्योसँगै किसानका बारीमा लगाइएको तेलहन, दलहन र तरकारी बाली पनि नष्ट भएको छ।’ अहिले किसानको फल निकाल्नै ठिक्क भएका केरा खेतीमा पनि ठूलै क्षति पुगेको उनले बताए। ‘केरा खेतीमा पनि ठूलै क्षति पुगेको छ,’ उनले भने, ‘फसल दिएर निकाल्नै ठिक्क भएका केरा ढलेका छन्।’ माटो भिजेपछि केराले धान्न नसक्दा केरा खेतीमा क्षति पुगेको केरा किसान लक्षिराम आचार्यले बताए। उनले भने, ‘पसाउनै लागेको र फसल निकाल्ने बेलाका केरा ढलेका छन्।’ कैलालीमा २ हजार हेक्टर र कञ्चनपुरमा १३ सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ।  

धानमा क्षति बढी  

सुदूरपश्चिममा १ लाख ८१ हजार हेक्टर क्षेत्रफलमा गरिँदै आएको धान खेतीमा बेमौसमी वर्षातले सबैभन्दा बढी क्षति पुर्याएको छ। कैलाली र कञ्चनपुरमा प्रारम्भिक तथ्याङ्क अनुसार धानमा ३० प्रतिशतले क्षति पुगेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए। 

उनले भने, ‘सुदूरपश्चिमको प्रमुख अन्नभण्डारकै रुपमा रहेको कैलाली र कञ्चनपुरमा ३० प्रतिशतले क्षति पुगेको छ।’ कैलालीमा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइँदै आएको धान खेतीबाट ३ लाख ४० हजार मेट्रिक टन उत्पादन हुने गरेको थियो भने कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा गरिँदै आएको धान खेतीबाट १ लाख ८९ हजार १ सय ३४ मेट्रिक टन उत्पादन हुँदै आएको थियो। दुवै जिल्लामा ५ लाख २९ हजार १ सय ३४ मेट्रिक टन उत्पादन हुने गरेको भए पनि यसवर्षको वर्षाले १ लाख ५० हजार मेट्रिक टन उत्पादनमा कमी आउन सक्ने आँकलन गरिएको उनले बताए। ‘वर्षाले धान बगाउनुका साथै भिजेर नष्ट भएका कारण यस वर्ष कैलाली र कञ्चनपुरमा मात्रै उत्पादनमा १ लाख ५० हजार मेट्रिक टन कमी आउने आँकलन गरिएको छ,’ उनले भने, ‘यो क्षतिले सुदूरपश्चिममा खाद्यान्न संकट निम्तन सक्छ।’  

दशैंमा धान काटेर सुकाउन खेतमै छोडेका किसान सबैभन्दा बढी मर्कामा परेको बताउँदै गौरीगंगा–७, मट्कौनाका किसान रणबहादुर बमले भने, ‘दशैं मनाइवरी थ्रेसिङ गर्ने सोचेका थियौँ, सुकेको धान खेतमै भिज्यो, अब घाम लाग्दा कुहिन्छ।’

धान खेतमै भिज्दा यसपालि धानको बीउ पनि जोगाउन मुस्किल पर्ने उनले बताए। अहिलेसम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभए पनि भित्र्याउन ठीक्क परेको धान पानीले भिजेपछि वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको उनले बताए।  

यसपालि किसानले काटेको धान भित्र्याउन नपाउँदै खेतमै भिजेको बताउँदै प्रदेश कृषि निर्देशनालयका प्रमुख जोशीले भने, ‘कतिपय स्थानमा त खेतमा सुकाइएका धानका बाला सबै पानीमाथि तैरिएका छन् ।’ धान नकाट्दै पानी परेमा नबिग्रने भए पनि काटिसकेको धान बारीमै रहँदा वर्षातले बिग्रेको उनले बताए।

‘धान काटेर सुकाउन राखिएको बाली भिज्दा धान मिलमा कुटाउँदा चामल टुटेर कनिका हुने तथा भात खाँदा पुरानो भएको जस्तो बास्ना आउने समस्या देखिन सक्छ,’ उनले भने, ‘तर, खडा रहेको धानमा भने त्यस्तो केही फरक पर्दैन।’  

प्रकाशित: ३ कार्तिक २०७८ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App