१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कानुनले रोकेको बालबिवाह बढेको बढ्यै

रोल्पामा बालबिवाहको दर उच्च छ भन्ने कुरा एक तथ्याङ्कले देखाएको छ। गत वर्ष रोल्पा अस्पतालमा भएका ३ सय ५४ सुत्केरी मध्य ५६ जना २० वर्ष मुनि उमेर समुहका थिए। ति मध्य ८ जना किशोरीको अप्रेशन गरेर सुत्केरी गराउनु परेको थियो। त्यसो त १ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा १७ जना २० वर्ष मुनि उमेर समुहका छन्।  

यो त जिल्लाको एउटा अस्पतालको तथ्याङ्क मात्र हो। जिल्लामा रहेका ३ दर्जन बढि स्वास्थ्य सस्थामा २० वर्ष मुनि उमेरमा बच्चा जन्माउनेको संख्या उल्लेख्य रहने गर्दछ। रोल्पा अस्पतालमा पहिलो गर्भ जाच गर्न आएका २ सय ५० जना मध्य ३५ जना २० बर्ष भन्दा कम उमेरका थिए। कानुनले रोके पनि समाजले रोक्न नचाहादा बालबिवाह न्युनिकरण हुन नसकेको हो।  

बालबिवाहलाई कानुनले अपराध मानेको भए पनि दिन प्रतिदिन यो संख्या घट्न सकेको छैन। प्रहरीमा उजुरी नपर्नु, स्थानिय स्तरमा बालबिवाहलाई सामाजिक मान्यता दिनु, बुझेका भनिएकाहरुले बालबिवाह निरुत्साहनमा चासो नदिनु समस्याको रुपमा देखिएको छ। गत वर्ष अस्पतालमा १४ वर्षकी एक बालिकाले समेत बच्चा जन्माएको तथ्याङ्क छ।

बालबिवाहको दर उच्च भएपनि प्रहरीकोमा उजुरी भने आउने गर्दैन। रोल्पा प्रहरीले गत वर्ष मौखिक उजुरीका आधारमा ४३ वटा बालबिवाह रोकेको थियो। रोल्पा प्रहरीका अनुसार यो बर्ष पनि ५ वटा बिवाह रोकिएको छ। ‘रोल्पामा बालबिबाह अलि भयावह अवस्थामा छ। यो न्युनिकरणका लागि जनप्रतिनिधिले अलि बढि चासो दिदै अभियान नै चलाउनु पर्ने देखिन्छ।’ सुवेदी भन्छन् ‘बालबिवाह मुक्त समाज निर्माणका लागि सबैले एकमुष्ट पहल गर्नु पर्ने देखिन्छ।’

बालबिवाहका कारण विद्यालय छोड्नेको संख्या पनि बढ्दै गएको छ भने अदालतमा हुने सम्बन्ध बिच्छेदको संख्यामा पनि बृद्धि हुन थालेको छ। यहाँ मागि बिवाह भन्दा पनि भागि बिवाहको चलन अत्याधिक रहेको छ। लहलहैमा लागेर बिवाह गर्नेहरुको संख्या उल्लेख्य देखिन्छ। शिक्षा, स्वास्थ्य संगै मानसिकरुपमा पनि असर गरिरहेको बालबिवाह भयावह बन्न थाल्दा पनि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार मौन छन्।  

प्रकाशित: २० श्रावण २०७८ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App