५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले प्रमुख बरालको छातीमा समस्या देखिएपनि अक्सिजनको मात्रा कम नभएको बताए। ‘हिँड्न, डुल्न, बोल्न सबै सक्नुहुन्छ तर एकपटक छातीको थप उपचारका लागि अन्य अस्पताल लैजान सुझाएका छौं,’ डा. शाहले भने, ‘मधुमेहको समस्या भएकाले पनि उहाँलाई थप उपचारमा लैजान सुझाइएको हो, अवस्था जटिल होइन।’

इलाम नगरपालिकाका मेयर महेश बस्नेत र नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पनि कोरोना पोजिटिभ देखिएको छ। आइतबार गरिएको एन्टिजेन परीक्षणमा बस्नेत र कर्माचार्यलाई कोरोना देखिएको हो। मेयर बस्नेतलाई सामान्य खोकी लागेको र घरमै आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ। कर्माचार्य घरमै आइसोलेसनमा रहेको उनी आफैंले सामाजिक सञ्जालमा लेखेका छन्।  

इलाम नगरपालिकामा आइतबार ६६ जनामा एन्टिजेन परीक्षण गर्दा ३७ मा कोरोना पोजिटिभ देखिएको छ। सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। जिल्लामा आइतबार दिउँसोसम्ममा २ सय ९१ जनामा कारोना पुष्टि भइसकेको छ। यीमध्ये इलाम नगरपालिकामा मात्रै १ सय ३१ जना संक्रमित भइसकेका छन्।

जिल्लामा १० जनाको कोरोना संक्रमणका कारण निधन भएकामा ४ जना इलाम नगरकै छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका १४ जना उपचारपछि निको भएका छन् भने अन्य संक्रमितमध्ये कोही अस्पताल र कोही होम आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App