१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना संकटको व्यवस्थापनमा रौतहटका सम्पूर्ण संयन्त्र सक्रिय : प्रजिअ यादव

कोरोनाको महामारी बढ्दै गइरहेको सन्दर्भमा यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न रौतहटको संयुक्त संयन्त्र सक्रिय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

आउँदो चार दिनभित्र जिल्लामा एक सय ६५ बेडको आइसोलेसन सञ्चालनमा आउने जानकारी गराउँदै प्रजिअ यादवले शुक्रबारदेखि चन्द्रपुरमा ४०, शनिबारदेखि धरहरीमा १०० र आइतबारदेखि सदरमुकाम गौरमा २५ बेडको आइसोलेसन सञ्चालनमा आउने जानकारी गराएका छन्।  

जिल्लाका सञ्चारकर्मीहरुसित अन्तक्र्रिया गर्दै प्रजिअ अधिकारीले बुधबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक सय नाघिसकेको र एक जनाको मृत्यु भएको बताएका छन्। कोरोना संक्रमितसित नियमित सम्पर्कमा रहने संयन्त्रको निर्माण गरेको बताउँदै हाल जिल्लामा संक्रमितमध्ये कसैको पनि स्वास्थ्य जटिल नरहेको जानकारी गराएका छन्।  

अन्तक्र्रियामा नेपाल प्रहरीका रौतहट प्रमुख, सशस्त्र प्रहरी बल रौतहटका निमित्त प्रमुख, नेपाली सेनाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखहरुसहित सञ्चारकर्मीहरुसित सम्वाद गर्दै प्रजिअ यादवले जिल्लामा उपलब्ध स्रोत र साधनका साथै जनशक्तिको अत्यधिक उपयोग गरी संकटको व्यवस्थापन गर्न आफूहरु लागि परेको तथा सञ्चारकर्मीहरुले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताएका छन्।  

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको तीन स्थानमा आइसोलेसन संचालन गर्न सबै स्थानीय तहसंग समन्वय गरिएको छ, प्रत्येक स्थानीय तहबाट ५/५ लाखको दरबाट गौर अस्पतालमा रकम जम्मा गराएर आइसोलेसन र करारमा भए पनि चिकित्सक राखेर कोरोना संक्रमितको उपचार गराउन तयारी भईरहेको स्पष्ट पारे। गत वर्ष स्थानीय तहहरु उत्सुक भई क्वारेन्टिन, आइसोलेसन बनाएको तर यसपाली स्थानीय तहका पदाधिकारीहरु जिम्मेवारी लिनबाट पन्छिरहेको अवस्थामा समस्या उत्पन्न भएको गुनासो पनि गरेका छन्।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी भारतबाट नेपाल प्रवेश गर्नेहरु माथि विषेश निगरानी बढाइएको हुँदा तिनीहरुलाई समुचित रुपमा व्यवस्थापन गर्ने प्रमुख चुनौती रहेको बताएका छन्। सीमामा रहेको अस्थायी हेल्थ डेस्कमा उनीहरुको एन्टिजेन प्रविधिबाट परीक्षण गरेर मात्रै नेपालभित्र आउन इजाजत दिइएको बताउँदै प्रजिअ यादवले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई घरमै बसेर उपचार गराउन सचेतना गराइएको पनि स्पष्ट पारेका छन्।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन रौतहटवासीसंग आग्रह गर्दै प्रजिअ यादवले विहेवारी, व्रतबन्धको समय रहेको हुँदा नगई नहुने अवस्थामा मात्रै भारततिर जान नभए केही दिनको लागि भारततर्फ नजानसमेत जिल्लावासीसंग अपिल गरेका छन्। दैनिकरुपमा लाग्न हाटबजारलाई व्यवस्थापन गरिने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्नमा रोक लगाउने, मास्कको अनिवार्य प्रयोग गरी सचेत बनि कोरोनासंग लड्न र नियन्त्रणमा स्थानीय प्रशासनलाई सहयोग गर्न पनि प्रजिअ यादवले आग्रह गरेका छन्।

महामारीको समयमा सबै पक्ष मिलेर सामना गर्नुपर्ने प्रजिअ यादवको भनाइ रहेको छ।

प्रकाशित: १५ वैशाख २०७८ १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App