११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वाधारले फेरिँदै नेपालगन्ज

पालिका

कुनै बेला नेपालगन्ज उपमहानगरपालिकामा जताततै फोहोरमैला, दुर्गन्ध, ट्राफिक जामको समस्याले हैरानी हुन्थ्यो । बर्खाको समयमा त अझै डुवानको भयावह अवस्था । यी समस्याबाट नेपालगन्जवासी सधैं चिन्तित थिए । अहिले भने नेपालगन्ज उपमहानगरपालिकावासी यस्ता समस्याबाट मुक्त भएका छन् । उपमहानगरपालिकाको मुहार विस्तारै फेरिँदै गएको छ ।

उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन, सडक, नाला, भवन जस्ता भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएर काम गरेका कारण यस्तो अवस्था आएको हो । भौतिक पूर्वाधार निर्माणका साथै स्थानीयलाई सचेत बनाउनका लागि सचेतना मुलक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छ । जसले गर्दा छोटो समयमा राम्रो परिवर्तनको संकेत देखिएको हो ।

उपमहानगरपालिकाले २३ वटै वडामा सडक, नाला, भवन जस्ता भौतिक पूर्वाधार निर्माणको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएको जनाएको छ । उपमहानगर क्षेत्रको ४ वर्षअघिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको उपमेयर उमा थापामगरले बताइन् । 

एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा एकिकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत करिब ६० किलोमिटर सडक र नाला निर्माण सम्पन्न भएको छ । 

‘पूर्वाधार निर्माण उपमहानगरपालिकाको पहिलो प्राथमिकतामा परेको विषय हो,’ उनले भनिन्, ‘त्यसकारण हामीले यसैलाई जोड दिँदै आएका हौं ।’ सडक, नाला, भवन, फोहोरमैला व्यवस्थापन, हरियाली वातावरण, तालको संरक्षण सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार तयार भएको उनको दाबी छ । उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन, ताल संरक्षण, सडक कालोपत्रे, नाला निर्माण, वडास्तरमा चिल्डे«न पार्क, छात्रा विद्यालय तथा कलेज स्थापना गरेर समृद्ध उपमहानगर बनाउने अभियानमा अगाडि बढेको उपमेयर थापाले बताइन् ।  

उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउँदा एसियाली विकास बैंकले सडक, ढल र फोहोर मैला व्यवस्थापनको योजना अगाडि बढाउँदै थियो । जनप्रतिनिधि आएपछि उक्त योजनालाई सम्पन्न गर्न सहजिकरण गरिएको उपमेयर थापाको भनाइ छ । उनका अनुसार एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा एकिृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत करिब ६० किलोमिटर सडक र नाला निर्माण सम्पन्न भइसकेको छ ।

यसका साथै उपमहानगरपालिकाले आफ्नै स्रोतबाट पनि अन्य सडक, नाला, भवन निर्माण, फोहोर मैला व्यवस्थापनका कामलाई अगाडि बढाएको छ । हरेक वर्ष बर्खाको बेला नेपालगन्जमा प्रमुख समस्या बन्दै आएको थियो, डुबान । हल्का वर्षा हुँदा पनि उपमहानगर क्षेत्रमा डुबान हुने गरेपछि जनप्रतिनिधिलाई निकै समस्या हुन्थ्यो । उपमहानगरपालिकाले डुबान समस्या समाधानका लागि ढल व्यवस्थापनलाई प्राथमिकता दिँदै काम गरेपनि अहिले उक्त समस्या करिब अन्त्य भएको स्थानीयको भनाइ छ ।  

‘कुनै समयमा हल्का वर्षा हुने बित्तिकै नगर एकैछिनमा डुब्थ्यो, अहिले विस्तारै डुबान समस्या कम हुँदै गएको छ,’ उपमेयर थापामगरले भनिन्, ‘यसको प्रमुख कारण भनेको नै हामीले पर्याप्त मात्रामा निर्माण गरेका नाला हो ।’ डुबान समस्यालाई दिर्घकालिन रूपले समाधान गर्नका लागि उपमहानगरपालिकाले हरेक वर्ष सडक र नाला निर्माणको कामलाई सँगसँगै अगाडि बढाउँदै आएको उनको भनाइ छ ।  

उपमहानगरपालिकाका सहरी विकास तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर भूपेन्द्र बोहराका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै १० किलोमिटर नाला निर्माण गरिएको छ । त्यसपछिका वर्षमा १२.३ कि.मी. नाला निर्माण गरियो । चालु आर्थिक वर्षमा पनि उपमहानगरका विभिन्न ठाउँमा नाला निर्माणको काम भइरहेको सहरी विकास तथा पूर्वाधार शाखाले जनाएको छ ।

यसबाहेक उपमहानगरपालिकाले कालोपत्रे, पिसिसी, ग्राबेल तथा माटो पटान, भवन निर्माण तथा मर्मत, पार्क निर्माण तथा मर्मत, सार्वजनिक शौचालय निर्माण तथा मर्मत, हाइमास्ट बत्ती जडान जस्ता काम गरिरहेको बताइएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १४.३१ किलोमिटर ग्राबेल तथा माटो पटान, ८.६३ किलोमिटर पिसिसी, २ सय ८५ मिटर कालोपत्रे, १९ वटा सार्वजनिक शौचालय निर्माण तथा मर्मत, ४१ वटा भवन निर्माण तथा मर्मत, ३ वटा पार्क निर्माण तथा मर्मतको काम सम्पन्न गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १५.१२ किलोमिटर ग्राबेल तथा माटो पटान, ६.३१ किलोमिटर पिसिसी, ४.९१९ किलोमिटर कालोपत्रे, १० वटा सार्वजनिक शौचालय निर्माण तथा मर्मत, ३१ वटा भवन निर्माण तथा मर्मत, २ वटा पार्क निर्माण तथा मर्मत, २ वटा हाइमास्ट बत्ती जडानको काम गरेको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले छात्रा विद्यालय, छात्रा कलेज, कान्ति ताल विकास योजना, अस्पतालजन्य फोहोर व्यवस्थापन योजना अगाडि बढाएको छ । यसका लागि निर्माणको काम तिव्र गतिमा भइरहेको इन्जिनियर बोहराले बताए ।

उपमहानगरपालिकाले मंगलप्रसाद माध्यामिक विद्यालय परिसरमै महिला कलेज स्थापना गर्दैछ । ‘कलेज भवनको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ इन्जिनियर बोहराले भने ‘यो कलेज नेपालगन्ज उपमहानगरपालिका र जिल्ला समन्वय समितिको बजेटबाट निर्माण गर्न लागिएको हो ।’ उपमहानगरपालिकाले सल्यानी बाग टोलमा छात्रा विद्यालय भवन निर्माणको काम सचालन गरेको छ । २ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको १८ कोठाको, ३ तले भवन आगामी असार मसान्तभित्र सम्पन्न गरिसक्ने सम्झौता छ ।

उपमहानगर क्षेत्रका अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि हिरमिनियास्थित ल्याण्डफिल साइडमा भवन निर्माण गरिँदैछ । ६४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का प्रक्रिया सुरु भइसकेको इन्जिनियर बोहराले बताए । उपमहानगरपालिकाले भवन निर्माण गरिसकेपछि विभिन्न संघ संस्थाले १ करोड ७ लाख ३० हजार रुपैयाँ बराबरको उपकरण उपलब्ध गराउने सम्झौता रहेको उनले बताए ।

उपमहानगरपालिकाले अर्को महत्वपूर्ण योजनाको रूपमा कान्ति ताल विकास योजनालाई अगाडि बढाएको छ । साविक पुरैना, पुरैनी गाविस अन्तर्गत रहेको उक्त ताल वरिपरिको क्षेत्रलाई कालोपत्रेसहित पिसिसी र नाला निर्माणको काम गरिएको छ ।

प्रकाशित: ५ फाल्गुन २०७७ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App