११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र

पंचले बनाए १० लाखको कपाली तमसुक

विष्णुपुरको किशोरी बलात्कार घटनामा मिलापत्र गराउने पञ्चहरुलाई पक्राउपछि सार्वजनिक गरिँदै। तस्बिर: नागरिक

बलात्कारको घटना पञ्चायतबाट टुंग्याउनु कति घातक हुँदोरहेछ भन्ने सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरकी १७ वर्षीया किशोरीको आत्महत्याले देखाइसकेको छ। चारजनाको सामूहिक बलात्कारमा परेकी किशोरीलाई पञ्चायतले पीडकबाट एक लाख २० हजार रुपैयाँ लिएर माफी दिन निर्देशन नदिएको भए उनको ज्यान जाने थिएन। प्रहरीले पञ्चहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। तर पनि बलात्कारजस्तो जघन्य अपराध लुकाउन पञ्चहरुको सक्रियता अझै रोकिएको छैन।

गत सोमबार सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरी छिमककै युवकबाट बलात्कारको सिकार भइन्। चिनजानकै युवकले किशोरीलाई घरमा कोही नभएको मौका पारेर साँझ बलात्कार गरे। किशोरीले प्रतिकार गर्न खोज्दा मुखमा कपडा कोचे। त्यसपछि पीडित किशोरीलाई उपचारका लागि स्थानीय पोलिक्लिनिकमा लगियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होम लगियो। उपचारपछि किशोरी शुक्रबार गाउँ फर्किइन्। यस अवधिमा गाउँमा पञ्च हावी भए। पीडक र पीडित दुवै पक्षलाई प्रभावमा पारेर गाउँको इज्जत बाहिर जान दिनुहुन्न भन्दै मिलापत्रमा घटना टुंग्याउन पञ्चहरुले दुवै पक्षलाई राजी बनाए। पीडक पक्षसँग १० लाख जरिवाना भराएर पीडित पक्षलाई दिने निर्णय पञ्चले गरे। उक्त रकम पीडक पक्षलाई पञ्चहरुले नै ऋण दिने योजना बन्यो। जसका लागि लेखनदास (लेखापढी व्यवसायी) बाट कपाली तमसुक बनाउने व्यवस्था पञ्चले मिलाए।

गाउँमा पञ्चायत बस्यो। पञ्चायतले पीडकका बुवा सिंहेश्वर साहलाई १० लाख दण्ड भर्न आदेश दियो। तत्काल यति ठूलो रकम आफूसँग नभएको साहले पञ्चायतलाई बताए। पञ्चायतले उक्त रकमबराबरको कपाली तमसुक गरिदिन अर्को आदेश दियो। पीडकका बुवा सिंह र आफन्त शत्रुधन साह ऋणी भई पाँच–पाँच लाखका दुई थान कपाली तमसुक बनाइदिए। उक्त तमसुकको कागज पञ्चायतले जगवीर यादवको जिम्मा दिने निर्णय ग-यो।

गाउँमा पञ्चायत बसी बलात्कारको घटनामा मिलापत्र गरेको सूचना चुहिएर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धिरजप्रताप सिंहसम्म पुग्यो। उनले सूचना पाउनासाथ शनिबार विशेष प्रहरी टोली घटनास्थल पठाए। टोलीले घटनाबारे सम्पूर्ण जानकारी संकलन ग-यो। पञ्चायतमा बसेकाहरु सम्पूर्णको हुलिया पहिचान ग-यो। बलात्कारका आरोपितलाई निगरानीमा राखियो र जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा उनीसहित मित्रापत्र गराउने सबै पञ्चलाई पक्राउ गरियो। ‘यो घटनामा सावधानी नअपनाएको भए आरोपित र पञ्च उम्किन सक्थे’, डिआइजी सिंहले भने, ‘सावधानीपूर्वक गरिएको कारबाहीका कारण आरोपित र घटनामा मिलापत्र गराउने पञ्चहरुलाई पक्रन सक्यौं।’ पीडितको जाहेरी दर्ता गरिसकेको उनले बताए। आइतबारै जिल्ला अदालत सिरहाबाट १५ दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको सिंहले जानकारी दिए।

पक्राउ परेका बलात्कार आरोपी युवक। 

घटनाका अभियुक्त विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साह र पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका छन्।

गत सोमबार नै सप्तरीको विष्णुपुर गाउँपालिका–६ की ४० वर्षीया महिलामाथि घरमा एक्लै सुतिरहेको मौका पारेर गाउँकै दुई पुरुषले बलात्कार प्रयास गरे। कराउन खोजेपछि उनीहरुले महिलालाई कुटपिट गरे। महिला चिच्याएको सुनेर छिमेकी आइपुगे। उनी जोगिइन्, पुरुषहरु भागे। तीमध्ये एकलाई गाउँलेले समाते। भोलिपल्ट बिहान पञ्चायती बस्यो। पञ्चायतले दोषी उम्काउने प्रपञ्च ग-यो। पीडितले पञ्चायतको निर्णय अस्वीकार गरिन्। महिलाको श्रीमान्ले श्रीमतीलाई जबर्जस्ती गर्न खोज्नेका विरुद्ध कानुनी कारबाहीको माग गर्दै असोज १४ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिए। जिल्ला प्रहरीले प्रहरी चौकी विष्णुपुरमा उक्त निवेदन पठाइदियो। दोषी अझै प्रहरीको नियन्त्रणबाहिर छन्।

भदौ २५ गते जितिया पर्वको साँझ सप्तरीको खडक नगरपालिकाका १७ र १६ वर्षका दुई किशोरी शौच गर्न गाउँनजिकैको बाँस झाडीमा गए। फर्किने क्रममा गाउँकै तीन युवकले किशोरीलाई घेरे र लछारपछार गर्दै एकान्तमा लान खोजे। दुवै किशोरीले चिच्याउँदै गाउँलेलाई गुहार लगाए। गाउँलेहरु जुटेपछि युवक त्यहाँबाट भागे।

गाउँले भेला हुँदासम्म किशोरीका लुगा युवकहरुले च्यातिसकेका थिए। च्यातिएको ठाउँमा हातले छोपेर रुँदै दुवै किशोरी घर फर्किए। बलात्कारको प्रयास गर्नेहरुको पहिचान भयो। भोलिपल्ट किशोरीको परिवार इलाका प्रहरी कार्यालय कल्याणपुर गएर घटनाको जानकारी गरायो। प्रहरीले घटना छलफलबाटै टुंग्याउन पहल सुरु ग¥यो। पञ्चहरु बसेर सामान्य झगडा भएजस्तै बलात्कार प्रयासको घटनालाई टुंग्याइदिए। पीडकहरुबाट ६ लाख ५० हजार रुपैयाँ जरिवाना भराउने र उक्त रकम पीडित पक्षलाई दिनेगरी पञ्चायतले घटना टुंग्यायो। पीडित पक्ष अझै न्यायको प्रतीक्षामा छन्।

मधेसमा अझै पञ्चायत
मधेसमा पञ्च र पञ्चायती नौला शब्द होइनन्। मधेसमा गाउँका मान्यजनलाई पञ्च र उनीहरुको अगुवाइमा हुने छलफललाई पञ्चायती भनिन्छ। समाजमा लेनदेन, आलीपैनी, कुलोलगायतका सामान्य विवाद सामाधान गरी अमनचयन कायम राख्न यो विधि अपनाइँदै आएको थियो। पछिल्लो समय भने पञ्चायतीले जघन्य अपराधका घटनामा समेत हात हालेको पाइएको छ।

स्थानीय तहमा न्यायिक समिति गठन गरिएको छ। तर गाउँघरका विवाद त्यहाँसम्म पुग्न नदिई गम्भीर अपराधका घटनामा पनि पञ्चायतीकै माध्यमबाट मिलापत्र गर्ने क्रम बढ्दो छ। यसबाट समाजमा दण्डहीनताले प्रश्रय पाउन थालेको बुद्धिजीवी अर्जुन थपलिया बताउँछन्। ‘देवानी प्रकृतिका सामान्य विवाद छलफलबाट टुंग्याउनु त ठीकै हो तर फौजदारी प्रकृतिका हत्या, बलात्कारमा पञ्चायती गरेर मिलाउन खोज्नु अपराध हो’, प्रदेश प्रहरी कार्यालय जनकपुरधामका एसपी कृष्ण प्रसाईंले भने, ‘फौजदारी घटनामा मिलापत्र गराउनेलाई कानुनतः कारबाही हुनैपर्छ।’ पञ्चहरुले कुन केसमा हात हाल्ने कुनमा हाल्न नहुने बुझ्न जरुरी भएको उनको भनाइ छ।

प्रकाशित: १९ आश्विन २०७७ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App