६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अदुवा बेसार कार्यक्रममा लाखौं अनियमितता

कृषकको किर्ते हस्ताक्षरसहित निर्देशनालयमा बुझाइएको प्रगति प्रतिवेदन । पाँच किलो बेसार वितरण गरेको समितिले भर्पाईमा भने ८० देखि ११५ किलोसम्म अदुवा र ४५ किलोसम्म बेसार वितरण गरेको देखाएको छ । तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चिंगाड गाउँपालिका–३ मा अदुवा बेसार ब्लक कार्यक्रम सञ्चालनमा ल्यायो । यसका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवसायीक कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालनका लागि कृषि विकास निर्देशनालयमार्फत २८ लाख ६० हजार रुपैयाँ कृषकहरुका लागि अनुदान उपलब्ध गराइयो । प्रधानमन्त्रीको नाम जोडिएको यो कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ ।

अदुवा बेसार सञ्चालक समितिले निर्देशनालयमा बुझाएको प्रगति प्रतिवेदनमा चिंगाड–३ अवलभुवानीकी डिलकुमारी घर्तीले यो कार्यक्रममार्फत एक सय किलो अदुवा र ४५ किलो बेसारको वीउ बुझेको देखिन्छ । घर्तीले भने समितिमार्फत १५ किलो बेसारको वीउ मात्रै पाइन् । ‘खाली कागजमा हस्ताक्षर गर्न लगाएर १५ किलो बेसारको वीउ दिएका हुन्,’ घर्तीले भनिन्, ‘अदुवा त देख्नै पाइँन् ।’

स्थानीय रामबहादुर खाँणले पनि समितिमार्फत पाँच किलो बेसारको वीउ बुझे । निर्देशनालयमा बुझाइएको प्रगति प्रतिवेदनमा भने उनले ८० किलो अदुवा र ४० किलो बेसार बुझेको देखिन्छ । ‘मैले कहीँ हस्ताक्षर पनि गरेको छैन्, पाँच किलो जति बेसारको वीउ पाएको हुँ,’ खाँणले भने, ‘८० किलो अदुवा र ४० किलो बेसार बुझेको हैन् ।’

अदुवा बेसार ब्लक सञ्चालक समितिले कृषि विकास निर्देशनालयमा भुक्तानी लिँदा बुझाएको प्रगति प्रतिवेदनमा दुई सय ३८ जना कृषकलाई आठ हजार ९६८ किलो अदुवा र १० हजार छ सय ४४ किलो बेसार उपलब्ध गराएको उल्लेख छ । कागजी रुपमा कृषकहरुलाई १९६ क्वीन्टल अदुवा र बेसार वितरण गरेको देखिए पनि केही कृषकलाई मात्रै थोरै वीउ वितरण गरिएको समितिकै पदाधिकारी बताउँछन् ।

अदुवा बेसार जोनका उपसंयोजक डिलबहादुर चन्दले कागजी रुपमा वितरण गरेको संख्या धेरै देखाइए पनि थोरै मात्रामा अदुवा र बेसार वितरण गरिएको बताए । निर्देशनालयमा बुझाएको प्रतिवेदनमा कृषकहरुलाई आठ हजार ९६८ किलो अदुवा वितरण गरेको उल्लेख भएपनि समितिका सहसंयोजक चन्दले ४० जना कृषकलाई दुई सय किलो मात्रै अदुवा वितरण गरिएको बताए । ‘४० जना कृषकलाई दुई सय किलो अदुवा वितरण गरिएको हो, बेसार केही बढी दिएका हौं,’ उपसंयोजक चन्दले भने, ‘कृषकहरु अदुवा र बेसार चाहियो भन्दै मेरो टाउको दुखाइराखेका छन् ।’

किर्ते हस्ताक्षर

अदुवा बेसार ब्लक सञ्चालक समितिले निर्देशनालयमा १४ पानाको भर्पाई बुझाएको छ । १४ पानामा दुई सय ३८ कृषकको नाम छ । कृषकहरुको नामका पछाडि एकै जनाको हस्ताक्षर छ । ‘निर्देशनालयमा बुझाइएको भर्पाई अनुसार हामीले अदुवा र बेसार पाएका छैनौं, हस्ताक्षर पनि हाम्रो होइन्,’ कृषक विष्णुप्रसाद शर्माले भने, ‘हाम्रो नाम बेचेर समिति र सरकारी कार्यालयले चरम भ्रष्टाचार गरेको छ, छानविन हुनुपर्छ ।’ समितिका उपसंयोजक चन्दले हस्ताक्षरका बारेमा आफुलाई जानकारी नभएको बताए । ‘नाम लेखेर वीउ दिएको थाहा छ, त्यतिबेला हस्ताक्षर गरेको होइन्,’ उनले भने, ‘निर्देशनालयमा बुझाइएको भर्पाईमा कसरी धेरै परीणाम र हस्ताक्षर भयो समितिकै सहसंयोजक भएपनि मलाई जानकारी छैन् ।’

किर्ते विल पेश

बर्दियासँगको सीमामा पर्ने बराहताल गाउँपालिका–१ तेलपानीस्थित रेशम कृषि तथा पशुपालन फर्मसँग १९ लाख ८० हजारको अदुवा र बेसार खरिद गरेको समितिले भर्पाई बनाएको छ । मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा तेलपानीदेखि चिंगाडसम्म चार ट्रिप अदुवा र बेसार ढुवानी गरेको उल्लेख छ । फर्मका सञ्चालक लोकबहादुर कठायत आफुले ३५ क्वीन्टल बेसार र ३० क्वीन्टल अदुवा सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गरेको बताउँछन् ।  

‘चिंगाडको अदुवा बेसार ब्लक समितिलाई ३५ क्वीन्टल बेसार र ३० क्वीन्टल अदुवा दिएको हुँ,’ उनले भने, ‘विल मिलाउनुपर्ने भएकाले १९ लाख ८० हजारको भर्पाईमा हस्ताक्षर गरिदिएको हुँ ।’ समितिका सहसंयोजक चन्दले भपाईमा उल्लेख भएको भन्दा थोरै मात्रामा अदुवा र बेसार ल्याइएको बताए । ‘कोरोनाका कारण लकडाउन (बन्दाबन्दी) थियो, ल्याएकोमा पनि केही कुहियो,’ उनले भने, ‘१९ लाख ८० हजारको अदुवा र बेसार खरिद गरेका हैनौं ।’

अन्य सामाग्रीमा पनि अनियमितता

अदुवा बेसार ब्लक कार्यक्रम अन्र्तगत समितिले एक सय ६० क्वीन्टल अदुवा र बेसार खरिद गर्नुका साथै एक हजार थान जुटका बोरा, क्यारेट, एक मिनी ट्रिलर, १५ वटा अदुवा धुने ट्याङ्की, नौ वटा अदुवा बेसार सुकाउने मेसिन खरिद गर्नुपर्ने उल्लेख छ । समितिले अदुवा र बेसार खरिदमा मात्रै अनियमितता गरेको छैन्, भौतिक संरचना निर्माण र मेसिनरी सामाग्रीमा पनि अनियमितता गरेको छ । ‘मिनी ट्रिलर र केही जुटका बोरा मात्रै खरिद भएका छन्,’ सहसंयोजक चन्दले भने, ‘अरु आउँदैछन् भन्ने सुनेको छु, अहिलेसम्म आइपुगेको छैन् ।’

प्रकाशित: २१ श्रावण २०७७ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App