१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रयोगमा नआउँदै हाटबजारको पर्खाल भासियो

तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन

बनेको केही हप्ता पछि नै भासिएको अर्खौले बजारको ट्रसको रिटेनिङ वाल निरिक्षण गर्दै मेयर इवन राई र उपमेयर बिमला राई । तस्बिर : दमन/नागरिक

हाटबजारका लागि बनाइएको ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै भासिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न आदेश दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा लाग्ने साप्ताहिक हाटबजारका लागि ४६ लाखमा बनाइएको कृषि मार्केट आयोजनाको फलामे ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै वर्षाका कारण भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्नका लागि निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकलाई आदेश दिएको हो ।  

बिहिबार गरिएको स्थलगत अनुगमनपछि अर्खौलेबजारमा बसेको मेयर इवन राई र उपमेयर बिमला राई सहितको बैठकले ट्रसको भासिएको रिटेनिङ वाल मर्मत गर्न र अन्य चर्किएका संरचना सच्याउन निर्माण कम्पनीलाई निर्देशन दिएको हो । संरचना निर्माण गरेको वर्ष दिनसम्म मर्मत सम्भार गर्ने जिम्मा सम्वन्धित निर्माण कम्पनीकै भए अनुशार अर्खौले कृषि मार्केट आयोजनाको काममा भएको त्रुटी सच्याउन अनिल मल्टी कम्पनी प्रालिलाई निर्देशन दिइएको मेयर राईले बताए । हाटबजार ट्रसको रिटेनिङ वाल भासिएपछि प्राविधिकरुपमा स्थलगत अध्ययन गरेर भासिएको र बिग्रिएका संरचना पुनःनिर्माणका लागि साउन ६ गते निर्माण पत्राचार गरिसकिएको अवस्थामा पुनः बैठक राखेर कम्पनीलाई अर्को आदेश दिइएको नगरपालिकाले जनाएको छ ।  

हाटबजारका लागि बनाइएका १८ वटा ट्रसमध्ये केही दिन परेको वर्षाका कारण पुछार गर्होमा बनाइएको प्रवेशद्धारतर्फको रिटेनिङ वाल पूर्णरुपमा भासिएको छ । गत असार २१ गते सम्पन्न गर्ने शर्तमा २०७७ साल वैशाख ३१ गते सम्झौता गरिएको कृषि मार्केट योजनाको ट्रस साउन ३ गते भासिएको हो । सम्झौता मितिभन्दा केही दिन ढिलागरी बनाइएको योजनाको रिटेनिङ वालले एक स्थानीयको टहरा किचेको छ । २००७ सालदेखि नै हरेक सोमबार हाट लाग्ने अर्खौलेमा कृषि मार्केट योजनाका लागि भ्याट तथा पिएस सहित ४६ लाख ४४ हजार ६८६ रुपैयाँमा ठेक्का लगाइएको थियो । बलियो बेस माटो नभेट्दै पर्खाल उठाइएकाले योजना सम्पन्न भएको केही हप्ता पछि नै हाटबजारको पर्खाल भासिन पुगेको अनुमान गरिएको छ । बलियो जग खन्नुको सट्टा ठेकेदारले गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनाइएको पर्खालको जगलाई नै ट्रसको जग बनाएको स्थानीयको दाबी छ । निर्माण कम्पनीका प्रतिनिधि रबि राईले भने सार्वजनिक जग्गा मिचेर टहरा बनाएका स्थानीयको अवरोधका कारण पर्खालका लागि बलियो जग खोतल्न नसकिएको बताए ।

वर्षाका कारण केही ट्रसका रिटेनिङ वाल तथा माथिल्लो कान्लामा उक्लिन र ओर्लनका लागि बनाइएको सिमेन्टेड सिँढी समेत चर्किएको छ । बलियो जग नभेट्दै फिलिङ माटोमाथि सिँढीको पर्खाल उठाइएकाले चर्किएको नगरपालिकाका इन्जिनियर नविन कौशलले बताए । यस्तै, हाटबजारको सिरान ग¥हामा बनाइएको ट्रसको कुनामा माथिबाट पहिरो खसेको छ । पहिरोले भित्ताका पर्खाल र ट्रसका केही पिलर पुरेको छ । पहिरोले सोभन्दा माथिका केही घर जोखिममा परेको छ । हाल पहिरोलाई प्लाष्टिकले ढाकिएको छ ।  

ठेक्का अनुसार निर्माण कम्पनीले हाटबजार लाग्दैआएको स्थानका चार कान्लामा ट्रस निर्माण गरेको हो । नगरपालिकाकै एतिहासिक र कृषि उपज विनिमय गर्ने प्रमुख केन्द्रका रुपमा रहेको सो हाटबजारको स्तरोन्नतीका लागि नगरपालिकाले प्राथमिकताका साथ बजेट व्यवस्था गरेर आवश्यक संरचना निर्माण गरेको हो । केही स्थानीयले हाटबजार क्षेत्रमा पर्ने घर टहरा हटाउन अटेर गरेकाले निर्माण कम्पनीले बलियो जग खन्न नपाउँदा पर्खाल भासिन पुगेको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए । गत माघ २६ गते अर्खौलेमै भएको बैठकमा मध्यपहाडी लोकमार्गको केन्द्रबाट १५ मिटर छाडेर कृषि मार्केट आयोजनाको काम थाल्ने निर्णय अनुशार सो क्षेत्रभित्र पर्ने घर र टहरा हटाउनका लागि अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।  

पर्खाल भासिएको विषयमा छानबीन समिति  

अर्खौले कृषि मार्केट आयोजनाको काममा भएको त्रुटीका विषयमा छानबीन गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यको संयोजकत्वमा छानबीन समिति गठन गरिएको छ । हाट बजारका लागि बनाइएको ट्रसको वाल प्रयोगमा नआउँदै भासिएपछि नगरपालिकाले छानबीन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र प्रतिबेदन पेश गर्न र त्रुटी गर्नेपक्षलाई कारबाहीका लागि सिफारिस गर्न आदेश दिएको छ । प्राविधिकको कमजोरी पाइए उसलाई नै कारबाहीको दायरामा ल्याइने मेयर राईले बताए । योजनाको एक ठाउँमा पर्खाल लगाउने काम अझै बाँकी रहेको देखिएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App