६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुनौलो हजार दिनका आमा र बालबालिका जोखिममा

गिरीघाटस्थित बाढीपीडित शिविरका सुनौलो हजार दिनका आमाहरूलाई पोषण प्याकेज वितरण गर्दै गाउँपालिका उपाध्यक्ष शोभा शर्मा। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक

२०७१ सालमा सुर्खेतमा आएको बाढीले बराहताल गाउँपालिकाको थापाडेराबाट विस्थापित भएर गिरीघाट शिविरमा आउँदा जानकी सुनार १० वर्षकी थिइन्। ठूलो परिवार, सडक किनारको अस्थायी बास। पाँच जनाको परिवारलाई खान–लगाउनकै समस्या हुन्थ्यो। स्थायी थातथलोबाट विस्थापित भएपछि जानकीले पढ्न पाइनन्। १४ वर्षमै छोरा जन्मियो।

उनको घरमा ८ जनाको परिवार छ। बालबालिकाका लागि सुनौला हजार दिन महत्वपूर्ण हुन्छन्। यहीँ अवधिमा बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास हुन्छ। यो अवधिमा आमा र छोराको लागि पौष्टिक आहारको आवश्यकता हुन्छ। ‘बन्दाबन्दी (लकडाउन) भएयता मजदुरी गर्न पाएका छैनौं, छाक टार्नै समस्या छ,’ जानकीले भनिन्, ‘यस्तो अवस्थामा कहाँबाट पोषण खाना पाउनु।’  

कालापहाडमा नवीन विकले काम गरेर जम्मा भएको पैसाबाट गिरीघाटमा पार्वती विकले चुल्होमा आगो बाल्थिन्। डेढ वर्षको छोरालाई उनले राम्रैसँग स्याहार गरिरहेकी थिइन्। लकडाउनले नवीनको रोजगारी खोसियो। त्यहीँ बेला उनी कालापहाडबाट अस्थायी शिविरमा आइपुगे। ‘अहिले छाक टार्नका लागि पनि खाद्यान्न बाँकी छैन्,’ नवीनले भने, ‘साँझ विहान छाक टार्ने केही छैन यस्तो अवस्थामा कहाँबाट पत्नी र छोरालाई पोषिलो खानेकुरा खुवाउन सक्छु।’

सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका पोषण अभावमा जोखिममा परेपछि गाउँपालिकाले एक हजार ८ सय १९ जना सुनौलो दिनका महिलाहरूलाई पोषण प्याकेज उपलब्ध गराएको छ।

२०७१ साउनको अन्तिम साता आएको बाढीले विस्थापित भएका यहाँका एक सय ९ परिवार अहिले गिरीघाट शिविरमा बस्दै आएका छन्। पुरुषहरू रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जान्थे। उतैको कमाइले यहाँ परिवारका सदस्यको पेट भरिन्थ्यो। कोरोना भाइरसका कारण भारतमा जानेहरूको मजदुरी खोसिएपछि सबै शिविर फर्किएका छन्।

लकडाउनकै कारण स्थानीयस्तरमा रोजगारी छैन। बेलाबेलामा दाताले दिने खाद्यान्न उनीहरूका लागि अहिले छाक टार्ने माध्यम बनेको छ। ‘मजदुरी गर्ने ठाउँ नहुँदा छाक टार्नका लागि दाताको भर पर्नुपर्ने बाध्यता छ,’ शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले भने, ‘आसै आसमा कति समयसम्म बस्नुपर्ने हो थाहा छैन्।’  

बराहताल गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका विष्णु गुरुङले कोरोना संक्रमणका कारण सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताइन्। ‘बाढीपहिरोबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेकाहरूको अझ अवस्था दयनीय छ,’ उनले भनिन्, ‘त्यहाँका बालबालिकामा कुपोषणको समस्या पनि देखिँदै गएको छ।’  

गाउँपालिकाले सुनौलो हजार दिन भित्रका एक हजार ८ सय १९ जना महिलाहरूलाई पोषण प्याकेज उपलब्ध गराएको छ। स्याफ्रन नेपालसँगको सहकार्यमा गाउँपालिकाले प्रत्येक वडाबाट तथ्यांक संकलन गरेर पोषण प्योजक वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शोभा शर्माले जानकारी दिइन्। ‘कोरोना संक्रमणका कारण सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका पोषण अभावमा जोखिममा पर्दै गइरहेका छन्,’ उनले भनिन्, ‘विभिन्न संघ–संस्थाको सहकार्यमा प्रत्येक वडामा पोषण प्याकेज वितरण गरिरहेका छौं।’

प्रकाशित: ९ श्रावण २०७७ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App