१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

स्तरोन्नती भएपनि व्यवस्थापनमा सुधार भएन भरतपुर अस्पताल

फाइल फोटो

भरतपुर–  भरतपुर अस्पताललाई  केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नती गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन।

 ६ सय श्यया रहेको  अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको  दरबन्दी कम भएको जानकारी दिए।

हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन्। ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन्। 

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन्। चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका छन्। तीमध्ये ४९ जना चिकित्सक रहेका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक, नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिए। 

अस्पतालको सरसफाइमा अहिले ठेकेदारमार्फत एक सयजना कार्यरत रहेका छन्। क्रमशः अस्पताल विस्तार हुँदै जाँदा सोही प्रक्रियामा सङ्ख्या थप्दै लैजानुपर्ने प्रस्ताव अस्पतालले गरेको छ। 

 अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ। एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरङ्ग सेवा लिन आएको उनले जानकारी दिए। 

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन्। अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ। काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ। अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए। 

मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो। प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुविधा प्राप्त गर्न नसकेको हुँदा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनुपर्ने बताए।

यस अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको उनले बताए। 

प्रकाशित: ३ पुस २०७६ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App