१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अंग प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्स पक्राउ

काठमाडौं – विभिन्न माग लिएर आन्दोलनमा उत्रिएका धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका ६ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल नर्सिङ संघको हातामा बुधबार धर्ना बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।पक्राउ परेका नर्सहरुलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको र बुधबार साँझसम्म रिहा नगरिएको जनाइएको छ। तालाबन्दी गरेर कार्यालय खोल्न बाधा पारेका कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका डिएसपी विनोद घिमिरेले बताए।

वैशाख ११ गतेदेखि विभिन्न माग लिएर उनीहरु आन्दोलरत थिए। माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालय, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रलगायत निकायमा विरोध प्रदर्शनपछि आफूहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले नेपाल नर्सिङ संघमा धर्ना दिन थालेका थिए। आन्दोलनरत नर्सहरुले धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका पुराना कर्मचारी स्वतः स्थायी हुनुपर्ने, काम तथा अनुभवका आधारमा बढुवा गर्नुपर्ने, कार्यरत कर्मचारीलाई प्रोत्साहन दिनुपर्ने, जोखिम भत्ता दिनुपर्नेलगायतका माग राखेका छन्।

पक्राउ पर्ने नर्सहरुमा विक्की शेर्पा, सजना धौला, मुना श्रेष्ठ, जेनी लामा, प्रविना कार्की र रविता छितेखु छन्। नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले आन्दोलनरत नर्सहरुको माग नर्सिङ संघसित सम्बन्धित नभएकाले संघमा ताला लगाएर धर्ना बस्दा काममा बाधा परेपछि प्रहरीका सहारा लिनु परेको बताइन्। उनका अनुसार नर्सहरुले तालाबन्दी गरेर धर्ना दिएपछि विश्व नर्सिङ दिवसलगायतका कार्यक्रम सञ्चालनमा बाधा परेपछि प्रहरीसँग सहयोग मागेको हो।

नर्सहरुको मागप्रति नर्सिङ संघको ऐक्यवद्धता भए पनि केन्द्रले ९० जना कर्मचारी लोकसेवाले तय गरेकोे कर्मचारी छनोट प्रक्रियाद्वारा पूर्ति गर्नु विधिसम्मत भएको जनाएको छ। ‘नर्सहरुको माग स्वास्थ्य मन्त्रालय तथा धर्मभक्त अंग प्रत्यारोपण केन्द्रसँग सम्बन्धित विषय हो, नर्सिङ संघसँग होइन,’ थापाले भनिन्।

प्रकाशित: २६ वैशाख २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App