१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सात महिनामा साढे तीन सयको मृत्यु

बुटवल - माघ २० गते आफैंले चलाएको जिप दुर्घटनामा गुल्मी मुसीकोटका ठाकुर सापकोटाको निधन भयो। आफ्नै गाउँठाउँमा स्वरोजगार हुने अठोट बोकेर भारतको रोजगारी छाडेर सात महिनाअघि स्वदेश फर्केका सापकोटाले छ महिनाखघि बोलेरो जिप किनेका थिए।

मैदानबाट वामी जाँदै गर्दा मुसीकोट–८ मा जिप दुर्घटनामा परेको थियो। २८ वर्षीय ठाकुरसँगै यात्रु पुतली ठकुरीको पनि घटनास्थलमै ज्यान गयो। जिपमा सवार घाइते हरिकला कार्की र कमल कार्की अहिले पनि उपचारत छन्। गाडि पछाडि सार्ने क्रममा चक्काले बाटो छाडेपछि जिप डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। ‘गाडीमा सहचालक भइदिएको भए सायद दुर्घटना हुने थिएन,’ ट्राफिक प्रहरी कार्यालय गुल्मीका इन्चार्ज सई पृथ्वीनारायण काफ्लेले भने।

सोही दिन कापिलवस्तु वाणगंगा नगरपालिकाको बभनीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय सुरज थापा र अजय थापाले ज्यान गुमाए। घटनामा प्रकाश क्षेत्री गम्भीर घाइते भए। मोटरसाइकलमा तीन जना सवार थिए। प्रहरीका अनुसार तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। माघ २१ गते सोमबार पाल्पाको निस्दीमा जिप दुर्घटना भयो। रामपुरबाट नवलपुरको दुम्कीबास जाँदै गरेको जिप दुर्घटनामा १३ जना घाइते भए। घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्केका छन। केही यात्रु अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन। तीव्र गतिको जिपले ओरालोमा चिप्लिएर नजिकै रोकिराखेको टिपरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।

चालकको लापरबाही र तीव्र गति दुर्घटनाको मुख्य कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी गणेश चन्दले बताए।

माघ २४ गते दाङको मसोटखोलानजिकै बस र कार ठोक्किँदा एक जनाको ज्यान गयो। १४ जना घाइते भए। प्रदेश सांसद उत्तरकुमार ओली सवार कार र यात्रुवाहक बस लमही–घोराही सडकखण्डको मसोटखोलानजिकैको लामो घुम्तीमा ठोक्किएको थियो। गम्भीर घाइते भएका सांसद ओलीको अहिले काठमाडौंमा उपचार भइरहेको छ। अप्ठ्यारो र लामो घुम्तीमा दुवै सवारीसाधनको गति तीव्र हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए। माघ २५ गते दाङमै ई–रिक्सा र मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु भयो।

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि पछिल्लो समय बढी दुर्घटना हुने क्षेत्रमा स्पिड कन्ट्रोलर कोन राख्ने कार्यलाई तीव्रता दिएको छ। टिपरका लागि टाइमकार्ड लागू गरेको छ। लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्नुका साथै त्यसको अनुगमन निरीक्षणका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ। नो हर्न, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छड्के जाँच, मापसे चेकिङ निरन्तर चलिरहेका छन्। तैपनि प्रदेशमा सडक दुर्घटना घटेको छैन। यो प्रदेशमा पछिल्लो सात महिनामा सवारी दुर्घटनामा तीन सय ४८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै दाङमा ७४ र रूपन्देहीमा ६८ जनाले ज्यान गुमाएका छन्। कपिलवस्तुमा ४३, नवलपरासीमा ३९, बाँकेमा ३२, पाल्पामा २४, बर्दियामा १९, प्यूठानमा १२, रोल्पामा १२, रुकुममा १० र अर्घाखाँचीमा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक हजारभन्दा बढी घाइते भएका छन्। तीमध्ये पाँच सय ५५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमध्ये आधाजसोको अंगभंग भएको र अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

चालकको लापरबाही र तीव्र गति दुर्घटनाको मुख्य कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी गणेश चन्दले बताए। ‘तीव्र गति र जथाभावी उछिन्ने गर्दा दुर्घटना निम्तिएका हुन्। साँघुरो बाटो र लामो घुम्तीमा समेत चालकले सामान्य सजगता नपअनाउँदा दुर्घटना भएका छन्,’ प्रहरी उपरीक्षक चन्दले भने। सात महिनामा प्रदेशका १२ जिल्लामा आठ सय ८२ वटा सवारी दुर्घटनामा परेका छन्। तीमध्ये दुई सय ९८ वटा दुर्घटना चालकको लापरबाही र दुई सय ३१ दुर्घटना तीव्र गतिका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सबैभन्दा धेरै तीन सय ८२ मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिकले जनाएको छ। जिप, कार र भ्यान एक सय १३, बस ८७, ट्रक र ट्यांकर ६८, ट्याक्टर ६१ र ट्याम्पो ३७ वटा दुर्घटनामा परेका छन्। दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक चेतना बढाउन विभिन्न खालका कार्यक्रम निरन्तर गरिरहेको दाबी प्रहरीले गरे पनि पछिल्लो तथ्यांकले ती कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। ट्राफिकका अलावा सम्बन्धित व्यावसायिक संघसंस्थाले पनि दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेका छन्। तैपनि सवारी दुर्घटना बढ्दो छ। ट्राफिक जाँच कार्यक्रम मुख्य राजमार्ग र बजार क्षेत्रमा केन्द्रित छन्। तर पछिल्लो समय भित्री, बाइपास तथा सीमाक्षेत्रका सडकहरूमा मोटरसाइकल दुर्घटना बढेका छन्। ती दुर्घटनामा सिकारु, लाइसेन्स नभएका र भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि छन्।

जीर्ण सडक, सवारीसाधनको बढ्दो चाप, यान्त्रिक गडबडी, मापसे, पैदलयात्रीको लापरबाहीका कारण पनि दुर्घटना भएका छन्। दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिले चालक, सहचालक र सवारीधनीका लागि प्रभावकारी तालिम तथा परामर्शको आवश्यकता रहेको बताउँछन् सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासे। त्यस्तै पहाडी जिल्लाका ग्रामीण भेगमा न्यूनतम मापदण्डसमेत नपुगेका साँगुरा कच्ची सडकको स्तरोन्नति र मर्मतसम्भारमा विशेष ध्यान पुर्‍याउनुपर्नेमा पनि उनले जोड दिए। चालकको लापरबाही नियन्त्रण गर्न लाइसेन्स वितरण प्रणालीमै सुधारको खाँचो औंल्याए। प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी चन्दले दुर्घटना न्यूनीकरणका लागि स्थानीय निकाय, सडक कार्यालय, नागरिक समाजसहित सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App