४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भेडापालनमा भविष्य खोज्दै युवा

तस्बिर: जुम्लाको पाटनमा भेडाहरु

जुम्लाको सिंजा गाउँपालिका- ५ का उज्वल बुढा २१ वर्ष पुग्नै लागेका थिए। कक्षा ८ पास गरी सकेका थिए। बुढालाई घरपरिवार र आफन्तले विदेश जान सुझाए थालेँ। तर,उनलाई विदेश जान पटक्कै मन थिएन। कक्षा आठसम्म गाउँकै विद्यालयबाट पास गरेका उज्वलको पढाइ राम्रो भए थियाे। के गर्नु आर्थिक अभावका कारण अध्ययन अघि बढाउन सकेन्।

घर, परिवारले विदेश जानका लागि भनेर उनका लािग राहदानी बनाइ दिए। उज्वललाई अर्काको देशमा गएर कामदार बन्नुभन्दा आफ्नो देशमा केही गर्छु भन्ने इच्छा थियो। उनले विदेश जाने कुरालाइ वास्तै गरेनन्। उनले जे गर्न चाहेका थिए। आखिर त्यहीँ गर्न थाले। जुन विदेश जानका लागि जम्मा गरेको पैसा उनले भेडापालनमा लगाए।

‘सानै उमेरबाटै विदेश जान मन थिएन,’ उनी भन्छन्,‘भेडापालनमा राम्रो आम्दानीको सम्भावना भए पनि यसमा दुःख निकै छ।’ आफ्नो  गाउँ घरमा भेडापालन गर्दै आएका बुढाले राम्रो आम्दानी भएको सुनाए।

अहिले उनीसँग ८० भन्दा बढी भेडा छन्। ‘सुरुमा २० वटा भेडा किनेर साथिको गोठमा मिसिएको हुँ,’ उनले भने, ‘भेडा बढ्दै जान्छन्, केही समय यस क्षेत्रमा नै जम्न सके,भने वार्षिक २०/३० लाख कमाउन सक्छु।’

उज्वलसँगै भेडीगोठमा अर्का एक साथीका गरी करिब एक सय भन्दा धेरै भेडा छन्। भेडाका लागि चरण क्षेत्र बढी चाहिने भएकाले नजिक-नजिक भेडीगोठ कम छन्। लेकमा बस्नुपर्ने भएकाले पनि कतिपयले यो पेशा छोड्दै गएको उनको भनाइ छ।

यसैबीच उक्त गाउँपालिका- ५ का विकास कार्की २६ वर्षका भए। ‘कार्की’ले कक्षा १२ उत्तीर्ण गरेका छन्। अकाउन्ट् विषयमा उतिर्ण भएका उनी अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन्। व्यावसायिक भेडापालन सुरू गरेका विकासको बथानमा अहिले १ सय १५ भेडा छन्। उनले वार्षिक आम्दानी १० लाखभन्दा बढी हुने गरेको बताउँछन्।

‘वर्षभरि झरीबादल, हिउँ र सबै दुःखकष्ट सिरानी हालेर सुत्छौं। एक दिन पैसा सिरानी हाल्ने र दुःख बिर्सने अवसर पनि हो। भेडा पालनमा राम्रो आम्दानीको सम्भावना छ। दुःख त सबै काममा हुन्छ। अरब गए पनि रूखमा पैसा फल्ने हैन। रुपैयाँ हाम्रो डाँडापाखामा छ,’ विकासले भने।

यस्तै अर्का सिंजा - ६ का २७ वर्षीय भेडा गोठाला प्रायोजन रोकायाले भने, ‘१२ कक्षा पास भएपछि परिवार र आफन्त सबैले विदेश जा भन्थे। रोकाया भन्छन् तर, म गोठालो बनें। पहिलो वर्ष ५५ वटा भेडा किनेर साथीको गोठमा मिसिएको थिए। अहिले ९० वटा भेडा मेरै छन्। खुसी छु, राम्रै भएको छ। बजारमा भेडाको उनबाट बनेको राडीको उच्च माग छ। राडीपाखी ८ देखि १० हजारको मुल्यमा बिक्री हुन्छ। र लिउ चारदेखि ७ हजारसम्ममा बिक्री भइरहेको छ।’

परम्परादेखि फिरन्ते रूपमा पालिँदै आएका भेडालाई स्याल, बाघ, भालु जस्ता वन्यजन्तुबाट भेडाबाख्राको सुरक्षामा समस्या छ। भेडालाई चरनसँगै सरुवा रोगको पनि समस्या छ। जलवायु परिवर्तनको प्रभावले मात्र देखिने खोरेत,निमोनिया,पीपीआर जस्ता रोग हिमाली क्षेत्रमा पनि देखिन थालेको छ।

उनीहरु भन्छन् ‘गाउँकै स्रोत र साधनलाई उपयोग गरी आयआर्जन गर्ने हाम्रो लक्ष्य हो, उज्वल,विकास र प्रायोजन  उदाहरण मात्रै हुन्छ। जुम्लाका धेरै युवाहरु यो पेसा अगालेका छन्।’ गोठमा बस्नु र गोठालो बनेर जीवन बिताउनु कठिन भए पनि आफू जन्मेको ठाउँमा जस्तोसुकै संघर्ष र परिश्रम गर्न पछि पर्नु नहुने  रोकायाको भनाइ छ।

पछिल्लो समय जुम्लामा भेडापालन गर्ने किसानको संख्या बढ्दै गएको छ। जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसाबले भेडा बाख्रापालनमा प्रशस्त सम्भावना छन्। कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

जिल्लामा व्यवसायिक रुपमा, भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन्। जुम्लामा ८४ हजार तिन सय ८८ भेडाको संख्या छ, भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ। यता कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरेको छ।

५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ।यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो।

प्रकाशित: १४ श्रावण २०८१ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App