भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि श्रावणी मेला लाग्ने भएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक मूल समितिले जनाएको छ ।
डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यबिनायक नगरपालिका–८, भक्तपुर श्रावणी मेला २०८१ तयारी मूल समितिले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।
मेला साउन १ गते मंगलबारदेखि भाद्र ६ गतेसम्म चल्नेछ । यस मन्दिरको पुनःर्निर्माणका लागि रकम जुटाउने उद्देश्यले केही वर्ष अगाडिदेखि यहाँं यस्तो मेला गर्दै आएको छ ।
श्रावणी मेला २०८१ लाई भव्यतापूर्वक सम्पन्न गर्न समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा मुल समिति गठन गरिएको सम्मेलनमा जनाइयो । साथै पूर्वअध्यक्ष राजाराम थापाको संयोजकत्वमा व्यवस्थापन उपसमितिलगायत विभिन्न उपसमिति गठन गरी तयारी गरिएको जनायो ।
यसरी सम्पूर्ण उपसमितिले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक कार्य गरिएकाले श्रावणी मेला २०८१ को तयारी पूरा भएको समितिका अध्यक्ष धर्मराज वस्नेतले जनाए ।
श्रावणी मेला २०८१ सम्पन्न गर्न करिब दश लाख खर्च हुने अनुमान गरिएको छ । श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म श्रावणी मेला अवधिभर भक्तजनहरुबाट प्राप्त गर्ने दानदक्षीणा भगवान भेटी र निर्माण सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
प्रकाशित: ३० असार २०८१ १५:५२ आइतबार