१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हाम्रो प्रतिबद्धता

प्रकाशकीय

आजदेखि नेपाल रिपब्लिक मिडिया १६औं वर्षमा प्रवेश गरेको छ। जानकार नागरिक लोकतन्त्रका सच्चा पहरेदार हुन्। यही पक्षलाई आत्मसात् गर्दै यस मिडियाले सूचना र जानकारीका निम्ति आफूलाई निरन्तर क्रियाशील तुल्याउँदै आएको छ। कुनै पनि मुलुकमा लोकतन्त्र हुनु र नहुनुमा स्वतन्त्र प्रेसको भूमिकाले ठुलो अर्थ राख्छ। स्वतन्त्र प्रेसबिना लोकतन्त्रको परिकल्पना गरिन्छ भने त्यो अधुरो हुन्छ। स्वतन्त्र प्रेसले प्रभावकारी भूमिका खेल्न सक्दा मात्र संविधानले परिकल्पना गरेको न्यायपूर्ण, स्वतन्त्र र खुला समाज निर्माण सम्भव हुन्छ।

यस मिडियाको स्थापना मुलुकमा लोकतान्त्रिक गणतन्त्र बहालीसँगै भएको हो। जनताले जनताद्वारा जनताकै निम्ति गरिने यस्तो शासनमा प्रेसको भूमिका प्रभावकारी हुनुपर्छ। हामीले हाम्रा प्रकाशनहरूलाई यही महान् उद्देश्यअनुरूप आम पाठकको सेवामा लगाएका छौं। मुलुकमा राजनीतिक परिवर्तनपछिको खुला वातावरणमा जुन तहमा आर्थिक विकास हुँदै जानुपर्ने थियो, त्यसमा विभिन्न घटनाक्रमले बाधा पर्न गएको छ। भूकम्प, नाकाबन्दी, कोरोना महामारी आदिका कारण देशको अर्थतन्त्र शिथिल बनेको छ। त्यसको प्रत्यक्ष र परोक्ष मार मिडिया क्षेत्रमा पनि परेको छ।

यस्तो विषम परिस्थितिमा पनि नेपाल रिपब्लिक मिडियाले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ। कानुनी शासन हाम्रो प्रमुख उद्देश्य हो। संविधानका अक्षरमा मात्र होइन, भावनामा पनि उत्तिकै ध्यान पुग्नु आवश्यक छ। शासन–प्रशासनमा नैतिकताको चरम अभाव देखिएको छ। देशमा भएको राजनीतिक परिवर्तन विवेकहीन र अनैतिक राजनीतिका निम्ति होइन। यस्तो अवस्थामा सुधार ल्याउन आम नागरिकको सक्रिय र प्रभावकारी भूमिका हुनुपर्छ। त्यसका निम्ति जानकार नागरिक लोकतन्त्रका निम्ति अपरिहार्य हुन्छन्। जानकार नागरिकले मात्र प्रश्न गर्न सक्छन्। नागरिकलाई प्रश्न गर्न सक्ने बनाउनु सञ्चार माध्यमको जिम्मेवारी हो। यसले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ।

गत वर्ष आजकै दिन नेपाल रिपब्लिक मिडियाले आफूलाई सर्वसाधारणको हिस्सेदार बनाउने निर्णय गरेको हो। देशविदेशमा रहेका चार लाखभन्दा बढी व्यक्ति यतिबेला हाम्रो मिडियाका हिस्सेदार छन्। यसले हामीलाई बढीभन्दा बढी पारदर्शी बन्न र नागरिकको पक्षमा वकालत गर्न बल पुगेको छ। मुलुकको एउटा अग्रणी सञ्चार गृहका रूपमा स्थापित हुन र काम गर्न यसले हामीलाई पूर्णतः भरोसा दिएको छ।

सूचना प्रविधिको उच्चतम विकासका कारण यतिबेला संसारभरि सञ्चारमाध्यमले असजिलो अवस्था बेहोर्नुपरेको छ। तथापि राम्रो अन्तर्वस्तु जुनसुकै माध्यमका निम्ति आवश्यक हुन्छ। हामी आम नागरिकको चाहना र मुलुकको आवश्यकतालाई महसुस गर्दै तदनुकूलका सामग्री उत्पादन गर्न प्रतिबद्ध छौं। असल पत्रकारिता अभ्यास लोकतन्त्रका निम्ति अपरिहार्य रहेको तथ्यलाई हामीले मनन गरेका छौं। आजको दिनमा हामी त्यसतर्फ प्रतिबद्ध छौं। हाम्रा समस्त पाठक, विज्ञापनदाता, वितरक, हिस्सेदार, पत्रकार, सहकर्मीप्रति हामी कृतज्ञ छौं।

विनोदराज ज्ञवाली, अध्यक्ष, नेपाल रिपब्लिक मिडिया

प्रकाशित: ११ वैशाख २०८१ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App