१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्युत चोरीको आरोपमा वडाध्यक्षसहित १९ जना पक्राउ

रौतहट– विद्युत चोरीको आरोपमा रौतहटमा एक वडाध्यक्षसहित १९ जनालाई पक्राउ गरिएको छ। घरको छेउ भएर गएको विद्युतको तारमा हुकिङ्ग गरेर विद्युत चोरी गरिरहेको आरोपमा रौतहटका कटहरिया नगरपालिका ७ का वडाध्यक्ष राम ईश्वर राय यादवसहित १९ जनालाई विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको छ।

यादवसहित १९ जनालाई रौतहटको भिमडावर, पथरा, डुमरीया, मह्मदपुर, भसेडवा, पिपरीया, विर्तीबाट पक्राउ गरिएको विद्युत प्राधिकरण गौरका वितरण केन्द्र प्रमुख उमेश यादवले बताए। भिमडावरबाट वडा अध्यक्षसहित ६ जना विद्युत चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख यादवले बताएका छन्। पक्राउ परेका वडा अध्यक्षलाई ९ हजार रुपैया जरिवाना तिराइएको छ। विद्युत चोरीको खपत प्रकृति हेरेर सोही यूनिट अनुसार थप गरेर जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ।

अहिले ४७ प्रतिशत विद्युत चुहावट रहेको रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गर्ने अभियान तिव्र रुपमा जारी रहेको तथा पक्राउ परेकालाई जरिवाना असुल गर्ने काम प्राधिकरणले दुई साता अगाडिबाट सुरु गरेको यादवको भनाइ छ। विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोस्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयोगमा पक्राउ गरेर नगद जरिवाना असुल गर्ने थालिएको प्रमुख यादवको दाबी छ।

विद्युत चुहावटमा गर्ने जिल्लाको अग्रपंक्तिमा रौतहट रहेको छ। तीन महिनादेखि विद्युत चोरी नगर्न जनचेतनामूलक तथा चेतावनीमूलक प्रचारात्मक कार्य गरिरहेको प्राधिकरणले राम्रो परिणाम ल्याउन सफल भएको छ। गत तीन महिनामा जिल्लामा १२ प्रतिशतले बिजुली चोरी कम भएको कार्यालयको दाबी छ।

गत दुई सातादेखि आक्रामक रुपमा उत्रिएको कार्यालयले प्राधिकरणका कर्मचारीहरु, प्रहरी र स्थानीय प्रशासनको सहयोगमा दुई साताको अवधिमा जिल्लाको विभिन्न स्थानहरुबाट विद्युत चोरी गर्ने ८५ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरुबाट प्राधिकरणले करिव ६ लाख भन्दा बढी जरिवाना असुल गरेको प्रमुख यादवले बताएका छन्। 

प्रकाशित: २ चैत्र २०७४ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App