११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि

मार्क पोइन्टिङ

सन् २०२३ मा पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ। २०२३ को फेब्रुअरीदेखि देखि २०२४ को जनवरीसम्म विश्वको सरदर तापमान १.५ डिग्री सेन्टिग्रेडले बढेको युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले बिहीबार जनाएको हो।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा विश्वका नेताले औद्योगिक क्रान्ति हुनुअघिको तुलनामा पृथ्वीको तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जलवायुजन्य विपदबाट हुने नोक्सानी रोक्न यस्तो प्रतिबद्धता गरिएको थियो। सन् २०२३ को वर्षमा पहिलोपटक भएको तापमानको यो स्तरको वृद्धिदरले पेरिस सम्झौताको सीमा ननाघे पनि यसले विश्वलाई तापमान वृद्धिको संघारमा पुर्‍याएको मानिएको छ।

विश्वले तत्काल कार्बन उत्सर्जन न्यूनीकरणमा ठोस प्रयास गर्न सके तापमान वृद्धिको यो गतिलाई रोक्न सकिने वैज्ञानिक मत छ। ‘वार्षिक तापमान सरदरमा १.५ डिग्री सेन्टिग्रेडले बढ्नु भनेको हामी गलत दिशातर्फ उन्मुख छौं भन्ने हो,’ बेलायतको रोयल मेटेरोलोजी सोसाइटीका प्रमुख कार्यकारी प्राध्यापक लिज वेन्टले भने।

औद्योगिक क्रान्ति सुरु भएयता जीवाश्म इन्धनको बेरोकटोक प्रयोगले पृथ्वीको तामान बढेपछि यसलाई रोक्न अन्तर्राष्ट्रिय स्तरमा प्रयास भइरहेका छन्। सन् २०१८ मा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले विश्वको तापमान सरदर २ डिग्री सेन्टिग्रेडले बढेको अवस्थामा तातो हावा, समुद्र सतहमा वृद्धिलगायत जैविक विविधतामा ठुलो ह्रास आउने देखाएको छ।

कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार जनवरीसहित बितेका आठ महिना हालसम्मकै सबैभन्दा तातो बनेका छन्। वर्कले अर्थ नामक एक वैज्ञानिक समूहले औद्योगिक क्रान्ति सुरु हुनअघिको तुलनामा सन् २०२३ मा वर्षभरिमा सरदर १.५ डिग्री सेन्टिग्रेडले तापमान वृद्धि भएको जनाएको छ।

नासाले भने बितेका १२ महिनाको सरदर तापमान वृद्धि १.५ डिग्री सेन्टिग्रेडभन्दा थोरै तल रहेको औंल्याएको छ। सन् १८०० को अन्त्यताकाको तापक्रमको रेकर्ड अभावमा वृद्धिदरमा केही मात्रामा तलमाथि हुने देखिएको वैज्ञानिक मान्छन्। तर तापक्रमको आधिकारिक रेकर्ड राख्न थालेयताका अधिकजसो तथ्यांकले विश्वको तापक्रम लगातार बढ्दो क्रममा रहेको देखाएका छन्।

समुद्र सतहको सरदर तापक्रम पनि सर्वाधिक हिसाबले बढेको छ। तापमान बढ्नुमा जीवाश्म इन्धनले वायुमण्डलमा उत्सर्जन गर्ने कार्बन डाइअक्साइड एक प्रमुख कारण हो। समुद्रमा देखिने इलनिनो मौसमी प्रणालीको पनि यसमा केही योगदान रहेको मानिन्छ। यो मौसमी प्रणालीका कारण सन् २०२३ को दोस्रो ६ महिनाका हरेक दिन विश्वको सरदर तापमान १.५ डिग्री सेन्टिग्रेडभन्दा बढी रहेको वैज्ञानिक बताउँछन्।

आगामी केही महिनामा यो मौसमी प्रणालीको अन्त्य भएपछि विश्वको तापक्रम केही स्थिर हुने र त्यसपछि १.५ डिग्रीको सीमाभन्दा तल झर्ने अपेक्षा गरिएको छ। तर मानवीय गतिविधिका कारण तापमान बढ्ने क्रम जारी रहेकाले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने देखिएको छ।

‘हरितगृह ग्याँस उत्सर्जनमा तीव्र कटौती नै तापमान वृद्धि रोक्ने एक मात्र उपाय हो,’ कपर्निकसकी उपनिर्देशक समान्था बर्गेस भन्छिन्। कार्बन उत्सर्जनको विद्यमान दर कायमै रहेमा आगामी दशकभित्रै विश्वको सरदर तापमान १.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिन्छ।

यसले विश्वलाई जलवायु संकटको किनारमै नपुर्‍याए पनि यो निकै ठुलो ‘प्रतिकात्मक माइल स्टोन’ रहने ठानिएको छ। ‘यो सीमा पार गर्दा जलवायु परिवर्तन नियन्त्रणभन्दा बाहिर जाने भन्ने होइन तर हरेक डिग्रीको १० भागको १ भाग बढ्दा पनि यसले विपद् बढाउने गरेको पाइएको छ,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा सन् २०१८ मा सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघीय अध्ययन प्रतिवेदनका प्रमुख लेखक माइलेज एलेन भन्छन्।

पृथ्वीको सरदर तापमान १.५ डिग्रीबाट बढेर २ डिग्रीमा पुगेको अवस्थामा जलवायु परिवर्तनले फर्कनै नसक्ने बिन्दु अर्थात् ‘टिपिङ पोइन्ट’ पार गर्ने र यसले अनेकौं जलवायुजन्य विपद् निम्त्याउने वैज्ञानिक बताउँछन्।

नवीकरणीय ऊर्जा तथा इलेक्ट्रिक गाडीको प्रयोगमा विश्वले केही प्रगति गरेको छ तर तापमान वृिद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले कार्बन उत्सर्जन कटौतीको ठोस कार्ययोजना ल्याउनुर्छ। ‘यसो गर्न सकेमा जलवायु परिवर्तनजन्य संकट टार्न सकिन्छ,’ वर्कले अर्थका जलवायु वैज्ञानिक जेक हाउसफादर भन्छन्। –(बिबिसी)

प्रकाशित: २६ माघ २०८० ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App