६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पूजीवादको पञ्जामा कार्ल मार्क्सको चिहान

यस्ताे पनि!

तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र मार्क्सकै चिहानछेउ आफ्नो शरीर दफनाउनुहोस्।

मार्क्सको चिहान रहेको हाइगेट सिमेट्री बेलायतको लोकप्रिय चिहान हो। यहाँ आफूलाई दफनाउन रहर गर्नेहरूसँगै यहाँ भ्रमण गर्न आउने पर्यटकको पनि भिड राम्रै हुन्छ। ३७ एकड जमिनमा फैलिएको यस चिहानघारीमा पुराना संरचना भत्काउने अनुमति सरकारले दिएको छ।

अब पुराना संरचनामा रहेका चिहान पनि हट्नेछ। त्यसको ठाउँमा अब नयाँ चिहानले आराम गर्ने अवसर पाउने छन्। तर यहाँ मार्क्ससँगै गाडिनका लागि कम्तीमा पाँच हजारदेखि २५ हजार पाउण्डसम्म खर्चनुपर्ने हुन्छ। कस्तो विरोधाभाष, साम्यवाद  दर्शनधारीसँग मृत्युपछि बस्न पनि राम्रै पुँजी जम्मा गर्नुपर्ने देखिएको छ। मार्क्सको चिहानमा बेलाबेला तोडफोडसमेत हुने गरेको छ।

सन् १८८३ मा उनलाई यहाँ दफनाइएपछि १९५६ मा अज्ञात व्यक्तिले तोडफोड गरेका थिए। एउटा पाइप बम विष्फोट हुँदा मार्क्सको मूर्तिमा क्षति पुगेको थियो।

खासगरी उनको अनुहार बिग्रिएको थियो। सन् २०१९ मा एक व्यक्तिले घन हानेर चिहान फुटाउने प्रयास गरेको थियो।

त्यसो त यो चिहानघारी कार्ल मार्क्सको नाउँले मात्र प्रख्यात भने भएको होइन। यहाँ त प्रख्यात पप गायक जर्ज माइकल, लेखकहरू जर्ज इलियट र डग्लस एडम्ससँगै वैज्ञानिक माइकल फेराडेलाई पनि दफनाइएको छ।

यो चिहानघारीमा हाल एक लाख ७३ हजारलाई दफनाइएको छ। तीमध्ये अधिकांशका आफन्त बितेको पनि दशकौं भएकाले तिनलाई सम्झन आउनेहरू नभएकाले पुराना चिहान सम्याएर नयाँ चिहानका लागि ठाउँ बनाइँदैछ। कुनै समय यो चिहानघारी लण्डनका धनीमानी आफू समाधिस्थ हुन रुचाउने ठाउँका रूपमा प्रख्यात थियो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ७ माघ २०८० ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App