८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कहाँ गए नदीमा छाडिएका १५ सय गोही ?

चितवन राष्ट्रिय निकुञ्जले घडियाल/गोही हुर्काएर नदीमा छाड्न थालेको ४३ वर्ष भयो। यस अवधिमा देशका विभिन्न नदी तथा चिडियाखानामा एक हजार आठ सय ६२ वटा गोही छाडिए। त्यसमध्ये राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका छन्। यती ठूलो सङ्ख्यामा छाडिएका गोही अहिले भने पाउनै मुस्लिक छ।

चितवन राष्ट्रिय निकुञ्जले हालसालै गरेको घडियाल गोही गणनाको क्रममा राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा मात्र गोही भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीमा सबैभन्दा धेरै एक हजारभन्दा बढी गोही छाडिएको थियो। पुस एकदेखि १५ सम्मको गणनाका क्रममा एक सय ५२ वटा मात्र घडियाल भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार नारायणी नदीमा एक सय १३ वटा घडियाल मात्रै भेटिएका छन्।

नदीमा छाडिएका गोही र घडियाल कहाँ गए भन्ने यकिन हुन सकेको छैन।

निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा छ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। १५ दिन लगाएर गरिएको गणनामा नारायणी र राप्तीमा तीन÷तीन वटा भाले घडियाल गोही देखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए। उनका अनुसार, यसअघिको गणनामा यी नदीमा तीन वटा मात्रै भाले गोही भेटिएका थिए।

‘चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका १० जना कर्मचारीको टोलीले गणना गरेको थियो। घडियाल अनुगमन कार्यका क्रममा काठको डुंगा, रवर बोट, जीपीएस क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग गरिएको हो,’ उनले भने ‘अनुगमनका क्रममा भाले गोहीको वृद्धि भएको पाएका छौँ।’

अघिल्लो पटकको गणनामा नारायणी र राप्ती नदीमा दुई सय ३९ वटा घडियाल फेला परेका थिए। यसटपक २६ वटा घडियाल वृद्धि भएको उनले बताए। तर, यो सङ्ख्या छाडिएका गोहीभन्दा निकै कम हो।

प्राकृतिक तथा प्रदूषणका कारण पनि घडियाल गोहीको सङ्ख्या वृद्धि गर्न कठिन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले जानकारी दिए। ‘घडियाल गोही स्वच्छ पानीमा मात्र बस्न रुचाउँछ। अहिले यहाँका नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएका छन्,’ प्रमुख संरक्षण अधिकृत पुनले भने ‘गोही संरक्षण गर्न कठिन नै छ।’ निकुञ्जबाट छाडिएका गोही भारतसम्म पुग्ने हुनाले अहिले नभेटिएको पनि हुन सक्ने बताए। ‘कति गोही मरे होलान्। अहिले हामीले गनेको नेपाल क्षेत्र मात्र हो,’ उनले भने ‘भारतमा गन्न त हाम्रो क्षेत्र भएन।’

गोहीको आयू सरदर ५० वर्ष हुने गर्दछ। यो घिस्रिएर हिड्ने गर्छ। जसका कारण धेरै टाढा जान सक्दैन। १५ देखि २० मिटर वरपर स्वच्छ पानीमा मात्रै बस्ने गर्छ। यसले गर्दा मगर गोहीले जस्तो आहारा सहज रुपमा खोज्न सक्दैन। अहिले गोहीका लागि आवश्यक पर्ने खाना समेत सहज रुपमा उपलब्ध नहुँदा उनीहरु समस्यामा परेका छन्।

‘घडियालले माछा मात्र खान्छ। माछा मानिसहरुले मार्ने गर्दा यसको असर गोहीमा पर्दछ, उनले भने अन्य प्राणी जस्तो गोही होइन् संरक्षण गर्न चुनौती छ।’ नेपालले संरक्षण नगरेको भने यहाँबाट घडियाल लोप भएर जाने पुनले बताए। ‘नारायणी र राप्तीमा हामीले संरक्षण गरेर रहेका छन्। होइन भने पाकिस्तान, अफ्गानिस्तान, बंगालादेश जस्तै नेपालमा पनि लोप भएर जाने थियो’, उनले भने।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा गोही प्रजनन् केन्द्र छ। त्यहाँ साना ठूला गरेर करिब नौ सयको हाराहारीमा गोही रहेका छन्। त्यहाँबाट हुर्काइएका गोही देशका विभिन्न नदीमा छाड्ने गरिएको छ। नारायणी र राप्तीमा बाहेक हालसम्म सप्तकोशीमा एक सय १५, बबई नदीमा एक सय १०, कर्णालीमा ४१, कालिगण्डकीमा ३५ र जाउलाखेल चिडियाखानामा दुई वटा गैँडा छाडिएको छ।

१५ दिनसम्मको अनुगमनका क्रममा तीन वटा डल्फिन समेत फेला परेको उनले बताए।  

प्रकाशित: १८ पुस २०८० ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App