६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

घरमै धारा आएपछि खुसी छन् हिमाका बाढीपीडित

जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्। मुहानको पिउने पानी घरकै धारामा आएपछि उनीहरु खुसी भएका हुन्।

२०७९ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीको मुहान बगाएपछि उनीहरु हिमा नदीको दूषित पानी पिउँदै आएका थिए। हिमा ७ का २२ घरपरिवारमा खानेपानीको धारा आएको वडाध्यक्ष विक्रमबहादुर शाहीले बताए। उनी भन्छन्, ‘अहिले चौबिसै घन्टा धारामा पानी आउँछ।’

बर्खामा खोलाको धमिलो र हिउँदमा जमेको पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीयका पानीको समस्या समाधान भएको वडाध्यक्ष शाहीले बताए। उनले भने, ‘एकातिर पानीको काकाकुल थियो भने अर्कातिर पानीजन्य रोगको प्रकोप बढ्ने डर थियो, अब त्यो हट्यो।’

यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घरघरमा खानेपानीको पहुँच पुगेको बताए। वडाध्यक्ष शाहीलाई खानेपानी आयोजना हस्तान्तरण गर्दै उनले भने, ‘तपाईंहरूको ठूलो समस्याका रूपमा रहेको खानेपानी हल भएको छ। खानेपानीका धारा संरक्षण गर्दै प्रभावकारी रूपमा पानी उपयोग गर्नुहोला।’ अब सबै मिलेर मुहानदेखि ट्यांकी र धारा संरक्षणमा लाग्नुपर्ने आचार्यले बताए।

स्थानीय  महिला जैसरा शाहीले आँगनमै धारा आएपछि महिलाका कामको बोझ घटेको बताइन्। उनले भनिन्, ‘खानेपानी आएपछि खाने, पिउने, सरसफाइ र करेसाबारी बनाउनसमेत सहज भइरहेको छ। अब हरिया सागपात र अन्य तरकारी उत्पादन गर्न पनि पाउने भएका छौं।’

प्लान इन्टरनेसनल नेपाल र पेस नेपालको साझेदारी तथा स्थानीय सरकार र समुदायको सहयोगमा खानेपानीका धारा घरघरमै पुगेका छन्। प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय व्यवस्थापक मीना पराजुलीले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा धारा निर्माण भएकाले संरक्षणमा खासै समस्या नहुने बताइन्।

समुदाय, दाता र सरकारबीचको आपसी समन्वयले हर काम सम्भव भइरहेको यो आयोजनाले देखाएको पराजुलीको भनाइ छ। खानेपानी ट्यांकी, मुहान र धाराहरूको रेखदेख र बिग्रेको खण्डमा मर्मत गरेर दिगो बनाइराख्न उनले सबैलाई आग्रह गरिन्। यो खानेपानी आयोजना झन्डै १० लाख रुपैयाँको लागतमा सम्पन्न भएको थियो।

प्रकाशित: १२ पुस २०८० ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App