११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज ९आइतबार० सामाजिक सञ्जाल फेसबुक मार्फत मृतकको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारिएको स्केच सार्वजनिक गरेको हो।

स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको विवरण समेत सार्वजनिक गरेको छ।

प्रहरीले कोही कसैको परिवारका सदस्य,आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

भरतपुर महानगरपालिका–१२मा मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ। तर कतैबाट घटना बारे थाहा पाउन नसकिएको प्रहरीले बताएको छ।कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु हुन सकेको छैन।

प्रहरीले यसअघि मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको थियो।त्यसबाट पनि केही सूचना प्राप्त नभएपछि आज स्केच सार्वजनिक गरेको जनाइएको छ।

घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ।

यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ।

छुट्टा छुट्टै जुटको बोरामा हातखुट्टा बाँधेर पोको पारी फालिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको थियो।

उनका अनुसार दुई वटै शवको अनुहार हेरेर पहिचान गर्न समस्या हुन्छ। प्रहरीले सामाजिक सञ्चाल फेसबुक मार्फत महिला र पुरुषको शवको हुलियाबारे सार्वजनिक गरेको छ।

प्रहरीले पुरुषको उमेर अन्दाजी ३५ र महिलाको ३० रहेको जानकारी गराएको छ। पुरुषको उचाइ ५ फिट ७ इन्च रहेको छ। सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको भित्री कपडा लगाएको अवस्थामा पुरुषको शव छ। उसको वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ।

सोही स्थानमा जुटको बोरामा फेला परेको मृत महिलाको उचाइ ५ फिट ३ इन्च रहेको प्रहरीले जानकारी दिएको छ। उनले कलेजी रंगको ट्राउजर, गुलाबीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएकी छिन्।

उनको वर्ण स्याम्लो, मझौला शरीर, हात खुट्टामा पिंक रंगको नेल पोलिस लगाएको, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने रहेको प्रहरीले बताएको छ।उनको बायाँ हातको नाडीको भित्री भागमा ‘एस’ स्पष्ट देखिने, ‘एम’ वा ‘ए’ स्पष्ट नभएको र धार्मिक चिन्ह जस्तो देखिने बस्तुको ट्याटु छ।

त्यस्तै बायाँ खुट्टामा कालो डोरा र दाहिने हातमा रक्षा बन्धन बाँधेको, कानमा पहेँलो धातुको झुम्को रहेको प्रहरीले जानकारी दिएको छ। दुवै शव भरतपुर अस्पतालमा रहेको छ। पोस्माटमको रिपोर्ट आउन बाँकी  रहेको प्रहरीले बताएको छ।

सो शव दुई/तीन दिन आगडि अन्यन्त्रबाट ल्याएर फ्याँकिएको हुन सक्ने उनको अनुमान छ। हातखुट्टा एकै ठाउँमा बाँधेर पोको पारेर फालिएको थियो। हातखुट्टा बाँधिएको ठाउँमा गिडेको छ।पुरुषको मुखमा टालो समेत रहेको उनले बताए।मुख्य राजमार्गमै दुई वटा शव पोको पारेर फालेको अवस्थामा भेटिएपछि प्रहरीको विशेष अनुसन्धान अधिकृत समेत चितवनमा खटाइएको छ।

प्रकाशित: १७ मंसिर २०८० १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App