६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटनको सम्भावना बोकेको पाटेनागी

इलाम नगरपालिका–३ को नयाँ पर्यटकीय गन्तव्य पाटेनागी र नजिकै रहेको कुइभिर। तस्बिर: भीम चापागाईं/नागरिक

पर्यटनको अथाह सम्भावना भएर पनि इलाम नगरपालिकामा रहेको पाटेनागी ओझेलमा परिरहेको छ। पर्याप्त प्रचारप्रसार हुन नसक्दा पाटेनागीमा पर्यटकहरु पुग्न सकेका छैनन्।

पाटेनागीसम्म पुग्न पर्यटकलाई समस्या छैन। मेची राजमार्गबाट सवारी साधनमै पुगेर यो ठाउँको आनन्द लिन सकिने भएपनि प्रचारप्रसार नहुँदा सम्भावित पर्यटक यहाँ पुग्न सकेका छैनन्। तीन हजार ४२ मिटर अग्लो इलाम नगरकै सबैभन्दा अग्लो पाटेनागीमा अचेल आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममै छ।

यहाँबाट आकाश छ्यांग खुलेका बेला सगरमाथादेखि कन्चनजंघासम्मका दर्जनौं हिमाल छर्लङ्ग देखिन्छन्। पाटेनागीको अग्लो डाँडो आफैंमा पर्यटकीय छ। पछिल्लो समय इलाम र देउमाई नगरपालिकाको बाघखोर बजारनजिकबाट सात किलोमिटर कच्ची बाटोसमेत पाटेनागी नजिक पु¥याइएको छ। गाडी र मोटरसाइकलमै पनि पर्यटकलाई त्यहाँसम्म पुग्न सजिलो भएको छ। इलाम र पाँचथरको सीमामा पर्ने यो क्षेत्रमा पाँचथरपट्टिबाट पनि पर्यटक भने आइरहेका छन्।  

यहाँबाट टाढा–टाढाका गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन्। हजारौं रोपनीको खुला भू–भाग रहेकाले यहाँ आएपछि पर्यटक रमाउँछन्। क्यामुना, झिगाने, चुथ्रो, फलामे, गुराँस, कटुस र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग खुला चौर छ।

पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर। कुइभिर सयौं मिटर अग्लो चट्टानी भिर हो। यसको थाप्लामा पुगेर रमाउन इलामबाहिरका बासिन्दासमेत आइपुग्छन्। तर, निकै डरलाग्दो कुइभिरको थाप्लोमा धेरैबेर बस्न चाहिँ निकै डरलाग्दो हुनेगरेको आगन्तुक बताउँछन्। पल्लोपट्टिको डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दा यो भिर हेर्न निकै आनन्द आउने गरेको यहाँ आइपुगेका देउमाई नगरपालिका–२ का सञ्जीव राईले बताए। ‘पर्यटनको अथाह सम्भावना भएर पनि यो ठाउँको बारेमा पर्याप्त प्रचार भएको रहेनछन,’ उनले भने, ‘प्रचारप्रसार र उपयुक्त पूर्वाधार निर्माण निर्माण गर्ने हो भने यहाँ पर्यटकको आउ–जाउ थामिनसक्नुको हुने रहेछ।’

कुइभिर कटेर उकालो लागेपछि करिब सय मिटरमा देउराली पुगिन्छ। त्यसभन्दा करिब सय मिटरसम्म गाडी लैजान सकिन्छ। त्यहाँ मन्दिर निर्माण गरिएको छ। मन्दिरबाट करिब २० मिनेट हिँडेपछि लोहाकिल डाँडो पुगिन्छ। लोहाकिलसम्म पुग्न पनि ट्रेकिङ रुट छ। लोहाकिलबाट करिब २० मिनेटमा पाटेनागी डाँडो पुगिन्छ। लोहाकिल र पाटेनागी डाँडाबाट जता हेरेपनि मनमोहक दृश्य देखिनेगरेको स्थानीय दिनेश ढुंगानले बताए। ‘लोहाकिल निकै महŒवपूर्ण पर्यटकीय डाँडो हो,’ उनले भने, ‘अचेल मौसम निकै राम्रो भएकाले पर्यटकको संख्या बढिरहेको छ।’

तीन हजार छ मिटर उचाईको लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वीपहाडका दर्जनौं ठाउँ नजिकै देखिन्छन्। मौसम खुलेका बेला यहाँबाट दर्जनौं हिमाल र हिमशृंखलामात्र होइन, विश्वको सर्वाेच्च शिखरसमेत देखिने ढुंगानाको भनाइ छ।

पाटेनागी र लोहाकिलबाट पारिपट्टि पौवाभञ्ज्याङ, सिलौटी र सुकेपोखरीजस्ता पर्यटकीयस्थलसमेत देखिन्छन्। कुनै विकसित सहरझैं लाग्ने पाँचथरको रानीडाँडासमेत नजिकै देखिन्छ। नजिकै थामडाँडा धार्मिक र ऐतिहासिकस्थल छ। थामडाँडाका ठूला ढुंगामा देखिने सर्पलगायत विभिन्न जीवजन्तुको आकृतिले यहाँ पुग्नेको मन लोभ्याउँछ र अचम्भित बनाउँछ।

इलाम र पाँचथरको सीमामा पर्ने पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न दुवै जिल्लाले कसरत गरिरहेका छन्। दुवैपट्टिबाट यो भेगसम्म पुग्ने सडक विस्तार हुँदैछ। पाँचथरपट्टिबाट सोलिङसहितको पदमार्ग पाटेनागी डाँडोछेउ पु¥याइएको छ। पदमार्ग बनेपछि पाँचथरबाट पनि यहाँ आउने आगन्तुकको संख्या बढिरहेको छ। इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटेनागीको पूर्वाधार विकास गर्दैछ। खुला चरिचरनका रूपमा रहेको पाटेनागी संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटेनागी पर्यटन प्रवद्र्धन समिति सदस्य रेस थापाले बताए। ‘पर्यटकका लागि अरू पूर्वाधार छन् तर खाने र बास बस्ने ठाउँको अलि अभाव छ,’ उनले भने, ‘यहाँ अब होम–स्टे व्यवस्थापन गर्ने योजना रहेपनि लगानीकर्ताको अभाव छ।’

तर, यहाँ पुग्ने पर्यटक बाघखोर बजार नै बास बसेर पनि बिहानको झुुल्केघाम हेर्न पाटेनागी पुग्न सक्छन्। पाटेनागीनजिकै बस्ती नभएकाले केही गोठहरूमा समेत सीमित संख्याका पर्यटक बास बस्न सक्छन्। पाँचथरपट्टिबाट भने सुकेपोखरीमा बास बसेर पाटेनागीसम्म पर्यटक आउँछन्।

पाटेनागी आसपासका जंगलमा दुर्लभ रेडपान्डा, बाँदर, बँदेल, थार, घोरल, भालुलगायतका वन्यजन्तु पाइन्छन्। संवेदनशील वन र वातावरण जोगाएर पर्यटन पूर्वाधार विकास गर्न लागिपरेको सदस्य थापाले बताए। यहाँ पुगेका पर्यटकलाई आराम गर्न टहरा बनाइएको छ। पाटेनागी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको स्थान हो। पौवाभञ्ज्याङदेखि पाटेनागी हुँदै सन्दकपुरसम्म जाने पर्यटकीय पदमार्ग बनाउन अध्ययन गरिएको इलाम नगरले जनाएको छ। पाटेनागीसहित यो क्षेत्रका दिदी–बहिनी झरना, कुइभिर, छिन्टापु, सन्दकपुर, साधुटार, सिलौटीलगायत गन्तव्यको प्याकेज नै बनाएर पर्यटन प्रवद्र्धन गर्नु आवश्यक रहेको वडा ३ का वडाध्यक्ष हेमन गुरुङले बताए।  

प्रकाशित: १३ मंसिर २०८० ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App