११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा सातामा औसत चार जनाको मृत्यु

चाडपर्वको मुखमा सडक दुर्घटना अत्यधिक

दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ। अन्य समयमा भन्दा चाडपर्वका बेला सडक दुर्घटना बढी हुने गरेका कारण कतिपयको ज्यान जाने गरेको छ भने कतिपय अपांग तथा गम्भीर घाइते हुने गरेका छन्। यस्तो बेला काठमाडौं उपत्यकामा अझ बढी नै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनाबाट उपत्यकामा मात्रै आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्ममा ३४ हजार ६ सय ९५ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परेर उपत्यकामा मात्रै पाँच सय ९६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी आठ सय ४४ जना गम्भीर घाइते भएका छन् भने २६ हजार ६ सय १९ जना घाइते र अर्बौंको भौतिक क्षति भएको छ।

नेपालभर ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्थाकै कारण भएका सवारी दुर्घटनामा दैनिक सरदर सात जनाभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। सडक दुर्घटनाको संख्या बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ। सडक दुर्घटनामा पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका मानिस बढी परेको पाइन्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालभरबाट गत आर्थिक वर्षमा २०७९/८० मा मात्रै देशभर २३ हजार पाँच सय ९७ सवारी दुर्घटना भएकोमा मृत्यु हुनेको संख्या दुई हजार तीन सय ७६ छ। यस्तै पाँच हजार सात सयभन्दा बढी गम्भीर घाइते तथा २४ हजार चार सयभन्दा बढी सामान्य घाइते भएका छन्।

सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुनेगरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्। चाडबाडका बेला आवतजावतमा सबैले हतार गर्नाले बढी दुर्घटना हुने गरेको उनले बताए।

‘चाडपर्वका बेला मानिसहरू आरामले समय बिताइरहेका हुन्छन्,’ उनले भने, ‘जब सवारीसाधनमार्फत कुनै गन्तव्यसम्म जानुपर्छ त्यसबेला उनीहरूलाई गन्तव्यमा पुग्नै हतार हुन्छ। हतार गरेकै कारण सवारीसाधन चलाएको केही मिनेटमै दुर्घटना हुँदा मृत्युको मुखमा पुग्छन्।’

एसएसपी भट्टका अनुसार धेरैले सवारीसाधन चलाउँदा बाटोमा ध्यान दिएकै हुँदैनन्। सडकमा सवारीसाधन चलाउँदा उनीहरूलाई यो बिदाको समय हो, खुला हुन्छ भन्ने आभास हुने हुँदा सवारीसाधन चलाएर मोबाइल फोनमा कुरा गर्दै हिँडेका पनि हुन्छन्। सडक खाली देख्नासाथ तीव्र गतिमा सवारीसाधन चलाइहाल्छन्। यसकारण पनि धेरैको अकालमै मृत्यु हुने गरेको छ।

‘दुर्घटना न्यूनीकरणका लागि चाडपर्वका बेला प्रायः मुख्यचोकमा ट्राफिक जाँच हुन्छ,’ उनले भने, ‘धेरैले मादक पदार्थ पनि सेवन गरेर हिँडेका हुन्छन्। आवश्यकताभन्दा बढी यात्रु सवारीसाधनमा सवार हुन्छन्। दसैं–तिहारजस्ता चाडपर्वका बेला विशेषगरी पर्वअगावै वा सकिएपछि सहरबाट ग्रामीण क्षेत्रमा जाँदै गर्दा वा ग्रामीण क्षेत्रबाट सहर फर्कने क्रममा मानिस सडक दुर्घटनामा पर्ने गरेका छन्।’

उनका अनुसार दुईपांग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गर्छन्। यसका तुलनामा सार्वजनिक यातायात दुर्घटना कम मात्रामा हुने गरेको छ। दसैं–तिहारका बेला हुने दुर्घटनामा धेरै व्यक्तिको ज्यान जाने गरेको छ। नेपालको सडक दुर्घटनाको प्रवृत्ति हेर्दा सहरमा हुने दुर्घटनामा धेरै मानिसको मृत्यु हुने गरेको छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारी साधनको गति तीव्र हुनु पनि हो।

सडक दुर्घटनाको मुख्य कारण कमजोर पूर्वाधार, मानवीय कारण र सवारीसाधनको अवस्था रहेको एसएसपी भट्टले बताए। अदक्ष चालक तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउनु, चाडपर्वका बेला आराम नगरीकन सावरीसाधन चलाउनु जस्ता कारणले पनि दुर्घटना बढाएको उनको भनाइ छ।

‘विश्वमा हवाईजहाज, पानीजहाज र रेलजस्ता धेरै मानिस बोक्ने सवारीसाधन दुर्घटनामा पर्दा ठूलो मात्रामा मानवीय क्षति हुन्छ,’ उनले भने, ‘राजधानीमा भने सडक दुर्घटनाका कारण ज्यान मात्र गुमाउनेको औसत संख्या हप्तामा चार रहेको छ। वार्षिक तथ्यांक हेर्ने हो भने अवस्था धेरै भयावह रहेको छ। नेपालमा संख्यात्मक हिसाबले हेर्दा दुईपांग्रे सवारीसाधन धेरै छन्। सोही कारण पनि यस्ता सवारी दुर्घटनाको तथ्यांक बढी देखिन्छ।’

एसएसपी भट्ट भन्छन्, ‘सडकको सवारी क्षमताभन्दा सवारीसाधनको चाप अत्यधिक मात्रामा बढ्दै जाँदा दुर्घटना संख्या र मानवीय क्षति दुवै बढ्दै गइरहेको छ। उपत्यकाभित्र मृत्यु संख्या धेरै हुने मुख्य कारण तीव्र गति र मादक मदार्थ सेवन हो।’

उनका अनुसार चाडपर्वका बेलामा अधिकांश सडक खुला हुन्छन्। जसले गर्दा सवारी साधन तीव्र गतिमा चलाउँछन्। तीव्र गतिकै कारण चालक तथा यात्रुको अकालमै मृत्यु हुन्छ। अझ उपत्यकाबाहिरका ठूला राजमार्गमा अस्पताल नहुँदा राजमार्ग र त्यस आसपासका सडक दुर्घटनाका घाइतेलाई समयमै उपचार गर्न नपाउँदा मृत्यु दर झनै बढेको छ।

मानिसहरूको सामान्य त्रूटिका कारण दुर्घटना हुनपुग्छ। चालकको लापरवाहीका कारण दुर्घटना बढी हुन्छ। त्यति मात्र नभई मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, तीव्र गतिमा सवारी चलाउँदा, चालकले मोबाइलको प्रयोग गर्दा, सडकको अवस्था र ट्राफिक नियमबारे ज्ञान नहुँदा, निद्रा तथा थकित अवस्थामा सवारीसाधन चलाउँदा, पैदलयात्रीले जथाभावी बाटो काट्दा, सडकमा जथाभावी बिस्कुन सुकाउँदा र जेब्राक्रस तथा फुटपाथ एवं आकासे पुलको प्रयोग नगर्दा सडक दुर्घटना बढी हुने गरेको भट्टले बताए।

‘उपत्यकाका सडकको कालोपत्र लामो समयसम्म टिकाउ हुँदैन,’ भट्टले भने, ‘समयमै सडक विस्तार र मर्मत तथा खाल्डाखुल्डी नपुर्दा दुर्घटना थपिन्छन्। प्रायः मानिस कालोपत्रे सडक देख्ने बित्तिकै तीव्र गतिमा सवारी हाँक्छन्। सडकका खाल्डाखुल्डीको समेत वास्ता गर्दैनन्। त्यसैले दुर्घटनामा परी ज्यान गुमाउने पनि धेरै छन्।’

उनले अगाडि थपे, ‘उपत्यकाभित्रै सवारी चलाउने मानिस तथा स्थानीयलाई सधैं सवारी चलाइरहने मुख्य सडक वा सहायक सडकबारे ज्ञान हुँदा दुर्घटना कम हुन्छ। उनीहरूलाई बाटोको गुमाउरोपन तथा खाल्डाखुल्डीबारे जानकारी हुन्छ तर कहिल्यै नगएको बाटोमा तीव्र गति, मादक पदार्थ सेवन गरी वा अन्य लापरवाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढी हुनेगरेको छ।’

सवारी दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालक हुन्छन्। पैदलयात्रीले मनोमानीपूर्वक बाटो काट्दा र अव्यवस्थित रूपमा सवारीसाधन चलाउँदा दुर्घटनाको तथ्यांकले बृहत् रूप लिएको भट्टले बताए।

 उनका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक भए/नभएको हेर्ने, सवारीको गति मापन गर्ने, तेस्रो पक्ष बिमा गरेको छ छैन जाँच गर्ने, सवारीको यान्त्रिक अवस्था परीक्षण गर्ने जस्ता कार्य ट्राफिक प्रहरीले गर्दै आएको छ।

‘भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरणको कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा दक्ष जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको छ,’ उनले भने।

हरेक वर्ष हुने दुर्घटना संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्यांकन छैन। दुर्घटनाबाट हुने सबैभन्दा ठुलो क्षति मानवीय नै हो।

आफन्त गुमाउनुपर्दा पारिवारका अन्य सदस्य र आश्रितले सहनुपर्ने पीडा अकल्पनीय हुन्छ। बढी सवारी चालक आफैंले सवारी हाँक्दा सतर्कता अपनाउँदै ट्राफिक नियम उल्लंघन गर्र्न नहुने एसएसपी भट्टको सुझाव छ।  

प्रकाशित: ६ मंसिर २०८० ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App