१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

आलुको बीउ: बजारमा प्रतिकिलो ४०,सरकारी दर ८० !

इलाम नगरपालिका ४ नम्बर वडामा किसानलाई वितरणका लागि आलुको बीउ तयार गरिँदै।

इलाम नगरपालिका वडा ६ का वडाध्यक्ष मदन श्रेष्ठ पेसाले व्यापारी पनि हुन् । उनको पसलमा अहिले आलुको बीउ विक्रीका लागि छैन।तर, नजिकैका पसलमा चाहिँ स्थानीय बिटे आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा किनबेच भइरहेको छ।

श्रेष्ठ वडाध्यक्ष रहेको वडाले हरेक वर्ष किसानलाई आलुको बीउ सहुलियत दरमा वितरण गर्छ । तर, प्रदेश सरकारले कृषि ज्ञान केन्द्रअन्तर्गतको जौबारीस्थित फार्म व्यवस्थापन शाखामा उत्पादन गरी विक्री गर्ने आलुको बीउ चाहिँ यसपटक यो वडाले किन्न सकेन। कारण हो– स्थानीय बिटे आलुको सरकारी दर बजारमा पाइनेभन्दा दोब्बर हुनु । वडाले बजारकै व्यापारीबाट प्रतिकिलो ४० रुपैयाँमा त्यही आलुको बीउ ६० मन (प्रतिमन ४० किलो) किन्यो। र, किसानलाई प्रतिकिलो २५ रुपैयाँ सहुुलियत दिएर वितरण गरिरहेको छ।  

वडाध्यक्ष श्रेष्ठ आफैं पनि व्यापारी भएकाले प्रदेश सरकारले बिटे आलुको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकेकामा छक्क छन्। ‘हामी वर्षाैंदेखि बिटे आलुको बीउ बेचिरहेका छौं।अहिले पनि बजारमा सरकारी दरभन्दा आधामै यो आलुको बीउ पाइन्छ,’ उनले सुनाए, ‘सरकारले किसानलाई अझ सहुलियत दिनुपर्नेमा दोब्बर मूल्य किन तोकेको हो भन्ने अनौठो लागिरहेको छ।’ प्रदेश सरकारले तोकेको दर भन्दै कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको मूल्यअनुसार जनकदेव, खुमल उपहार र डेजिरे आलुको मूल्य प्रतिकिलो ८५ रुपैयाँ छ भने स्थानीय बिटे आलु ८० रुपैयाँ।

जिल्लाका किसान कात्तिक लागेपछि आलु रोप्न व्यस्त छन् । पहाडी क्षेत्रका किसानले सबैभन्दा बढी खेती गर्ने बीउ स्थानीय बिटे नै हो।त्यसबाहेक जनकदेव, खुमल उपहार र डेजिरे आलु किसानले खेती गर्नेगरेका छन्।सरकारले किसानलाई व्यापारीको भन्दा सहुलियत दिनुपर्नेमा उल्टै दोब्बर दर तोक्नुले आफूहरू मर्कामा परेको किसान बताउँछन्।‘सरकारी बीउ किन्नुपर्दा बजारमा पाइनेभन्दा दोब्बर तिर्नुपर्छ । अझ नागरिकता र विभिन्न कागज पनि पो देखाउनुपर्ने बाध्यता छ,’ एक किसानले सुनाए, ‘सरकारले चाहिँ किसानमारा व्यवहार गरिरहेको छ।’  

बिब्ल्याँटेका एक व्यापारी सरकारले किसानलाई सहुलियत दिनुपर्नेमा बजारमा पाइनेभन्दा दोब्बरमा बेचिरहेको बताउँछन्। ‘हामी लेकतिरबाट किनेर ल्याएको आलुको गुणस्तरीय बीउ प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बेचिरहेका छौं,’ उनी भन्छन्, ‘सरकारले चाहिँ त्यही आलुको मूल्य ८० रुपैयाँ तोकेको छ।अचम्मै लाग्छ।’

इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलाल वडाले प्रतिकिलो २० रुपैयाँको लागत सहभागितामा किसानलाई जनकदेव जातको आलु वितरण गरिरहेको सुनाउँछन्। ‘वडाले संघीय सरकारअन्तर्गतको आलु विकास केन्द्रले उत्पादन गरेको जनकदेव जातको आलु वितरण गर्दैछ,’ उनले भने, ‘यो निकै महँगो दरमै रहेकाले प्रतिकिलो ६५ रुपैयाँ अनुदान दिएर किसानलाई बाँड्दैछौं ।’ उनले किसानलाई (प्रतिधुरी) १० किलो र कृषि समूहलाई २० किलो आलु वितरण गरिरहेको बताए।  

फाकफोकथुम गाउँपालिकाले वडा ३  र ६ का किसानलाई नौ–नौ किलो जनकदेव आलुको बीउ वितरण गरेको छ।उसले पनि यही फार्मबाट प्रतिकिलो ८५ रुपैयाँमा किनेर किसानलाई केही लागत सहभागितामा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए।  

जिल्लाको जौबारीमा प्रदेश सरकारअन्तर्गतको फार्म व्यवस्थापन शाखाले आलु उत्पादन गर्छ । जौबारीमै संघीय सरकार वा नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) अन्तर्गतको आलु विकास केन्द्र पनि छ।कृषि ज्ञान केन्द्र प्रमुख टोनी बर्देवाले तीन–चार वर्ष पहिले नै तोकिएको मूूल्यमा आलु विक्री भइरहेको बताए। ‘किसानको तहमा हेर्दा सरकारी दर महँगो नै छ, हामीले यो दर घटाउन प्रदेश मन्त्रालयमा पटक–पटक अनुरोध पनि गरेका हौं,’ उनले भने, ‘तर, पुरानै दर तलमाथि भएन।’ उनले केही वर्षअघि उत्पादन लागत बढी भएका बेला आलुको दर तोकिएको र अहिले पनि कायमै रहँदा बजारभाउभन्दा बढी परेको हुनसक्ने बताए।

प्रदेशअन्तर्गतको शाखाले यो वर्ष उत्पादन गरेको आलुको बीउ बजारभन्दा महँगो भएकैले आधा पनि विक्री भएको छैन । शाखा प्रमुख बालमुकुन्द पैकराले २५ हजार तीन सय ६० किलो आलु उत्पादन भएकामा अहिलेसम्म ११ हजार पाँच सय २० किलोमात्र विक्री भएको बताए। ‘यो साल स्थानीय आलुको मूल्य सस्तो भएकाले यहाँको उत्पादन थोरैमात्र विक्री भएको छ,’ उनले भने, ‘यसपालि बीउको माग नै कम छ।’  

शाखाका अनुसार दोस्रो पुस्ताको जनकदेव आलु १४ हजार किलो उत्पादन भएको छ। खुमल उपहार चार हजार, डेजिरे एक हजार आठ सय ८० र स्थानीय बिटे आलु चार हजार आठ सय किलो उत्पादन भएको छ । पहिलो पुस्ताको जनकदेव दुई सय ४०, खुमल उपहार एक सय २० र डेजिरे तीन सय २० किलो उत्पादन भएको छ । ज्ञान केन्द्रले यहाँको आलु खरिदका लागि सूचनासमेत जारी गरेको थियो। तर, जिल्लाका १० मध्ये तीन स्थानीय तहले थोरै मात्रामा मात्र यो आलु खरिद गरेका छन्।  

फाकफोकथुम गाउँपालिकाले जनकदेव आठ हजार किलो खरिद गरेको छ। रोङ गाउँपालिकाले बिटे छ सय ८०, जनकदेव ८५ र डेजिरे ३० किलो खरिद गरेको छ  माङ्सेबुङले जनकदेव छ सय ८०, डेजिरे एक हजार एक सय १३, खुमल उपहार दुई सय १० र स्थानीय बिटे ७ सय ४९ किलो खरिद गरेको छ।  

आलु विकास केन्द्रमा पनि यो वर्ष १० टन आलु उत्पादन भएको छ । तर, आधामात्र विक्री भएको छ । यसबाहेक समूहमार्फत् करिब ४० टन उत्पादन भएको केन्द्रका जनार्दन गौतमले बताए । केन्द्रले खुमल सेतो, डेजिरेलगायत बीउ उत्पादन गरेको छ। आलुको बीउ गुणस्तरअनुसार प्रतिकिलो ७५ देखि ८५ रुपैयाँसम्म तोकिएको उनले जनाए। ‘चार वर्षअघि आलुको बीउ लिन इलामबाट काभ्रे पुग्नुपरेको थियो,’ उनले भने, ‘अहिले यहीं प्रशस्त बीउ उत्पादन भयो तर विक्री छैन।’ 

प्रकाशित: १९ कार्तिक २०८० १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App