१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

यस्तो छ खरिद गरेको वस्तु फिर्ता हुने कानुनी व्यवस्था (भिडियो सहित)

कुनै सामान खरिद गरिसकेपछि फिर्ता गर्नुपर्दाको झन्झट कहिले बेहोर्नु भएको छ ? कुनै सामान फिर्ता गर्नुपर्दा व्यापारी वा बिक्रेतासँग कहिले विवाद गर्नुपरेको छ ? सामान्यता यी आम विषय नै हुन्। सामान खरिद बिक्री गर्दा यस किसिमका समस्या आइलाग्नु सामान्य कुरा नै हो। यही सामान्य कुरा जब जटिलतामा प्रवेश हुन्छ, अनि आउँछ कानुनी उपचारका कुरा।

आफूले खरिद गरेको वस्तु फिर्ता गर्न पाउने वा नपाउने लगायतका विषयको कानुनी अवस्थाबारे के तपाईँ कत्तिको जानकार हुनुहुन्छ ? कुनै पनि वस्तु खरिद गरेको कति समयभित्र कस्तो अवस्थामा फिर्ता गर्न सकिन्छ ? कुन अवस्थामा फिर्ता गर्न पाउनु हुन्न। वस्तु फिर्ता गर्दा बिक्रेताले खरिद मूल्यमा कटौती गरेर फिर्ता गर्ने कि किनेकै मूल्य बराबरको रकम फिर्ता पाउने ?

बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न सकिने कुरा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ मा व्यवस्था गरिएको छ। फिर्ता गर्न चाहेमा सात दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न सकिने कुरा ऐनको धारा १४ मा उल्लेख छ। फिर्ता गर्दा उक्त वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सकिन्छ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार हो। यस्तै, आफूले खरिद गरेको वस्तु चित्त नबुझे फिर्ता गर्न पाउने उसको कानुनी अधिकार हो। धारा १४ कै दफा २ को उपदफा १ मा वस्तु फिर्ता गर्दा बिक्रेताले मूल्यमा कटौती गर्न वा अन्य कुनै किसिमको थप शुल्क लिन पाउने छैन। तर वस्तु फिर्ता गर्दा त्यस्तो वस्तु खरिद गर्दाका बखत बिक्रेताले दिएको बिल वा रसिद भने देखाउनु पर्नेछ।

खरिदकर्ताले त्यस्तो वस्तुको गुणस्तर वा परिमाणमा परिवर्तन गरेमा वस्तु फिर्ता गर्न वा सट्टा गरिने छैन। निश्चित अवधिभित्र उपभोग गरी सक्नु पर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतीत भइसकेको वस्तु पनि फिर्ता हुने छैन। यस्तै, सिलबन्दी गरिएको वस्तु भए बन्दी तोडिएको भए पनि फिर्ता नहुने धारा १४ कै दफा ४ का उपदफाहरूमा व्याख्या गरेको छ।

सिलबन्द गरेको वस्तु भए सिल नतोडिएको अवस्थामा त्यस्तो वस्तु पन्ध्र दिनभित्र फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु लिन सकिने कानुनी व्यवस्था छ।

प्रकाशित: १२ कार्तिक २०८० १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App