१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

देवनारायण थुनामुक्त

लहान- एक सातादेखि भारतीय प्रहरीको थुनामा रहेका सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव र उनका छोरा अजय शनिबार मुक्त भएका छन् । यादव बाबुछोरामाथि लगाइएको अपहरण तथा शरीरबन्धक मुद्दाउपर शुक्रबार सुनुवाइ सकिएपछि शनिबार अदालतबाट साधारण तारेखमा रिहा गर्ने जारी भएको हो ।
सप्तरीका प्रहरी प्रमुख (एसपी) मुकेश सिंहका अनुसार शुक्रबार देवनारयण, उनका छोरा अजय र अपहृत भनिएकी उनकी बुहारी ज्योति कुमारीको बयान बयान जिल्ला सत्र न्यायालय वीरपुरमा सकिएपछि अदालतले साधारण तारेखमा छाड्ने आदेश जारी गरेको हो । देवनारायण पक्षका अधिवक्ता प्रभाकर सिंहले बहस गरेका थिए ।
जिल्ला सत्र न्यायालय वीरपुरमा मंगलबारदेखि यो मुद्दामा थुनछेक बहस भएको थियो । यादव बाबुछोरालाई सामान्य तारेखमा छाड्ने आदेश भएको अधिवक्ता सिंहले सप्तरी प्रसाशन प्रमुखलाई जानकारी गराएका छन् ।
भारत कुनौली–१ की ज्योति कुमारी र देवनारायणका छोरा अजयले ६ महिनाअघि अन्तरजातीय प्रेमविवाह गरेका थिए । त्यसपछि ज्योतिका परिवारले कुनौली थानामा देवनारायण, उनका छोरा अजयसहित चारजनाउपर अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएका थिए । मुद्दा अनुसन्धानका क्रममा कुनौली प्रहरीले उनीहरूलाई असोज १५ मा पक्राउ गरेको थियो ।
सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण भारतीय बलजफ्तीविरुद्ध ०७३ असोज १३ गते तिलाठीमा भएको आन्दोलनका नायक हुन् । सीमारक्षा अभियानको नेतृत्व गरेकै कारण  देवनारायणलाई मनोबल कमजोर पार्ने उद्देश्यले कारबाही गरेको तिलाठीबासीको गुनासो छ । अपहृत भनिएकी  ज्योतिले आफूले राजीखुसीसँग अजयसँग प्रेम विवाह गरेको बयान दिएकी छन् ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App