जुम्ला – साउन १ गते अर्थात साउने सक्रान्ति विहीबार जुम्लाका घर घरमा राँको बालेर मनाइने चलन छ । प्रत्येक घरको छतमा राँको बालेर एक आपसमा गाली गरेर मनाइने यो चलन अहिलेसम्म कायमै छ । लुतो फाल्ने दिनको रुपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाई धुवाई गरि शरीरमा तेल लगाएर सरसफाई गरिन्छ । धान रोपाईको काम सकिएको अवसरमा यहाँका किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन । महिना भरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदी आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ ।
गाउँघरमा आजको दिन अगेनामा कुरीलो र तितेपानी सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशा घुमाउने, लुतो लैजाउ भनि अगुल्टो फयाक्ने गरिन्छ । साझ लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाएर त्यसको मलम बनाएर लगाउने गरिन्छ । साउन १ गतेकै दिन सूर्यको गति दक्षिण तिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । छोरी चेलीहरु पोइली घरबाट माइती घरमा आई मिठो मिठो परिकार बनाएर खाने गरिएको सँस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन । साउनमा मासु खानु हुन्न भन्ने परम्परागत चलनलाई तोड्दै अहिले यो संक्रान्तिका अवसरमा मासुको प्रयोग बढी भइरहेको पाइएको छ । दुध, दही खानु पर्छ भन्ने जनविश्वास छ ।
घरको ओटालो तथा छतमा लिपपोत गरी राँको हालिन्छ । गाउँमा रहेको रोग व्याधी सबै हटुन भन्नका लागि नजिकैको छिमेकी गाउँलाई गालि गर्ने चलन समेत रहिआएको छ । राँको लिएर दोबाटो र चौबाटोमा फयाक्ने गरिन्छ । दिदी बहिनीहरु एकै थलोमा जम्मा भएर स्थानीय देउडा गीत गाउने र रमाइलो गर्ने गर्दछन । देउडा खेल्ने ठाउँबवाटै फुलपाती ल्याएर राँको तयार गर्ने र शंख र घण्टा बजाएर लुतो फाँलिदै आएको संस्कृति सम्बन्धी जानकार आचार्य बताउँछन । राँको बाल्ने चलन कर्णालीमा अधिक छ रमाइलोका साथ साउने संक्रान्ति मनाइन्छ उनले भने । आजकै दिन हनुमानले लंका जलाएको संझनामा राँको बाल्ने चलन रहेको एक तर्फका विद्धानहरूको भनाई छ भने अर्को तर्फ राँको फाल्ने चलनलाई खस संस्कृतिको उपज हो र खसान क्षेत्रका मानिसहरुले कालो साउनमा केही पनि नहोस भन्नका लागि गरिदै आएको संस्कार हो भन्ने तर्क पनि गरेको पाइन्छ ।
साउने संक्रान्ति मनाउने बारेमा खानपानमा परिवर्तन आएको भएपनि खासै परिवर्तन आएको छैन । साउनको पवित्र महिनामा दुध दही खानु पर्छ, साउन महिनामा बढी वर्षा हुने र शुद्ध पानी नपाइने भएकोले रोग व्याधीले नछोउन भन्ने कामनाका साथ यो संक्रान्ति मनाइन्छ । साउन महिना भरी पावर्तीले व्रत बसी महादेव पति पाएकोले हिन्दु महिलाहरुको लागि यो महिना पवित्र मानिन्छ। यसैले यस महिना भरी खास गरी विवाहिता महिलाहरुले आफ्नो परिवारको सु स्वास्थ्य, दिर्घायु, र सुख सम्वृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना, आराधाना गर्ने गर्दछन् । यस पर्वमा उनीहरु हरियो पोते, हरियो नै चुरा र रातो लुगामा सजिएका हुन्छन ।
प्रकाशित: १ श्रावण २०७४ १२:३० आइतबार