९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विवादले हुलाकी राजमार्गको विरगञ्ज खण्ड निर्माण रोकियो

हुलाकी योजना कार्यालय विरगञ्ज मातहत पर्ने १९ किलोमिटर सडकखण्ड विवादका कारण हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको छ। यो कार्यालय मातहत २०३.३० किलोमिटरमध्ये अहिलेसम्म १८४.३० किलोमिटर सडक कालोपत्रे भइसकेको छ तर १९ किलोमिटर सडक भने राष्ट्रिय निकुञ्ज तथा अन्य निकायको अवरोधको कारणले अघि बढ्न सकेको छैन। हुलाकी योजना कार्यालय विरगञ्जका योजना प्रमुख दारोगा प्रसादले चितवन राष्ट्रिय निकुञ्ज लगायतका निकायको अवरोधका कारणले १९ किलोमिटर सडक खण्डको काम अघि बढ्न नसकेको बताए।

‘भरतपुर माडी ठोरी हुलाकी सडक (देवेन्द्रपुरदेखि बगई बसर्पाक) सम्मको खण्ड चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको बफर जोनका कारणले सडक निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ,’ उनले भने ‘यो खण्डमा ७.७ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। चितवन राष्ट्रिय निकुञ्जद्वारा निर्माण सामग्री उठाउन रोक लगाएका कारण सडक निर्माणको काम अघि बढ्न सकेको छैन।’

यो सडक खण्डकोे ठेक्का बज्रगुरु धुकुछ जेभीले पाएको थियो तर यो सडकको काम उत्साहजनक ढंगले हुन सकेको छैन। देवेन्द्रपुर बगई बसपार्कखण्डमा पर्ने ७.७ किलोमिटर सडकको काम भने अघि बढ्न सकेको छैन। यो सडक खण्डमध्ये विरगञ्ज ठोरी खण्डमा ६० किलोमिटर सडक पर्छ त्यसमा अहिलेसम्म ५४.५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने ५.५ किलोमिटर सडक ग्राभेल भएको छ। विरगञ्ज–कलैया अरूवा सडक खण्डमा पर्ने ३७ किलोमिटरमा भने कालोपत्रे भइसकेको छ। तामागढी कोलवी सिम्रौनगढ सडकखण्डको ४० किलोमिटर सडकमध्ये हालसम्म ३९.४० किलोमिटर सडक कालोपत्रे भइसकेको छ। मनमत कलैया मैतिरह्वा सडकखण्डमा २९ किलोमिटरमध्ये अहिलेसम्म २५.५० किलोमिटर सडक कालोपत्रे भएको छ।

गढीमाई बरियापुर खण्डमा १०.६० किलोमिटर सडकमध्ये ९ किलोमिटर सडक कालोपत्रे भएको छ भने १.६० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। यो योजना अन्तर्गत १५ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ५ वटा पुल निर्माण सम्पन्न भएको छ। सरकारले आव २०६६/६७ देखि सुरु गरेर आव २०७९/८० सम्ममा अर्थात् १३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखेको हुलाकी राजमार्गको काम अहिले सम्ममा ८९१ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ। हुलाकी राजमार्गको निर्माण सम्पन्न गर्ने म्याद अब ६ महिनाभन्दा कम छ।  

प्रकाशित: १५ फाल्गुन २०७९ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App