१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

वाग्मतीमा बढाइयो पानीको बहाव

महाशिवरात्रिमा भक्तजनको सुविधाका लागि वाग्मती नदीमा पानीको बहाव बढाइएको छ। नागमती नदीको उद्गमस्थलमा बनाइएको धाप ड्यामबाट बिहीबार दिउँसोदेखि प्रतिसेकेन्ड करिब ४ सय लिटर पानी वाग्मतीमा पठाइएको छ। सोही ड्याममा संकलन भएको पानी महाशिवरात्रिका अवसरमा वाग्मती नदीमा छाडिएको हो। नागमती वाग्मतीको सहायक नदी हो। वाग्मती नदी पशुपतिनाथ क्षेत्र भएर बग्छ।

यसैगरी मेलम्ची खानेपानी आयोजनाले पनि बिहीबारदेखि प्रतिसेकेन्ड ४ सय लिटरका दरले मेलम्चीको पानी वाग्मतीमा पठाएको छ। ‘शिवरात्रिका अवसरमा वाग्मतीमा पानीको बहाव बढेर प्रतिसेकेन्ड ७ सय देखि ८ सय लिटरसम्म पुग्नेछ। अहिले वाग्मतीमा भइरहेको पानीमा प्रतिसेकन्ड थप ७ देखि ८ सय लिटर पानी थपिँदा घुँडाघुँडाबराबर हुनेछ। यो पानी सफा पनि हुनेछ’, अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका सदस्यसचिव तथा वागमती सुधार आयोजना प्रमुख रवीन्द्र बोहराले भने। उनका अनुसार शिवरात्रि, तीजलगायत वागमती सभ्यतासँग जोडिएका १८ वटा पर्वमा वाग्मतीमा पानीको बहाव बढाउन थप पानी छाड्ने व्यवस्था मिलाइएको हो।

ड्यामको उद्घाटन बिहीबार ऊर्जा तथा उपप्रधानमन्त्री राजेन्द्र लिङदेन र सहरी विकासमन्त्री विक्रम पाण्डेले गरेका थिए। उद्घाटनलगत्तै ड्यामको पानी वाग्मतीतर्फ पठाइएको हो। ड्यामको पानी सुरुमा सुन्दरीजलस्थित पावर हाउसमा पुग्छ। पावर हाउसमा पुगेको पानीबराबर काठमाडौं उपत्यका खानीपानी लिमिटेड (केयुकेएल) ले पनि वाग्मतीमा पठाएको हो। वाग्मतीमा बिहीबार साँझदेखि पानीको बहाव बढेको वाग्मती सुधार आयोजनाको दाबी छ।

धाप ड्याममा १२ लाख घनमिटर पानी अट्छ। वर्षायामको पानी जम्मा गर्न यो ड्याम बनाइएको हो। यसबाहेक ड्याममा मुहान पनि छ। ड्याम बनाउन ५० करोड रूपैयाँ खर्च भएको छ। २०७२ सालबाट निर्माण थालिएको यो ड्याम २०७९ मा पूरा भएको हो। सुन्दरीजलबाट करिब १८ किलोमिटरको दुरीमा रहेको धाप ड्याम पर्यटकीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भएको वागमती सुधार आयोजनाले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७९ ००:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App