१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलमा जग्गाको कित्ताकाट खुल्यो

बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले जग्गा बर्गीकरण सम्बन्धि प्रतिवेदन स्वीकृत गरेसंगै जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको हो।

जग्गा बर्गीकरण सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने स्थानीय  भु–उपयोग  परिषदको निर्णयलाइ आजको कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरापलिकाका प्रवक्ता शिव रानाले जानकारी दिए। बैठकले शहरीकरण उन्मुख रहेका स्थान तथा वडाहरुमा गैर कृषि क्षेत्र कायम राख्न सिफारिश भए अनुरुप वडा नं. १ देखि १३ सम्म र वडा नं. १९ का जग्गाहरुलाइ गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको हो।

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयहरुलाई यसअघि नै पुन बिचारका लागि निवेदन पेश गर्न आव्हान गरीए पनि तोकीएको समय सकिदासम्म कुनै निवेदन नपरेपछि वडा नं. १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए। वडा नं. १४ देखि १७ भित्रका ५४ जना जग्गा धनीले कृषि क्षेत्र कायम राख्न निवेदन दिएका थिए। ती निवेदन अनुसार नै ती वडालाई कृषि क्षेत्र कायम राख्ने निर्णय पनि कार्यपालिकाले गरेको उनले जानकारी दिए। वडा नं. १४,१६, र १८ का ९५ वटा सडकहरुका दाँया बाँया १ सय मिटर भित्रका जग्गाहरु गैरकृषि क्षेत्र कायम गरीएको छ।

यसअघि जग्गा बर्गीकरणका लागि वडा मार्फत सूचना जारी गरीदा स्थानीयबाट कषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन परेको नगरपालिकाले जनाएको छ। भु–उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले १४ देखि १७ सम्मका वडाका ५४ जनाले मात्रै आफना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिएको जानकारी दिए। वडाबासीको माग र चाहाना बमोजिम नगरपालिकाले भु उपयोग परिषद मार्फत निर्णय गरेर कार्यपालिकामा सिफारिश गरेको भुर्तेलले बताए। 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भु–उपयोग परिषदले आवश्यक गृहकार्य गरी जग्गा बर्गीकरण कार्यअघि बढाउने निर्णय गरेको बताए। २०७९ साउन १८ गते सरोकारवाला र नगरबासीको राय प्रतिक्रिया तथा सुझाव लिन सार्वजनिक सूचना प्रकाशन गरीएको प्राप्त सुझावकै आधारमा प्रतिवेदन तयार गरीएको उनले बताए। जिल्ला स्थित नापी र मालपोत कार्यालयलाइ सो प्रतिवेदन उपर राय,प्रतिक्रिया लिएर भुउपयोग परिषदबाट निर्णय गरी कार्यपालिका मार्फत निर्णय गरीएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए।

स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको विवरण नापी विभाग र प्रदेश भु उपयोग परिषद र संघीय भु उपयोग परिषदमा पठाइने उनले जानकारी दिए। स्थानीय तहले भु उपयोग परिषद खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको उपयोगीता र विशेषता अनुरुप १० बर्गमा बाँडन सकिने भुउपयोग नियमावली २०७९ मा उल्लेख छ। जग्गाको बर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएकाले बुटवल उपमहानगरपालिकाले गत असार/साउन देखि नै जग्ग्गा बर्गीकरणको प्रक्रिया थालेको थियो। नेपाल सरकारले गत जेठमा जारी गरेको भु उपयोग नियमावलीमा बर्गीकरण पछि मात्रै जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था छ।  

प्रकाशित: १९ मंसिर २०७९ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App