६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध सडकमा एमाले

प्रदर्शनमा सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेल । तस्बिर: रासस

मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडकमा विरोध प्रदर्शन गरेको छ। एमाले वाग्मती प्रदेशको आयोजना र संयोजनमा काठमाडौंको वसन्तपुरमा एमालेले सोमबार विरोध प्रदर्शन गरेको हो। मौसम खराब हुँदा पनि महँगीको विरोधमा सर्वसाधारण नागरिक छाता ओढेर एमालेको आह्वानमा सडकमा आएका थिए। हजारौंको संख्यामा उपस्थित नागरिकहरूले वर्तमान सरकारविरुद्ध रित्ता भाँडा बजाएर नाराबाजी गरेका थिए। एमालेका विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ता रित्ता सिलिन्डर, रित्ता भाँडाकुँडा लिएर र्‍यालीमा सहभागी भएका थिए।  

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएकाले विरोध प्रदर्शन गर्नुपरेको एमाले नेताहरूले बताएका छन्। एमालेको जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बांगेमुढा, हुँदै शान्तिवाटिकामा पुगेर समापन भएको थियो। प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क कमिटी, जनवर्गीय संगठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो।

प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न ब्यानरसहित विरोध गरेका थिए। उनीहरूले ‘परमादेशी सरकार चाहिँदैन’, ‘भ्रष्टाचार गर्न पाइँदैन’, ‘भ्रष्टाचार नियन्त्रण गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नारा लगाएका थिए। विरोध प्रदर्शनमा उत्रिएकाहरूले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, विभिन्न क्षेत्रका भ्रष्टाचारलगायत अनियमितता रोक्नुपर्ने माग गरेका थिए। ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘मल छैन सरकार, कसरी चल्छ घरबार ?’, ‘मेरो उत्पादनको मूल्य कति हो सरकार ?’ लगायत प्रश्न सोधिएका नारा लेखिएका ब्यानर उनीहरूले प्रदर्शन गरेका थिए।  

विरोध प्रदर्शनलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। उनले अहिलेको सरकार माफियाको चंगुलमा फसेको आरोप लगाए। उनले भ्रष्टाचार र महँगीविरुद्ध जनता सडकमा आएको बताए। एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महँगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको दाबी गर्दै उनले वर्तमान सरकारको औचित्य समाप्त भएको स्पष्ट पारे।

‘यो सरकारका कारण महँगी र भ्रष्टाचार बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ,’ महासचिव पोखरेलले भने। एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र समृद्धिको चाहना समाप्त पार्न खोजिएको उनको दाबी छ। यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने बाटोमा रहेको पनि उनको भनाइ थियो। ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ। संसद् राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ,’ महासचिव पोखरेलले भने। जनताको हितको प्रतिनिधित्व गर्न नसक्ने वर्तमान सरकारलाई माफियाले चलाएको दाबी उनले गरे।

उनले आइतबार पुनः अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्मा जनताको नजरमा नचोखिएको दाबी गरे। ‘अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नजरमा चोखिए पनि जनताको नजरमा चोखिएका छैनन्,’ महासचिव पोखरेलले भने। उनले यो सरकारले जनताको भविष्यमाथि खेलबाड गर्ने मन्त्रीलाई प्रमाण लुकाएर चोख्याएको दाबी गर्दै भने, ‘देउवा र दाहालका लागि शर्मा चोखिएका होलान्, जनताको नजरमा राष्ट्रघातीका रूपमा रहेका छन्।’  

महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले यो महँगी र भ्रष्टाचारको बदला लिने जिकिर गरे। उनले अहिलेको संसद राष्ट्र र जनताको हितमा नरहेको दाबी गरे। नेपाली चेलीले विवाह भएर भारत जाँदा नागरिकताका लागि सात वर्ष पर्खिनुपर्ने उल्लेख गर्दै उनले भारतीय चेलीले भने नेपालीसँग विवाह गरेर आउँदा बिहे गरेकै बखतमा नागरिकता दिने खालको असन्तुलित प्रावधान संसदले पारित गरेको बताए। ‘यो संसद् राष्ट्र र जनताको हितमा छैन। अब यो संसद् विघटन गरेर चुनावमा जानुपर्छ,’ उनले भने। महासचिव पोखरेलले बजेटमा भएको अनधिकृत व्यक्तिको संलग्नताबाट करको दर हेरफेर भएको घटनाले यो सरकार देशको हितमा नभएको प्रमाणित भएको दाबी गरे। ‘यो सरकार जनताको नभई माफियाको हो भन्ने सबैले बुझ्नु जरुरी छ,’ उनले भने।

एमालेले काठमाडौंमा रहेका सबै जनसंगठन, सम्पर्क मञ्चलगायतलाई विरोधमा उतारेको थियो। विरोधमा एमालेका शीर्ष नेताहरूको उपस्थिति थियो। विरोधसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिए पनि मौसमले साथ नदिएपछि महासचिव पोखरेल मूल वक्ता बनेका थिए।

प्रकाशित: १७ श्रावण २०७९ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App