१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले सर्त माने एमालेले सघाउने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ।  

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। कांग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ। ‘हाम्रा माग सम्बोधनका विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,’ एमालेका एक उच्च नेताले भने।

ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण कांग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो। कांग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसद्मा दुईतिहाइ पुर्‍याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ।

त्यस्तो अवस्थामा वर्तमान गठबन्धन टुट्ने र सरकार पनि अप्ठेरोमा पर्ने आशंका कांग्रेसले व्यक्त गरेकाले एमालेले कांग्रेसलाई केन्द्रमा एकलौटी सरकार सञ्चालन गर्न भनेको स्रोतको दाबी छ।

‘सभामुखलाई कारबाही गरौं, संसद् पनि चलाऔं, एमसिसी पनि पािरत गरौं भन्ने प्रस्ताव एमालेबाट आएको छ,’ कांग्रेसनिकट स्रोतले भन्यो, ‘आगामी निर्वाचनसम्म केन्द्रको सरकार सञ्चालनमा एमालेले कांग्रेसलाई सहयोग गर्ने र प्रदेश सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई हटाएर एमाले पनि सहभागी हुने विषयमा पनि कुरा भएको छ।’

देउवा र ओलीबीच मंगलबार साँझ भएको संवादमा एमालेले सभामुखलाई हटाए संसद्को अवरोध हटाउने कुरा राखेको थियो। प्रधानमन्त्रीको दूत भएर बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष ओली निवास पुगे। करिब एक घण्टा उनीहरूबीच कुराकानी भयो।

सभामुखलाई महाभियोग लगाउन कांग्रेस सकारात्मक बने संसद्को अवरोध हटाउन सकिने ओलीले बताएका थिए। ‘संसद्मा एमाले प्रवेश गर्ने र छलफल गर्ने वातावरण हुनुपर्छ, एमालेले राखेका मागलाई बेवास्ता गरेर अघि बढ्न खोजे संसद् अवरोध कायम रहन्छ, अहिले हामी एमसिसीबारे प्रवेश नै गरेका छैनौं, जब हाम्रा माग पूरा हुन्छन् संसदको अवरोध खुल्छ। त्यसपछि मात्रै एमसिसीबारे छलफल हुन्छ’, ओलीलाई उद्धृत गर्दै एमालेका एक उच्च नेताले भने।

भदौदेखि नै संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको एमालेले अवरोध हटाउन सभामुखको राजीनामा वा माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न प्रमुख सर्त राखेको छ। यी मागमा ऊ अहिले पनि अडिग छ।

मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँग छलफल गरेका प्रधानमन्त्री देउवाले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गरे।

त्यसअघि बुधबार बिहानै गृहमन्त्री बालकृष्ण खाँणले दाहाल र अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका थिए। दाहालले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँग भएका अलगअलग छलफलमा सकारात्मक कुरा गरेनन्। त्यसपछि मन्त्री खाँण तुरुन्तै बालकोट पुगेका थिए।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले दलहरूबीच कुराकानी चलिरहेको तर प्रगति केही नभएको बताए। ‘एमालेले संसद्मा अवरोध गरिरहेकै छ। बिहीबार बिहानसम्म कुनै प्रगति भयो वा हाम्रो माग सम्बोधन भयो भने संसद्को अवरोध हट्न पनि सक्छ। बिहीबार दिउँसो एक बजेसम्म समय छ,’ नेम्वाङले भने।

प्रधानमन्त्री देउवासँग मंगलबारको भेटमा पनि ओलीले सापकोटा सभामुख हुँदासम्म संसद्मा आफ्नो पार्टीको अवरोध कायमै रहने बताएका थिए। संसद् सञ्चालन हुने वातावरण भएमात्रै एमसिसीमा सघाउन सकिने धारणा ओलीले राखेका थिए।

प्रधानमन्त्रीले सबै कुरा गर्न सकिने तर माधव नेपाललगायतलाई सांसदबाट हटाउनचाहिँ नसकिने बताएका थिए। यसबाट कांग्रेस पनि सदनको अवरोध हटाउन सभामुखको बहिर्गमनमा राजी हुन सक्ने नेताहरूको बुझाइ छ। सभामुखले सहज रुपमा बाटो खोलिदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र सकारात्मक बन्न सकेको छैन ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App