१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विभाजनको संघारमा विवेकशील साझा

विवेकशील साझा पार्टी फेरि विभाजनको संघारमा पुगेको छ। मतभेद बढेपछि पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन्। बैठकका अजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।  

‘विधानको दफा २० (१०) अनुरूप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं अजेन्डा तय गरिने गरिएको व्यहोरा यहाँमा अवगत नै छ,’ पाण्डेले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा उल्लेख गरिएको थियो, ‘यसपटक पनि उक्त अभ्यास अनुरूप अजेन्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा मार्ग परिवर्तन गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु।’  

संयोजक पाण्डेले बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेश गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे र समसामयिक राजनीतिक प्रस्तावलगायत ११ बुँदे अजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको जनाएका थिए।  

त्यस्तै पार्टी अध्यक्षलाई निहित हुने अधिकार उपयोग गर्दै आफूले केन्द्रीय समिति बैठक बोलाएको मिश्रले जनाएका छन्। ‘अध्यक्ष र संयोजकबीच समझदारी र सहमति हुन नसकिरहेकोले प्रचलित अभ्यासलाई अंगिकार गर्दै र पार्टी अध्यक्षमा सोही अनुरूप निहित हुने अधिकारको उपयोग गर्दै वर्तमानको गाँठो फुकाउन केन्द्रीय समितिको जुम बैठक आव्हान गरेको छु,’ अध्यक्ष मिश्रले पठाएको इमेलमा उल्लेख गरिएको थियो, ‘हाल पार्टीमा अध्यक्ष र संयोजकबीच समझदारी हुन नसकेको अवस्था रहेको पनि केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका छन् भने यस्तो अवस्थामा पार्टी बन्धक बनेर रहन सक्दैन। पार्टीभित्रको वर्तमान अन्यौलबाट सक्दो छिटो मुक्त भएर स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने हुन्छ। वर्तमान अवरूद्धता कायम रहेसम्म र त्यसले आउँदा दिनमा सिर्जना गर्ने अन्य समस्याको लहरोका माझ हामी अघि बढ्न सक्दैनौं।’  

पार्टीका प्रवक्ता शरदराज पाठकले दुवैका एजेण्डासहितका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको जानकारी गराएका थिए। ‘पार्टीभित्र सिर्जना भएको वैचारिक गतिरोधलाई निकास दिन अध्यक्षले बैठक बोलाउनु भएको थियो, ‘पटक–पटक छलफल हुँदा समेत अध्यक्ष र संयोजकबीच एजेन्डाका विषयमा सहमति हुन सकेन। त्यसैले अध्यक्षले केन्द्रीय समिति बैठक बोलाउनुभएको हो।

’अध्यक्ष मिश्रले केही दिनअघि संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहका विषयमा फरक धारणासहितको दस्ताबेज सार्वजनिक गरेका थिए। त्यसपछि संयोजक पाण्डे, नेताहरू नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले मिश्रको विचारको खण्डन गर्दै गणतन्त्रको सुदृढीकरण, धर्म निरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यकता रहेको दस्ताबेज ल्याएका थिए।  

विसं. २०७४ साउनमा तत्कालीन विवेकशील पार्टी र साझा पार्टी एकीकरण भएका थिए। त्यसपछि विसं. २०७५ पुसमा उनीहरू विभाजित भएका थिए। गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो।

प्रकाशित: १६ भाद्र २०७८ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App