११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकताको पक्षमा प्रयासरत छुः माधव नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका छन्। बिहीबार वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै उनले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताएका हुन्।

उनले केही विषयमा सहमति भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताएको एमाले नेता रघुजी पन्तले जानकारी दिए। वरिष्ठ नेता नेपालले सहमतिको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले भने।

‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ। केही सहमति भएका छन्। केही विषयमा अझै वार्ता जारी छ। यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ। एकता हाम्रो इच्छा हो। चाहाना हो,' उनले भने, 'अहिलेसम्म वार्ताबाट आएका सहमतिहरु त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौँ। प्रयासरत छौँ भनेर भन्नुभो।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भिम रावलले १० बुँदे सहमतिको सम्बन्धमा ब्रिफिङ गरेका थिए। संस्थापन पक्षले पार्टी सदस्यता नविकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नविकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताए।  

उनले एकताको पाइला सकारात्मक रुपमा अगाडी बढेको जिकिर पनि गरे।  

सञ्चारकर्मीको प्रश्नमा नेता पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताए। उनले भने,‘हामी सरकारमा जाने सम्भावना नै छैन। हामी एउटै पार्टीमा छौँ। एमालेमा छौँ। प्रतिपक्षमा छौँ।’

वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशिघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताए।

आजको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको उनले जानकारी दिए। बैठक भोलि बिहान ११ः ३० मा पुनः बस्ने पनि नेता पन्तले बताए।

प्रकाशित: २१ श्रावण २०७८ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App