४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठन प्रक्रिया थाल्न प्रदेश प्रमुख समक्ष माग

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष माग गरेका छन्। सोमबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष विपक्षी चार दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दै लिखित निवेदन दिएका हुन्। संविधानको धारा १६८ को उपधारा १ बमोजिम एकल बहुमतको भनिएको शंकर पोखरेल नेतृत्वको सरकारसँग बहुमत नभएको दाबी विपक्षीको छ।  

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेतासहित गठबन्धनका ४१ सांसदले निवेदनमा हस्ताक्षर गरेका छन्। पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेकाले दुई वा दुईभन्दा धेरै दलको समर्थनमा बहुमतको सरकार गठनको प्रक्रिया थाल्न विपक्षी गठबन्धले माग गरेका हुन्।  

वर्तमान सरकार संविधानको मूल्य मान्यता, विधि र संसदीय पद्दतिअनुरुप गठन र संचालन नभएकाले १६८ को उपधारा २ बमोजिम  सरकार गठन प्रक्रियालाई अघि बढाउनु पर्ने बहुमत सांसदहरुको माग छ। सोमबार काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीयाले प्रदेश प्रमुखलाइ माग पत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया थालनी गर्न माग गरे। ‘प्रदेशमा अल्पमतले शासन गरिरहेको छ। त्यसैले कानुनी राज्य स्थापना र संविधान पालनाको पक्षमा प्रदेश प्रमुखज्युबाट सकारात्मक भूमिकाको अपेक्षा गरेका छौं’ कनौडीयाले भने।

प्रदेशसभामा हाल रहेका ८० सांसदमध्ये बहुमत सदस्य ४१ जना आफुहरुसँग रहेको जानकारी गराउँदै उनले मुख्यमन्त्रीसँग जम्मा ३८ सांसद रहेको दाबी गरे। विपक्षीको माग पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान र कानुनसम्मत अगाडि बढ्नका लागि परामर्श गर्ने बताए। सरकारको संवैधानिकतामाथि प्रश्न उठेकाले त्यस बिषयमा प्रष्ट पार्न मुख्यमन्त्री पोखरेललाई आग्रह गरिसकेको उनले बताए।

प्रकाशित: १८ श्रावण २०७८ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App