९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमायो : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्। स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै नेता पौडेलले लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीने बताएका हुन्। उनले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए।  

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो। बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले  ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए। नेपालमा लोकतन्त्र साकार गरेमात्र स्वर्गीय जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो।  

कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिङ्गो उपत्यकावासी शोकमा डुबेको बताएका छन्। नेता जोशी जुझारु युवा नेता भएको उनको भनाइ थियो। परिवारको तर्फबाट बोल्दै स्वर्गीय जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले आफूहरु दाजुभाइ भए पनि साथीभाइ जस्तो भएर काम गरेको बताए। स्व नेताप्रति पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २५ चैत्र २०७७ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App