१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीमा कांग्रेसको विरोधसभा

नेपाली कांग्रेस रूकुम पश्चिमले गरेकाे विराेधसभामा उपस्थित भएका सर्वसाधारणा । तस्बिर: नागरिक

कम्युनिस्ट सरकार र प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोधसभा गर्ने नेपाली कांग्रेसको केन्द्रीय नीतिअनुसार कर्णालीका जिल्लामा पनि विरोधसभा कार्यक्रम गरिएको छ। संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध लोकतन्त्र र संविधानको रक्षाको पक्षमा कम्युनिस्ट ओली सरकारविरुद्ध विरोधसभा गरेको नेपाली कांग्रेसले जनाएको छ।

कर्णालीका १० जिल्लामध्ये दैलेखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गरेका थिए भने अन्य जिल्लामा जिल्लाका नेताहरूले सम्बोधन गरेका थिए। विरोधसभामा बोल्दै कांग्रेसका नेताहरूले संविधानमा प्रधानमन्त्री ओलीलाई संसद् विघटनको अधिकार नदिँदा नदिँदै लोकतन्त्रलाई धरापमा राख्ने गरी ओलीले संसद् विघटन गरेको बताएका छन्। कम्युनिस्टहरूको घरायसी झगडाले देशलाई अन्धकारतर्फ धकेलेको भन्दै उनीहरूले जनताले दिएको दुईतिहाई मतको कम्युनिस्ट नेताहरूले अपमान गरेको बताएका छन्।

संसद् विघटन असंवैधानिक भएको व्याख्या गर्दा घामजस्तै छर्लंग भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाए। कम्युनिस्टले जित्दा जनताले आशा गर्ने परिस्थिति निर्माण भएको थियो भन्दै उनले भने, ‘तर उक्त आशा कम्युनिस्ट सरकारले निराशामा परिणत गर्‍यो।’ नेपाली कांग्रेस पनि विकास र समृद्धिको खाका बन्नेमा विश्वस्त हुँदा कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएर कालो बादल मडारिएको बताए। ‘अब हामी त्यही कालो बादलमा मडारिने कि बादल हटाउने ?’ उनले प्रश्न गरे।  

कम्युनिस्ट सरकारको घोषणापत्रमा दुई वर्षभित्र खाद्य संकट हटाउने घोषणा गरिए पनि कम्युनिस्टले तीन वर्षसम्म सरकार चलाउँदा किसानले मलसमेत नपाएको उनको भनाइ छ। गुठी, मानवअधिकार र सूचना प्रविधिजस्ता अव्यावहारिक विधेयक नेपाली कांग्रेसको दबाबका कारण सरकारले फिर्ता लिएको उनको दाबी छ। ‘जनताको बोल्न पाउने अधिकार सरकारले कुण्ठित गर्न मिल्छ?’ उनले भने, ‘त्यो भनेको लोकतन्त्रमाथि प्रहार हो।’  

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली संविधानभन्दा माथि बस्न खोजेको उनको भनाइ छ। ‘नेपालमा कांग्रेस हुँदासम्म कोही संविधानभन्दा बाहिर हुन पाउँदैन,’ उनले भने, ‘अहंकारी र लोकतन्त्रविरोधी व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा लोकतन्त्र धराशयी बन्यो।’ हिजोको राज्य व्यवस्थाले जातीय विभाजन गरेको भन्दै उनले अब समावेशी राज्यसत्ताबिना राज्य चल्न नसक्ने बताए।

नेपाली जनताको बलिदानले बनेको संविधानमाथि कम्युनिस्ट सरकारले बलात्कार गरेको नेपाली कांग्रेस सुर्खेतका नेता नारायण कोइरालाले बताए। सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा उनले संविधानका धारामा सहिद र नेपाली जनताको रगत मिसिएको भन्दै उनले भने, ‘सहिदको सम्मान र भावनामा कुठाराघात गरेको छ।’ कम्युनिस्ट सरकारले एकपछि अर्को गरी संविधान उल्लंघन गरेको उनको भनाइ छ। संविधानमा व्यवस्था नहुँदा नहुँदै प्रधानमन्त्री आलीले संसद् विघटन गरेकाले यसको प्रतिकारका लागि नेपाली कांग्रेस मात्र होइन सबै सडकमा आउनुपर्ने धारणा व्यक्त गरे।  

वर्तमान सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध नेपाली कांग्रेसले विरोधसभा गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले बताए। ‘संविधान र लोकतन्त्र रक्षाका लागि हामी सडकमा आएका छौं,’ उनले भने, ‘संविधान र लोकतन्त्रलाई कसैले खतरामा पुर्‍याउन पाउँदैन।’ यसभन्दा अघि पनि नेपाली कांग्रेसको केन्द्रीय नीतिअनुसार कर्णालीमा विरोधसभाका कार्यक्रम आयोजना गरिएको उनले जनाए।

प्रकाशित: ४ फाल्गुन २०७७ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App