जनता समाजवादी पार्टी (जसपा) नेपालले अशाेक राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको दाबी गरेको छ ।
अशोक राई (Ashok Rai) सहित ७ सांसदले जसपा विभाजन गर्दै नयाँ दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए । उनीहरुले दलको नाम जनता समाजवादी पार्टी राख्न प्रस्ताव गरेका छन् ।
त्यसको एकदिनपछि सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमन (Manish Kumar Suman) ले असंवैधानिक तरिकाबाट दिइएको निवेदनका आधारमा आयोगले नयाँ दल दर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार विज्ञप्ति निकाल्दै उनले बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको दाबी गरे । उनले भने, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई असंवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’
जसपा विभाजनका लागि राई समूहले आयोगमा निवेदन दिएपछि अध्यक्ष उपेन्द्र यादव (Upendra Yadav) ले संसदीय दलको बैठक बोलाएका छन् । न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्कने क्रममा कतार आइपुगेका उनले सांसदहरुलाई फोन गरेर बैठकमा सहभागी हुन भनेका हुन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको छ । अध्यक्ष यादव सोमबार राति काठमाडौं फर्कँदैछन् ।
प्रकाशित: २४ वैशाख २०८१ १६:५० सोमबार