१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि काँग्रेसले पठायो ९२ नाम

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ। कर्णाली प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नामहरू जस्ताको तस्तै सिफारिस गरेको हो।

प्रवक्ता दमनबहादुर शाहीले हुम्ला बाहेकका ९ जिल्लाले उम्मेदवारहरूको नाम सिफारिस गरिएको बताए। ‘राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार हुँदाहुँदै यस पटक कर्णाली प्रदेशमा अन्यत्र जिल्लालाई अवसर दिनका लागि नाम सिफारिस गरेको होइन,’ प्रवक्ता शाहीले भने, ‘अन्य ९ जिल्लाबाट आएका ९२ जनाको नाम केन्द्रमा पठाएका छौं।’

स्रोतका अनुसार सुर्खेतबाट पूर्व पार्टी सभापति डम्वर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ बढीको नाम सिफारिस भएको छ । यस्तै कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालिबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ।

दैलेखबाट पूर्व सभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्टियसभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ। जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम सिफारिस भएको छ भने जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीलगायतको नाम सिफारिस भएको छ भने सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफासिर गरिएको छ। यस्तै मुगुबाट एक जनाको मात्रै नाम सिफारिस भएको छ। मुगुबाट पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ।

डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ। राष्ट्रिय सभामा कर्णालीबाट तीन सिट खाली हुँदैछन्। यहाँबाट दलित, महिला र अन्य गरेर तीन जना निर्वाचित हुनेछन्।

जुम्लाले कर्णाली प्रदेशका पार्टी सभापति ललितजंग शाहीसहित छ जनाको नाम सिफारिस गरेको थियो। सभापति शाहीले आफू पार्टीको प्रदेश सभापति रहेकाले राष्टियसभामा तत्कालका लागि आफू उम्मेदवार हुन असमर्थ रहेको बताए।

प्रदेश प्रवक्ता शाहीका अनुसार बैठकले कर्णाली प्रदेशको प्रथम सम्मेलन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। सम्मेलनको तयारीका लागि आवश्यक निर्णयहरु गर्नका लागि पदाधिकारीलाई अख्तियारी दिने निर्णय गरेको छ।

प्रदेश कार्यसमिति बैठकले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू बनाएर कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरुमा राहत, पुनस्थापना र स्थायी आवास निर्माणमा प्रभावकारी काम गर्नका लागि कांग्रेस प्रदेशसभा संसदीय दलमार्फत प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए।  

प्रकाशित: १० पुस २०८० ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App