९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

माधव नेपाल भन्छन्: एनसेल बिक्री हेर्दा हेर्दैको डकैती हो

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्।

समाजवादी प्रेस संगठन नेपाल, कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एनसेल बिक्री सिधै हेर्दा हेर्दैको डकैती भएको बताए।

एनसेल बिक्री काण्डमा सामेल कोही पनि छुट्न नहुने भन्दै उनले भने, ‘यो लुट, ब्रह्म लुट, सिधै हेर्दा हेर्दैको डकैती हो। यसमा संलग्न कोही पनि नछुटोस्।’

अध्यक्ष नेपालले एनसेलको स्वामित्व अहिले बेच्ने अनि ६ वर्षपछि हस्तान्तरण गर्ने भन्ने सम्झौता नै जालसाजीपूर्ण भएको टिप्पणी गरे। अहिले बेचेर ६ वर्षपछि नेपालीको हातमा आइसकेकाले पुरानो कानून लागु हुँदैन भन्ने देखाउने षडयन्त्रमूलक काम गरेको उनको आरोप छ। 

उनले एनसेल बिक्रीलाई वैधानिकता दिन सो अनुकूल कानून बनाउन, भएका प्रावधानमा संशोधन गर्न भनेर मस्यौदा समेत निर्माण भएको जानकारीमा आएको दाबी गरे।

यी सबै कुराहरुको छानबिन गर्नुपर्ने भन्दै उनले भने, ‘यसमा अहिले होस् वा पहिले पहिले पनि, कसैले आँखा चिम्लेको छ भने त्यसको छानबिन गरेर कुनैपनि हालतमा दण्डित गर्नुपर्छ।’ 

एनसेलमा बदमासी गर्नेहरुलाई सजाय दिएर सरकारले देशको हितको रक्षा गर्नुपर्ने उनको भनाई छ।अध्यक्ष नेपालले एनसेल काण्डमा संलग्नलाई कारबाही गर्दा विदेशी लगानी निरुत्साहित नहुने बताए। उनले भने, ‘विदेशी लगानीलाई निरुत्साहित गर्ने होइन। प्रोत्साहित नै गर्नुपर्छ, तर दोषीलाई भने छाड्न हुँदैन।

अध्यक्ष नेपालले युवाहरूमा बढेको निराशा तथा पार्टी र नेताप्रति बनेको नकारात्मक धारणाको फाइदा उठाउने प्रयास गरिरहेको आरोप लगाए। 

‘युवाहरूमा बढेको फ्रष्टेसन, निराशालाई देखाएर, पार्टी र नेताहरूप्रति बनेको नकारात्मक धारणालाई देखाएर प्रतिगामी तत्वहरुले टाउको उठाउन थालेका छन्। इतिहासको कालखण्डमा हराइसकेका शक्तिहरुले टाउको उठाउन खोजिरहेका छन्। राजतन्त्र फर्काउन खोजिरहेका छन्। यो कदापि स्वीकार्य हुँदैन, सफल हुँदैन,’ उनले भने।

राजतन्त्र फर्काउँदैमा सुशासन पनि नहुने र अर्थतन्त्र पनि सबल नबन्ने उनले दाबी गरे। समस्या राष्ट्रपतिमा रहेको छ कि प्रधानमन्त्रीमा छ ? उनले प्रश्न गर्दै भने ,‘प्रधानमन्त्री बन्ने चाहना छ भने पार्टी बनाउने, चुनावमा भाग लिने, जितेर प्रधानमन्त्री बन्ने राष्ट्रपतिमा आँखा किन गाड्नुपर्‍यो। जनताको छोराछोरी राष्ट्रपति बनिरहेका छन्। यसप्रति किन आँखा गाड्नुपर्‍यो ? कि राजतन्त्र कालमा लिएको १५ प्रकारको नातेदारलाई दिने तलब, भत्ताले पिरोलेको हो ?’

अध्यक्ष नेपालले अर्थतन्त्रमा कहिं न कहिं त्रुटि रहेकाले अर्थतन्त्र पुरानो लयमा नफर्किएको बताए। यस कारणले उद्योगी, व्यवसायीको हालत खराब भएको बताउँदै उनले भने, ‘यसको समाधानका लागि ब्याजदर घटाउने, ऋण तिर्ने म्याद थप्ने, व्याजलाई ऋणमा बदल्ने लगायत गरेर राहत दिनेबारे सरकारले सोंच्नुपर्ने बताए। तर संकटमा परेको अर्थतन्त्रलाई मौकाको रुपमा प्रयोग गरेर अनुचित माग गर्नेहरुलाई दण्डित गर्नुपर्ने उनको भनाई छ। 

दुर्गा प्रसाईंको नाम नलिई उनले भने,‘ऋण लिने तर ऋण नतिर्ने। चुक्ता गर्दिन भनेर घोषणा गर्ने अनि ऋण तिर्दिन भन्नेले दण्ड भोग्नु नपर्ने। यस्ता वाहियात कुराहरु सुन्नमा आइरहेको छ, यो कदापि हुन सक्दैन। उनीहरुलाई दण्डित गर्नुपर्छ।’

प्रकाशित: २३ मंसिर २०८० १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App