८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पौडेललाई राष्ट्रपति बनाउन गण्डकीमा सत्तारुढ दलका प्रदेशसभा सदस्यको भेला

कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ। सत्तारुढ आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेललाई जिताउने अभियान अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश सभा सदस्यहरुको भेला आयोजना गरिएको हो। भेलामा गठबन्धन दलका नेताहरुले गठबन्धन बन्नुको कारण, रामचन्द्र पौडेललाई जिताउनुपर्ने कारणमाथि प्रकाश पारेका थिए। 

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रबहादुर पाण्डेले लय बिग्रिएको राजनीतिलाई ट्रयाकमा ल्याउन नया गठबन्धन बनेको बताए। प्रजातन्त्रका लागि सँधै लडेका रामचन्द्र पौडेलले कहिल्यै लोकतन्त्र र संविधानलाई आघात नपु¥याउने भएकाले उनलाई जिताउनुपर्ने बताए।  

उनले चुनावमा गरेका वाचा पूरा गर्नपनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए। पाण्डेले चुनावमा भोटसमेत साटिएको प्रसङ्ग उप्काउँदै भने, ‘हामी एउटै पार्टीजस्तो भएर चुनाव लड्यौं, कांग्रेस माओवादी जस्तो भयो, माओवादी कांग्रेस जस्तै भयो। तर बीचमा गठबन्धन भत्किदाँ जनतामा जान अप्ठेरो परेको थियो तर अहिले फेरी लय समातेको छ। अब जनतामा जानपनि सजिलो भएको छ। त्यसैले गठबन्धनका उम्मेदवारलाई जिताउन हामी सबै एकताबद्ध भएर लाग्नुपर्छ।’ 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राजनीतिक स्थायीत्व, लोकतन्त्र र संविधानको संरक्षण गर्ने उद्देश्यसहित आठदलीय गठबन्धन बनेको बताए। उनले रामचन्द्र पौडेल अभिभावकीय व्यक्तित्व भएको र प्रजातन्त्र, लोकतन्त्र र संविधान निर्माणमा अतुलनीय योगदान रहेकाले उनलाई राष्ट्रपतिमा जिताउनुपर्ने बताए। ‘हामी अहिले दुई तिहाई नजिक छौं, त्यसैले पौडेलजीको जित सुनिश्चित छ,’ उनले भने। 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन राष्ट्रपति निर्वाचन वा मतदानका लागि मात्र नभएको बताए। ‘यो गठबन्धन राजनीतिक निकास, आर्थिक विकाससँगै स्थायीत्वका लागि पनि हो। त्यसैले निकास, विकास र स्थायित्वको पक्षमा उभिदै रामचन्द्रजीलाई मतदान गर्नुस्,’ उनले भने। 

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीबाट सत्तारुढ दलहरुका सबै जनप्रतिनिधिको भोट एकमतका साथ आउने बताए। ‘हामी प्रतिबद्धता व्यक्त गर्दछौं कि यहाँबाट एकमत पनि तलमाथि हुँदैन,’ उनले भने। नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले गण्डकी प्रदेशले प्रधानमन्त्री पाइसकेको र अब राष्ट्रपति पाउनुलाई गौरवको विषय भएको बताए।

प्रकाशित: १९ फाल्गुन २०७९ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App