१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

संसदीय दलको नेतामा निर्वाचित भएपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर: नागरिक

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्।

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो। तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए।

कांग्रेससमेतको समर्थनमा नयाँ सरकारको नेतृत्वको चाहना माओवादी अध्यक्ष दाहालले राखेका छन्। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको हैसियतमा देउवा पनि अब बन्ने नयाँ सरकारको नेतृत्व आफैंले गर्न चाहन्छन्। देउवाले बुधबार आफू संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालसँग देउवाले भेट गरेका हुन्। नेपाललाई भेट्न देउवा अस्पताल पुग्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि त्यहीँ पुगेका थिए। तीन दलका शीर्ष नेताहरूबीच अस्पतालमा भएको भेटमा नयाँ सरकार गठन, सत्ता साझेदारी र शक्ति बाँडफाँटको विषयले पनि प्रवेश पाएको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको समयसीमा १० गते सकिने भएकाले सकेसम्म त्यसअघि नै संघसहित प्रदेश सरकारहरूको नेतृत्व भागबन्डा मिलाउनुपर्ने पक्षमा माओवादी छ। सरकारको नेतृत्वसँगै नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरू पनि बाँडफाँटको पक्षमा माओवादी छ। तर कांग्रेस तत्काल नयाँ सरकारको नेतृत्वसहित मन्त्रिपरिषद् टुंगो लगाएर अन्य विषयमा समझदारी गर्दै जाने पक्षमा देखिएको छ।

पहिलो दुई वर्ष सरकारको नेतृत्व गर्ने र राष्ट्रपति पनि आफ्नै पक्षबाट हुनुपर्ने चाहना कांग्रेसको छ। माओवादी र नेकपा एसलाई उपराष्ट्रपति, सभामुख र केही प्रदेशमा सरकारको नेतृत्व दिएर समझदारी गर्ने रणनीतिमा कांग्रेस छ। तर माओवादी अहिले नै सरकारको नेतृत्व लिने र त्यसो हुन नसके राष्ट्रपति आफूले लिने रणनीतिमा देखिएको छ।

कांग्रेस सत्ता साझेदारीमा लचिलो नदेखिए प्रतिनिधिसभाको दोस्रो ठुलो दल एमालेसँग मिलेर सरकारको नेतृत्व लिने ढोका खुला गर्ने मनस्थितिमा माओवादी छ।

सोही अनुसार माओवादीले एमालेका विभिन्न तहका नेतासँग छलफल जारी राखेको छ। नेकपा एस भने अहिले एमालेसँग सत्ता साझेदारीको पक्षमा छैन। यसले माओवादी केन्द्रमाथि थप दबाब पर्ने देखिएको छ।

सत्ता बाँडफाँटमा माओवादी केन्द्र लचिलो नभए नेकपा एसलाई महत्त्वपूर्ण भूमिका दिने सोचमा देउवा रहेको निकट स्रोतको दाबी छ। माओवादी अध्यक्ष दाहालले अहिले नै प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एकमा दाबी नछाडे पहिलो चरणमा नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर कांग्रेस आफूले राष्ट्रपति लिएर अघि बढ्ने सम्भावना पनि रहेको बताइन्छ।

‘शेरबहादुरजीको अहिलेसम्मको चाहना र तयारी हेर्दा आफैं प्रधानमन्त्री बन्ने छ,’ निकट एक नेताले भने, ‘उहाँको चासो र चिन्ता माओवादी केन्द्रभन्दा माधवजी (माधवकुमार नेपाल) र उहाँको पार्टीको बारेमा छ।’

नयाँ सरकार गठनका विषयमा कांग्रेस नेतृत्वमा रहेको अहिलेको सत्ता गठबन्धनभित्र छलफल र सहमति गरी निष्कर्षमा पुग्ने नेताहरूको तयारी छ।

देउवा कांग्रेस संसदीय दलको नेता

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतसहित दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दलको नेतामा सभापति देउवासँग चुनावी प्रतिस्पर्धा गरेका पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत पाए। प्रतिनिधिसभामा कांग्रेसका ८९ सदस्य छन्।

देउवा २०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता बनेका थिए। मध्यावधि निर्वाचनमा कांग्रेस पराजित भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलको नेता नबन्ने घोषणा गरेका थिए। मध्यावधि निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। त्यस्तो अवस्थामा देउवा सहमतिमा दलको नेता भएका थिए।

त्यसबेला समकक्षी रामचन्द्र पौडेल सभामुख बन्दा देउवाका लागि संसदीय दलको नेता बन्न सहज भएको थियो। २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५८ सालमा सुशील कोइरालालाई संसदीय दलको नेतामा पराजित गरी प्रधानमन्त्री भएका थिए। २०६४ सालमा संविधानसभा सदस्य निर्वाचनपछि संसदीय दलको नेता नबन्दै पुष्पकमल दाहालसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका देउवा २०६५ सालमा भएको संसदीय दलको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजि भएका थिए।

दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० पछि भएको संसदीय दलको निर्वाचनमा सुशील कोइरालासँग पराजित भएका देउवा २०७४ सालको आमनिर्वाचनपछि प्रकाशमान सिंहलाई पराजित गर्दै संसदीय दलको नेता निर्वाचित भएका थिए। त्यसअघि सुशील कोइरालाको निधनपछि भएको संसदीय दलको निर्वाचनमा देउवाले पौडेललाई पराजित गरेका थिए।

अहिले महामन्त्री थापालाई पराजित गर्दै देउवा दलको नेता बनेका हुन्। देउवा पहिलोपटक दलको नेता निर्वाचित हुँदा थापा क्याम्पस तहको राजनीतिमा थिए। अहिले उनै थापा देउवाविरुद्ध नेता शेखर कोइराला, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहितको प्रस्ताव र समर्थनमा प्रतिस्पर्धामा उत्रिएका थिए। देउवालाई नेताहरू पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायतको समर्थन थियो। पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवा फेरि पनि सोही जिम्मेवारी लिने पक्षमा छन्।

प्रकाशित: ७ पुस २०७९ ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App