१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्य

बलात्कार घटना मिलापत्र गराउने पक्राउ

बलात्कार घटनालाई मिलापत्र गर्न दबाब दिँदै कागज गराउनेलाई पक्राउ गरेपछि सार्वजनिक गर्दै। तस्बिरः नागरिक

मोरङ– गत असारमा मोरङको रंगेलीमा एक किशोरीमाथि भएको बलात्कारको घटनालाई मिलापत्र गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराएका समाजका १० जना अगुवा अग्रसर भएका र पछि उनीहरू फरार भएपछि खोजी गरी रंगेली प्रहरीले सात जनालाई पक्राउ गरेकाे हाे।

रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गरी सामसुम पार्ने र लेनदेनमा अपराध सक्न खोज्ने गाउँका १० जना अगुवा व्यक्तिमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको हाे। पक्राउ परेका सातै जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगार्इं, ३३ वर्षीय दिलीप मुर्मु र ३५ वर्षीय सुवास राजवंशीलाई प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले उनीहरूलाई घरैबाट पक्राउ गरी शुक्रबार जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउनका लागि अदालतबाट चार दिनको म्याद थप गरेको छ। 

पीडित बालिकालाई एक लाख ५० हजार रुपैयाँ पीडक पक्षबाट दिलाएर लेनदेनमा घटना टुंग्याउनका लागि मिलापत्र गराउनेमध्ये तीन जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार रहेको र उनीहरूको खोजीका लागि विशेष टोली खटाइएको दाहालले बताए। 

तीन जना मिलेर सामूहिक रुपमा अशक्त १६ वर्षीय बालिकालाई बलात्कार गरेको घटनामा गाउँका अगुवाले एक लाख ५० हजार रुपैयाँ पीडित पक्षलाई दिने शर्तमा मिलापत्र गरी पीडकलाई उन्मुक्ति दिलाउने र घटनालाई सामसुम पार्ने प्रयास गरेको प्रहरीले बताएको छ। प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते मात्रै पक्राउ ग¥यो भने २३ वर्षीय सुनील चौधरी फरार भएका छन्। उनीहरू विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवाको नेतृत्वमा भएको विशेष छलफलमा घटना कहीँ पनि सार्वजनिक नगर्ने शर्तमा असार २६ गते मिलापत्र भएको थियो। भेलामा पीडित पक्षलाई मिल्न दबाब दिँदै मिलापत्र गराएर उपचार खर्च वापत पीडकबाट एक लाख ५० हजार रुपैयाँ दिलाउने उधारो कागज गराइएको थियो। तीनै जनाले साउन ६ गतेभित्रमा पीडित किशोरीलाई ५०–५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ। तर त्यसअघि नै घटना बाहिरिएपछि लेनदेन भने हुन नपाएको र घटनामा संलग्नलाई पक्राउ गरेको प्रहरीले बताएको छ। 

मिलापत्रको कागजमा १० जनाकै हस्ताक्षर छ। कागजमा तीन जना मिलेर बलात्कार गरेको कुरा पनि उल्लेख छ। प्रहरीले पक्राउ नगर्दा भने मिलापत्र गराउनेहरूले उल्टै विभिन्न धाकधम्की दिइरहेको पीडित पक्षको गुनासो छ। 

‘प्रहरीले घटनालाई मिलापत्र गराउनेलाई भने लामो समयसम्म पक्राउ गरेन,’ स्थानीयवासीले भने, ‘प्रहरीले चाहेको भए घटनामा संलग्न भएका र मिलापत्र गराउने सबैलाई पहिले नै पक्राउ गर्न सक्थ्यो। मिलापत्र गराउनेलाई संरक्षण गर्ने भूमिकामा प्रहरीबाट देखिएपछि समस्या भयो।’ 

प्रकाशित: २५ श्रावण २०७६ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App