१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

'सतिसाल' यात्रा

रामेश

यात्रा जरुरी थियो। छोटो समयभित्र पूरा गरिसक्नुपर्र्ने। ९ जनाको समूह। बडाबडा बाकसहरू चढाइयो गाडीमा !  'स्तरीयताका लागि राम्रै क्यामेराको व्यवस्था गरेका छौँ दाइ,' निर्देशक प्रणयले भन्नुभयो। नयाँ बाटो, उत्सुक मन। भकुन्डेबेसी झरेपछि चिनारु रोसीखोला भेटियो। उहिले ओखलढुंगा–काठमान्डु पैदल आउजाउ गर्दा  यसकै किनारका  झुप्राछाप्राहरूतिर बास बस्दै  टिठलाग्दो यात्रा गरेको थिएँ। त्यतिबेला मोटरबाटो बनाउनका लागि पहाडतिर तेर्सो धर्सा तानेको मात्र देखिन्थ्यो। आज तयारी सडकलाइनमा गाडीमा बसेर यात्रा गर्दै थिएँ। माम्ती, नेपालथोक, दुम्जा, झाँगाझोलीलाई  गाडीको ‰यालबाट हेर्दै–छोड्दै जाँदा मन भावुक भयो। कठै!  यिनै बाटा–चौतारा, झुप्राझुप्रीहरूतिर जोर गितारको झन्कारमा गीत सुनाउँदै मञ्जुल र मैले लामो  गीतियात्रा पार गरेका थियौँ। बाटाका दोकान, ससाना चियापसलमा हुलका हुल मान्छे हामीलाई कुरेर बसेका हुन्थे। गीत सुनिसकेपछि आआफ्ना गाउँतिर लिएर जान तँछाडमछाड गर्थेे। तामाङजातिका सोझा स्रोता गीत सुनिसकेपछि भन्थे– गरिबगुरुवा र दीनदुःखीका गीत गाउने देउताका मान्छेहरू...।  'बरु कंगाल र कंकाल भएर बाँच्न किन नपरोस्, मरेर धुलोमाटो  नै हुन किन नपरोस् यी सारा गरिब–दुःखीको आत्मा रुवाउने, यिनलाई धोका दिने कामचैँ नगराँै है। मञ्जुल र म सधैँजसो कुरा गरिरहन्थ्यौँ।

खुर्कोट आइपुग्यो। ठाडो उकालो चढेर उहिले हामी यहीँबाट  रामेछापतिर हान्निन्थ्यौँ। तर, नयाँबाटोबाट गाडीले हामीलाई लालबन्दी पो निकाल्यो। साँझ धरान पुगेर त्यो दिनको यात्रा समाप्त भयो।

यिनै बाटा–चौतारा, झुप्राझुप्रीहरूतिर जोर गितारको झन्कारमा गीत सुनाउँदै मञ्जुल र मैले लामो  गीतियात्रा पार गरेका थियौँ। बाटाका दोकान, ससाना चियापसलमा हुलका हुल मान्छे हामीलाई कुरेर बसेका हुन्थे। गीत सुनिसकेपछि आआफ्ना गाउँतिर लिएर जान तँछाडमछाड गर्थेे। तामाङजातिका सोझा स्रोता गीत सुनिसकेपछि भन्थे– गरिबगुरुवा र दीनदुःखीका गीत गाउने देउताका मान्छेहरू...। 

अनुशीलको संघर्षको पहिलो थलो थियो– धरान। २०५३ सालको जेठ महिनातिर चलचित्र 'बलिदान' को सुटिङ धरानमा चलिरहेको थियो। हामी बसेको होटेलको कोठामा एउटा दुब्लो–पातलो केटो सधैँ दस–एघार बजेको समयमा टुप्लुक्क आइपुग्थ्यो। सुटिङको योजना र अन्य तयारीका कुरा चुपचाप   सुनिरहन्थ्यो। सुटिङस्पटमा पुगेर चलचित्र निर्माणकला गहिरिएर हेरिरहन्थ्यो। अनेकखाले अनुभव र व्यवहारबाट उसले आफूलाई ज्ञानी र अनुभवी बनाइरहेको म चाल पाउथेँ। 'प्रतिपक्ष' साप्ताहिक पत्रिकामा स्तम्भ पनि लेख्दोरहेछ भाइ। अचम्म! त्योबेला म पनि त्यही पत्रिकामा साप्ताहिक स्तम्भ लेख्थेँ। धरानबाट साप्ताहिकरूपमा लेखहरू लेखेर  काठमान्डुमा नियमित पठाइरहेको पनि थिएँ। एकदिन प्रतिपक्ष पत्रिका हातमा लिएर मैले उसको नाम सोधेँ। उसले त्यहाँ आफ्नो नाम  देखायो 'डम्बरकृष्ण श्रेष्ठ'। 'तर तपाईंको नाम त त्यो होइन नि भाइ' मैले भनेँ। अचम्मको भावले मलाई हेर्‍यो उसले। 'अनि के हो त मेरो नाम?' आफ्नो नाम पनि अरुसँग सोध्नुपर्ने कस्तो? हैरान देखिन्थ्यो! थोरै बोल्ने, शिष्ट, विनम्र र  सौहार्द्र। हरेक कुरा जान्नबु‰न खोज्ने जिज्ञासु मन। कामप्रति इमानदार, दुःखकष्टसँग नडराउनेे त्यो किशोर। ऊसँग धेरै नबोले पनि, उसको नाम नसोधे पनि मेरो मनले उसलाई अर्कै नामले चिनेको थियो जुन नाम मलाई पनि थाहा थिएन। उसले आफ्नो नाम सोधेपछि मैले अचानक उत्तर दिएँ 'अनुशील! भाइको नाम अनुशील हैन र!' हाँस्नै मन नगर्ने उसको अनुहारमा मन्द हाँसो छरियो। त्यसपछि हरेकलाई मैले उसको परिचय यसरी दिन थालेँ 'भाइको नाम अनुशील, सानो उमेरदेखि नै पत्रकारितामा ओर्लेका छन्। अहिले  काठमान्डुबाट प्रकाशित हुने प्रतिपक्षमा चलचित्र 'बलिदान'को सुटिङ रिपोर्ट लेखिरहेका छन्।'

२० वर्षको अन्तरालपछि बन्दै थियो एउटा डकुमेन्ट्री फिल्म 'डढेलोभित्रका सतिसाल'।  निर्देशकद्वय थिए प्रणय लिम्बू र उहिलेको त्यै पातलो दुब्लो केटो अनुशील। तर, निकै अनुभवी र परिपक्व।

कस्ता थिए आमजनमानसमा चेतना छर्न धरान, विराटनगर र वरपरका गाउँघरतिर गीत गाउन बराबर पुगिरहने जनताका ती  कलाकारहरू? धरानका साथी बम देवानले यस विषयमा त्यही रात आफ्नो बोली क्यामेराअघि राख्नुभयो। भोलिपल्ट विहान 'सतिसाल सुटिङ युनिट' बडेमाको क्यामेरा लिएर धरानको बसपार्क, घन्टाघरमा अनेक कोणवाट अनेक दृष्य लिन व्यस्त रह्यो। केही समयपछि श्याम तमोट र बम देवानले हाम्रो युनिटलाई उहिलेको त्यही हाम्रो कार्यथलोमा लानुभयो। चतरालाइन, यो त्यही ठाउँ थियो जहाँ बाहिर अरिमको  रेडियो मर्मत दोकानको आवरणमा हामी संकल्प परिवारका कलाकार २०३२ देखि २०३७ सालसम्म पञ्चायती व्यवस्थाविरुद्ध जनतामा चेतना जागृत गर्न धरान, धनकुटा, विराटनगरतिर निकै सक्रिय  थियौँ। अरिमको रेडियो मर्मत दोकानले अर्कै रूप लिएको रहेछ। सानी बैनी विद्या शाक्य सामाजिक संगठन सञ्चालन गर्ने परिपक्व सञ्चालक बनिसकेकी थिइन्। पञ्चायत व्यवस्थ्ााको गिद्धेआँखा छल्दै हामीले गीत रेकडिङ गर्ने  चिउरामील पनि घरैघरले घेरेर ठम्याउनै नसक्ने  भएछ। छेउमै थियो जनता हाइस्कुल। २०१६ सालमा  तेह्रथुम सिंहबाहिनी हाइस्कुलबाट एसएलसीको परीक्षा दिन म यही सेन्टरमा आएको थिएँ। हामीलाई डेरा दिनसम्म पनि तर्सिनुपर्ने पञ्चायती व्यवस्थामा विद्या बैनी र राजु शाक्यका आमा–बुवाले खुसीखुसी हामीलाई बस्न र काम गर्न आफ्नो घरमा ठाउँ दिनुभयो। घरमा बस्नमात्र दिनुभएन हाम्रा गीतका निर्भीक प्रशंसक पनि बन्नुभयो। एकरात जनता हाइस्कुलको चउरमा आयोजना गरिएको गीति कार्यक्रममा दिदी आफू पनि हामीसँग गाउँदै, स्रोतालाई नेतृत्व गर्दै सबैलाई गाउन लगाउनुभयो 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ।' सुटिङको त्यो बिहान दिदी–भिनाजुको सम्झनामा मेरो हृदयले असिम श्रद्धा व्यक्त गरिरह्यो!

श्याम तमोटको रचना र संगीतको गीत 'गाउँगाउँबाट उठ' काठमान्डुबाट गाउन सुरु गरे पनि उहाँसँग मेेरो भेट भएको थिएन। धरानमा २०३२/३३ सालतिर श्यामसँग पहिलो भेट भएको थियो। अहिले सतिसाल सुटिङ युनिटमा हामीसँगै हुनु सुखद संयोग मान्छु।

तमरको पुल तरेर धनकुटा छुँदै तेह्रथुम पुग्दा मलाई कस्तोकस्तो अपरिचितझैँ लाग्यो म्याङलुङ बजार। जहाँ मैले  किशोरावस्थाको उमंगिलो ८ वर्ष बावुको जागिरे छायाँमा बिताएको थिएँ। आगोले भष्म भएको म्याङलुङ बजार सिमेन्टी रूप धारण गरेर उभिएको थियो। मैले मेरा पुराना साथीहरू खोजेँ– जयभगत,  वासुदेव, रामभगत, ओजेन्द्र। कोही थिएनन्, सबै गइसकेछन् मानवचोला छोडेर तर म भने गीतहरूको भाव र भाखाबाट, परिश्रमी गरिब–दुःखीजनका सुखी, समृद्ध र सम्मानित जीवनको कामना गर्दै  रिङ्दै–घुम्दै फेरि यहाँसम्म आइपुगेको थिएँ। रातभर नियास्रो लागिरह्यो। केही महिनाअघि तेह्रथुमको सम्झनामा एउटा गीत लेखेर स्टुडियोमा रेकर्ड गरेको थिएँ 'ए तेह्रथुम, तिम्रो सम्झना सुमधुर...!' आज म त्यही तेह्रथुमको काखमा थिएँ, तर कताकता एक्लैएक्लैजस्तो!  मौसम पनि त्यस्तै अँध्यारो। आकासबाट झरेको पानीसँगै प्रकृति नै रोएजस्तो।

समकालीन साथीहरू खोज्नेक्रममा एउटा उत्साहजनक खबर प्रणयले बिहान ल्याउनुभयो। 'तेह्रथुममा दाइका समकालीन साथी एकजना मात्र जगदीशकुमार श्रेष्ठ भेटियो!' हामी भर्खर युवा उमेर छुनेछुनेबेलाका थियौँ। टन्न कसिलो जिउ थियो जगदीशको। करिब ५० वर्षपछि हामीले हाम्रा हात बलियोसँग मिलायौँ, फोटो पनि खिच्यौँ। झल्याँस्स साथी टेकाङ सम्झेँ मैले। उहाँले सुनाउनुभयो– 'भर्खरै छ–सात महिनाअधि पृथ्वीको बास छोडिसके उनले पनि।' मैले पुराना साथीहरू एकपछि अर्को खोज्न थालेपछि जगदीशले छक्क पर्दै भन्नुभयो– 'अझै पनि सबैलाई सम्भि्करहने सम्झनाशक्ति राम्रो रहेछ तपाईंको।' साँझको भेटघाट सेना र प्रहरी अधिकारीहरूसँग भयो। सौहार्द्र र सहयोगी व्यवहार पायौँ हामीले  ।

घाम झुल्किनुअघि नै प्रहरी क्याम्पको अग्लो घरबाट तीनजुरे पहाडतिर क्यामेरा सोझियो। खुरकुट्टे ओडार पनि पुग्यो क्यामेरा। अरु सट लिने काम सकिएपछि सिंहबाहिनी हाइस्कुल पुग्यो हाम्रो युनिट। 'म यो स्कुलको पहिलो एसएलसी ब्याचको विद्यार्थी हँु। आज धेरै समयपछि आफ्नो स्कुलमा आएको छु।' सरले रेेकर्डबुक पल्टाएर मलाई खोज्नुभयो। 'तपाईंको नाम यही हैन?' खुसी हुँदै सरले हामीलाई स्वागत गर्नुभयो। प्रणयले स्कुल आउनुको उद्देश्य बताएपछि प्रसन्नता व्यक्त गर्दै उहाँ आवश्यक व्यवस्था मिलाउनतिर लाग्नुभयो। कस्तो सुखद आश्चर्य!  सिंहबाहिनीका विद्यार्थी कक्षाकोठामा मसँगै उत्साहपूर्वक गाइरहेका थिए– 'गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ...।'

'कहाँ पुगेको छैन दाइ यो गीत!' प्रणयभाइले आश्चर्य प्रकट गर्नुभयो। अरु गीत पनि मसँग गाए छात्रछात्राले 'लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ...। 'दाइका धेरै बालगीत देशका हरेक स्कुलमा पुगेका छन्। विद्यार्थीले गाइ पनि रहेका छन्, तर उनीहरूलाई थाहा छैन आफ्ना निम्ति कसले यी गीतको रचना गरे! त्यसैले पनि नयाँ पिँढीका लागि  'सतिसाल' डकुमेन्ट्री आवश्यक छ।' अनुशीलले आफ्नो स्वप्नयोजनाको औचित्य बताउनुभयो। निर्देशकहरूको तालिकाअनुसारका दृश्य सबै   लिइसकेपछि हाम्रो टोलीले तेह्रथुम छोड्न लाग्दा एकजना स्थानीय साथी चुक्चुकाए 'रामेशदाइ आउनुभएको तेह्रथुमले थाहा पाएको भए कति खुसी हुन्थ्यो होला। कति कार्यक्रम राखिन्थे होला। यहाँका जनताले पनि दाइसँग भेट्थे, गीतहरू  सुन्न पाउँथे होलान्! दाइ, यो डकुमेन्ट्री बनिसकेपछि तेह्रथुममा पनि आइपुग्छ होला त?'

रिजर्भ माइक्रोबस बेगवान गतिले धरान पुगेपछि कटारीतिर सोझियो। रातको अन्धकारमा थेचारिँदै, पछारिँदै एउटा होटेलमा पुग्यौँ। आहा! बिहान झलमल्ल देखियो कटारीबजार। पहिलाको झुप्रे कटारी अहिले सिमेन्टी लाएर सहरिया बनेको छ। २०३७ सालतिर यै  झुप्रे कटारीको बीच सडकको धुलेमञ्चमा एकरात गीत गाउँदै थियौँ। गाउँदागाउँदै स्टिलको भाँडा बेचेर जहान बालबच्चा पाल्दै गरेका एकजना दाइले पसलबाट केही थालबटुको ल्याएर गीत गाउँदै गरेका हाम्रो अगाडि राख्दै भन्नुभयो– 'गीत सुन्दासुन्दै के दिउँ्क के दिउँ्क लागेर आयो भाइ हो, अरु दिन मसँग क्यै छैन। मैले दिनसक्ने यै भाँडामात्र हो। नाइँ नभन्नु होला। नलिए मलाई मारेसरह...!' हामी सबैलाई अति नै भावुक बनायो दाइको व्यवहारले। आफै त त्यस्तो दुःखमा, उल्टो हामीलाई सहयोग गर्न कस्सिन्थ्यो उहाँको फराकिलो मन!

कस्सिएर हिँड्दा दुई दिन लाग्ने बाटो तीन–चार घन्टामै पार हुने समय पनि आयो। बेलाबेलामा कटारी–ओखलढुंगाको सकस यात्रा भोग्नेमध्ये म पनि एक पीडितयात्री थिएँ। परिवर्तनको यो रूपले मनमा अलिकति खुसी दियो। लौ ओखलढुंगा डाँडा पनि देखियो! वारी लग्लगे डाँडाबाट ओखलढुंगाका लोभलाग्दा पहाडी दृश्य निर्देशकको सल्लाहमा क्यामेरा सञ्चालक बाबुले क्यामेरामा भर्न सुरु गर्नुभो। कुहिरो उडेको देखिनुपर्ने एउटा दृश्य थियो। अनेक जुक्ति लगाउँदै, निकै धैर्य गरेर आखिरमा त्यो दृश्य क्यामेराभित्र घुसाएरै छाडे निर्देशक र क्यामेराचालकले।

सुटिङयुनिटका सबै भाइहरू मेरो घर शीतलपुर गाउँ पुगे। घर  भुइँचालोले चर्काएको र भत्काएको थियो। काठ र ढुंगा जताततै थुप्रिएका, छरिएका। उजाड घर र बिनासका उराठलाग्दा कारुणिक दृश्य। ती सबै क्यामेरामा अंकित गरेर राख्न निर्देशकहरू व्यस्त भइरहे। ३५ वर्षपछि घर पुगेको म ओखलढुंगाको रूप र नक्सा देखेर टोलाइरहेको थिएँ। वनजंगल बाक्लै देखिए गाउँ–बजार सबैतिर। न्याउली र कोइलीका स्वरले वातावरण विरहमा डुबैझैँ लाग्थ्यो। बुवाको जागिरे रवाफपछिको खस्कँदो रिटायर्ड जीवन। परिवारभित्र पसेको दुःखका ती दिन, समय र घटनामा मेरो मन कताकता हराइरहेको थियो। घरछेउको समीको रुखमुनि एकछिन चुपचाप बसिरहेँ। उहिले घरमा हुँदा मैले जानीनजानी घरपछाडि ढुंगाको गारो लाएको थिएँ। हेर्न गएँ, लेउ लागेको पुरानो भएछ। ठूलो क्यामेरासँगै अनुशील सानो मोबाइल क्यामेराबाट पनि एकनासले फोटो लिइराखेको देखिन्थ्यो। म सपनामा जस्तै थिएँ। भ्रमजस्तो यथार्थलाई चुपचाप हेरिरहेको थिएँ। भतिज प्रकाशले बनाउन थालेको सानो भूकम्पप्रतिरोधी घर हेर्दाहेर्दै साँझ खसिहाल्यो। फर्किए साथीभाइहरू भुइँचालोले लथालिंग पारेकोे घरबास हेरेर।

सिद्धिचरणको सालिक, ओखल आकारको ढुंगा, बजारका दृश्य क्यामेरामा बन्द भयो। चाहिने अरु सामग्री रमाइलो डँाडाबाट क्यामेरामा तानेपछि हाम्रो माइक्रोबस हुइँकियो पाल्पातिर। मैले बसको ‰यालबाट हतारहतार रमाइलो रुम्जाटार साथीभाइहरूलाई देखाएँ। पञ्चायतका प्रमुख जिल्ला अधिकारीले रुम्जाटारमा हाम्रो गीति कार्यक्रम रोक्न खोज्दा गुरुङ बाआमा र युवा साथीले देखाएको साहसका घटना सुनाएँ। रातभरि गीत सुनिसकेपछि झोला र गितार बोकेर विदा हुन लाग्दा गुरुङसेनी आमाहरू आएर भन्नुभयो– 'केही परे भन् बाबु, यति राम्रो गीत गाउने छोराहरूलाई केही गर्न खोजे पिटेर पठाउँछौँ। छिरिक्क छिर्न दिन्नम् हाम्रो टारमा। पछिपछि पनि गीत गाउन आइज है।' चारखुछेउसम्म केही दिदी–बहिनी हामीलाई पुर्‍याउन आउनुभएको थियो।

बुटवलमा बास बसेर बिहान तानसेन पाल्पा पुग्यो हाम्रो टोली। तानसेनका सुन्दर दृश्यहरू डकुमेन्ट्रीमा समावेश गर्न सुटिङ युनिट एकछिन नबसी व्यस्त भइहाल्यो। श्रीनगर डाँडाबाट क्यामेरा सोझियो तल तानसेन बजारतिर। प्रणय र अनुशील क्यामेरा सञ्चालक बाबुसँग सल्लाह गरीगरी घरको छतसम्म पुग्दै  आवश्यक दृश्य लिन व्यस्त भइरहे। अन्त्यमा मेरो जन्मघरमा पुगेर क्यामेरा फैलाइयो। भाउजु सिकिस्त अवस्थामा हुनुभएकोले कृष्णदेव शर्मा दाइले खुलेर समय दिन सक्नुभएन। मिलेजति सट लिएपछि क्यामेरा प्याकअप भयो।

बसमा यात्रा गरिरहँदा सोचिरहेको थिएँ 'यति थोरै दिनमा हामी कति टाढाटाढाका ठाउँ पुगेर फर्कियौँ! पोखराको बाटो भएर राति दुई बजे उत्रँदा मैलो फोहोरी देखियो काठमान्डु! जहाँतहीँ भत्केकाबिग्रेका सडक। जतासुकै खाल्डाखोबिल्टा। पानी जमेका, पिच भत्केका सडक। के गर्नु यही र यस्तै छ देशको अहिलेको रूप!

प्रकाशित: ६ कार्तिक २०७३ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App