४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

मतदानको मनोविज्ञान

‘द ग्रेट फ्लुड’ शीर्षकमा जोन डिजायर कोर्टले सन् १८२६ मा एउटा मोहक चित्र बनाए। फ्रान्सको प्रख्यात पेरिस सलोनमा प्रदर्शनी हुन पाउनु त्यो बेला ठूलो सौभाग्य हुने गर्थ्यो। ४ नोभेम्बर १८२७ मा जब यो प्रदर्शन गरियो, धेरैले सराहना गरे र जोनले एक प्रख्यात चित्रकारको परिचय स्थापित गरे।

यस चित्रले बाइबलमा वर्णित एउटा घटनालाई व्यक्त गरेको छ। जहाँ यहुदीहरूका अगुवा नोहले पृथ्वीमा बाढी आउने र सारा संसार डुबाउने सुनाउँदै हिँड्छ तर उसको भविष्यवाणी कसैले पत्याउँदैन। यसपछि उसले अरू नबचे पनि आफू बच्नुपर्छ भनेर एउटा वृहद् पानीजहाज बनायो। उसको पानीजहाजमा केही सीमित व्यक्तिहरू मात्र छिरे। बढी त नोहले पशुपक्षी नै त्यो विशाल नाउमा छिरायो।

जब बाढीले सारा कुरा डुबाउन थाल्यो, बाढीको भविष्यवाणी नपत्याउनेहरूले के गरे भन्नेबारेमा यो चित्र बोल्छ। विशाल बाढीका कारण सारा गाउँ डुब्यो, धेरैको ज्यान गयो। केही सीमित मानिसहरू बाँचे। कसले कसलाई बचाउने दोधारमा परे मानिस। यहाँ प्रस्तुत चित्रमा एउटा पुरुषले एक जना वृद्ध व्यक्तिलाई तानेर बचाउन खोजिरहेको देखिन्छ। उसले यस संकटपूर्ण घडीमा पत्नी बचाउन कुनै प्रयत्न गरेको छैन, न त उसले आफ्नो बालख सन्तानलाई नै समाउने प्रयास गरिरहेको छ। उसले त वृद्ध पितालाई जोगाउन खोजिरहेको छ।

यस चित्रमार्फत चित्रकार जोनले सङ्कटपूर्ण घडीमा मान्छेमा उत्पन्न हुने एउटा संवेगको सत्य उजागर गरेका छन्। मान्छे जहिल्यै संकटका बेला अतितमुखी हुने गर्छ। ऊ जतिसुकै बलवान्, शक्तिमान् भए पनि एउटा खास समयमा यति कमजोर महसुस गर्छ कि उसलाई लाग्छ, मलाई बचाउनेचाहिँ अनुभवी मान्छे नै हो। मलाई संकट पर्दा न त पत्नीले जोगाउँछे न त कलिलो बालकले भन्ने मानसिकताका कारण उसले कुनै समयको हट्टाकट्टा तर अहिले जीर्णशीर्ण व्यक्तिलाई बचाउन खोज्छ। अनुभवले खारिएको बाउले जसरी बालापनमा जोगाउँदै यत्रो बनायो, जसरी उसले सारा अप्ठेराका बाबजुद रक्षा गर्‍यो, उसैगरी अब पनि जोगाउने छ भन्ने मानसिकताका कारण उसले सन्तान र पत्नी छान्नुभन्दा पिता रोज्ने गर्छ भन्ने मनोविज्ञानलाई यस चित्रले अभिव्यक्त गर्न खोजेको छ।

तर उसले के बुझ्दैन भने, जब बाढी रोकिन्छ-त्यो बेला उसको बाउको बुद्धिमता होइन, काँधमा काँध मिलाउने बलियो हमसफर चाहिन्छ। संकट टर्नेबित्तिकै निकट भविष्यमा उसलाई न त पुरानो विचार चाहिन्छ, न त आफूले थेग्नै नसक्ने भविष्य। उसलाई त सहयात्री चाहिन्छ, जसले ढुंगालाई माटोको भर र माटोलाई ढुंगाको भर होस्।

हामीले गएका केही वर्षमा जनयुद्ध, राजतन्त्र उन्मूलन र गणतन्त्रको आधारशीला बनायौं। यत्तिका वर्षहरूमा हामीले जे जस्ता राजनीतिक आँधिबेहरी र बाढी बेहोर्‍यौं, त्यसबाट पाठ सिक्दै पुराना, गएगुज्रेका सोच, म्याद सक्किएका विचार र वृद्धहरू बोक्नुपर्छ भन्ने छैन तर पनि हामीमा रहेको एक किसिमको मनोविज्ञान र डरलाई भजाउँदै पुनः त्यस्तै व्यक्तिहरूलाई छनोट त गर्न गइरहेका छैनौं भन्ने डर पनि उत्तिकै छ।

प्रायः संकटपूर्ण समयमा मानिसले गर्ने गल्ती त्यही हो। हरेक पटकको चुनावमा एउटा सामान्य मतदाताले आफ्नो मतको सदुपयोग नहुने हो कि भन्ने डरले अनुभवी, वृद्ध र असक्तहरूलाई नै मत दिने गर्छ। उसले नयाँ विचार, नयाँ सोचमा लगानी गर्नु समयको बर्बादी ठान्छ।

अर्कोतर्फ मतदानका बेला ब्रान्डिङको भूमिका पनि उत्तिकै हुन्छ। यसअघि उसले जुन पार्टी वा व्यक्तिलाई मत दिइरहेको हुन्छ, उसले यस पटक सोही कुरा दोहोर्‍याउन ऊ अवचेतन रूपमा बाध्य हुने गर्छ। त्यसैले अधिकांश अवस्थामा उम्मेदवारमाथि विश्वास नभए पनि पहिले दिइआएको चुनाव चिह्नमा ऊ स्वस्तिक छाप हानेर फर्कन्छ। कतिपय अवस्थामा यस्तो गर्नु गल्ती हो भन्ने थाहा भइकन पनि मतदाताले बाध्य भएर पुरानैलाई मत दिने गर्छ।

भनिन्छ, मतदान आफ्नो भाग्य बदल्ने अवसर हो। तर आफ्नो मतलाई एउटा व्यक्तिले यति कमजोर आँक्छ कि त्यसैले जो जित्ने सम्भावना छ भन्ने लाग्छ, उसैलाई मत हाल्छ। भलै त्यो उम्मेद्वार रत्तिभर गतिलो छैन भन्ने कुरामा ऊ विश्वस्त किन नहोस्। यस किसिमको गल्तीलाई मनोविज्ञानमा ‘युधिष्ठिर गल्ती’ भनिन्छ।

महाभारतको जुवा प्रसंग तपाईं हामी सबैलाई थाहै छ। जब इन्द्रप्रस्थ पुगेर दुर्योधन फर्किन्छ, त्यहाँको वैभवबाट ऊ भुतुक्क हुन्छ। ईष्र्याले उसको हृदय भरिन्छ। त्यसमाथि द्रौपदीको कुवचन-‘अन्धाको छोरो अन्धो नै रैछ’ भन्ने मर्मभेदी अपमानले त ऊ झनै खङ्ग्रङ्ग हुनपुग्छ। त्यसको बदला लिन दुर्योधनले मामा शकुनीसँग सल्लाह लिन्छ र शकुनीले द्युतक्रिडा (जुवा) का लागि युधिष्ठिरलाई हस्तिनापुर निमन्त्रणा गर्न सुझाव दिन्छ। तर दुर्योधनले निमन्त्रणा गर्नेबित्तिकै युधिष्ठिर आउने कुरा थिएन। त्यसैले बाध्य बनाउनका लागि धृतराष्ट्रमार्फत निमन्त्रणा पठाइन्छ। महाराज धृतराष्ट्रबाट निमन्त्रणा पाएपछि नआउने कुरा पनि भएन। द्युतक्रिडा (जुवा) युधिष्ठिरको सबैभन्दा ठूलो कमजोरी थियो।

जहिले पनि शासकहरूले सर्वसाधारणको कमजोरीमाथि खेल्छन्। जसले मानिसको मनसँग खेलेर सर्वसाधारणको मनोविज्ञानमाथि नियन्त्रण जमाउँछन्, तिनैले जित आफ्नो पक्षमा पार्छन्। युधिष्ठिरलाई जुवा खेल्ने निमन्त्रणामा कुटिल चाल छ भन्ने थाहा थियो तर जुवा नामक कमजोरीका कारण उनी लठ्ठ हुँदै हस्तिनापुर पुगे।

जब जुवा सुरु भयो, कुन बेलादेखि हार्न थालें भन्ने युधिष्ठिरले भेउ पाउन छाडे। अब अर्को दाउ पो हात पार्ला कि भन्ने अपेक्षामा सारा देश र भाइहरू मात्र होइन, पत्नी पनि हारे। यही जुवाडे मानसिकतालाई ‘युधिष्ठिर गल्ती’का रूपमा चिनिन्छ।

यतिबेला तपाईंले चुनावी घोषणापत्र र ‘ठूला’ नेताहरूको भाषण सुन्नुभयो भने त्यही मनोविज्ञानमाथि खेलेको प्रस्ट हुन सकिन्छ। एउटा समूहले आफूले नजिते देश अस्थिरतातर्फ धकेलिने बताइरहेको छ, अर्को समूहले देश विकासमा पछि पर्ने सुनाइरहेको छ।

अन्य देशमा चुनावलाई देशको गति र मति सच्याउने महायात्राका रूपमा लिइन्छ। नेपालमा भने गल्ती सच्याउने होइन कि दोहोर्‍याउने उत्सवका रूपमा हरेक पाँच वर्षमा आयोजन हुने गरेको छ। अहिले प्रस्ट रूपमा दलहरू दुई भागमा विभक्त छन्, एमाले र राप्रपा अनि कांग्रेस र माओवादी लगायत अन्य। सबैलाई थाहा छ, यी दुई गठबन्धनबीच न त विचार मिल्छ, न त नीति। मात्र आफूहरूबीचको अलोकप्रियतालाई ढाकछोप गर्न एउटा नक्कली ‘डर’ पैदा गर्दै त्यसैलाई भजाउन चुनावमा पुगेका छन्। दुर्भाग्यको कुरा, यी दुईलाई टक्कर दिने न त कुनै समूह जन्मिन सकेको छ न त व्यक्ति नै।

गत वर्ष असोजमा जर्मनीको तल्लो सदन ‘बुन्डेस्टाग’को चुनाव हुनै लाग्दा सबैलाई प्रस्ट थियो-कसैको पनि बहुमत आउने छैन। यस्तोमा उनीहरूले विचार नमिल्नेहरूबीच गठबन्धन गरेनन्। बरु कमजोरहरू पनि हार्ने अवस्था देखिदा–देखिदै पनि चुनावमा गए। जब चुनावी मत परिणाम आयो, आफ्नो नीति तथा कार्यक्रममा जो सहमत हुन्छ, उसैसँग सरकारमा सामेल हुने रणनीति बनाए। कतिपय पार्टी त सिद्धान्त नमिल्ने पार्टीहरूसँग मिल्दै नमिल्ने भनेर सरकारमा जान अनिच्छुक देखिए।

यस किसिमको परिपक्वता र नीतिपूर्ण शासनको हामी नेपालमा कल्पना पनि गर्न सक्तैनौं।

जबसम्म आफ्नो सिद्धान्त, विश्वास र कामसँग मेल नखाने उम्मेदवारलाई अमूल्य मत खेर फाल्दिनँ भन्ने चेत सर्वसाधारणमा आउँदैन, हामीले ‘फलानोलाई जिताएर देशमा केही परिवर्तन आएन’ भन्ने नैतिकता गुमाउँछौं।

त्यसैले यो बबण्डर, आँधिहुरी र बाढीको अवस्थामा माथि चित्रकलाको उदाहरणमा भनिएजस्तो एउटा वृद्ध, बासी विचार र आफैंलाई भार बनिरहेको विरासत छान्ने कि सशक्त नयाँ पुस्ता? के हामी ‘युधिष्ठिर गल्ती’बाट जोगिन सकौंला? यस पटकको चुनावले हामीलाई मिथकले सुझाएका गुत्थीतर्फ फर्कन प्रेरित गरिरहेको पो छ कि!

प्रकाशित: २३ कार्तिक २०७९ २३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App