१२ असार २०८१ बुधबार
image/svg+xml
विचार

यसपटक पनि वञ्चित भएँ

नेपाली कांग्रेसका नेता प्रखर वक्ता मनमोहन भट्टराई तत्कालीन राविसे (राष्ट्रिय विकास सेवा) अन्तर्गत, २०३४ सालताका दुर्गम जिल्ला बझाङ पुगे। बझाङ जिल्लाको अत्यन्त दुर्गम क्षेत्र तत्कालीन काँडा गाउँ पञ्चायतका मानिसहरूको आर्थिक सामाजिक अवस्थाको अध्ययन गर्न त्यहाँ गएका रहेछन्। सदरमुकामबाट ५ दिनको पैदल यात्रामा पुगिने जिल्लाभरिकै दुर्गम गाउँ पुग्दा उनी आश्चर्यमा परेछन्। गरिबीको रेखामुनि रहेका त्यस ठाउँका मानिसले ६ महिना पनि भरपेट खान पाउँदैनन्। भोकमरिका कारण, सुत्केरी हुन नसक्दाका कारण यातायातका अभावका कारण, सेती नदीमा झोलुंगे पुल नहुँदाका कारण र औषधीको अभावका कारण वर्षेनी अकालमा मानिसको ज्यान गएको देखेर भट्टराईले समस्याको पोको राजधानी ल्याए। एक वडाबाट अर्काे वडासम्म पुग्न त्यस ठाउँमा अहिले पनि पूरै दिन लाग्छ। भीरको बाटो छ, बीचमा सेती नदी बगेको छ। धुली, न्युना, बलौडी, ज्याती, काँडा यस ठाउँका अन्तिम गाउँहरू हुन्। त्यहाँबाट तिब्बतको ताक्लाकोट ३ दिनमा पुगिन्छ। पंक्तिकारको छिमेकी गाउँपालिका हो।  

जनताको दर्दनाक अवस्था देखेर नेता भट्टराईले जिल्लाको समग्र विकासका लागि र उत्तरका बासिन्दाको आर्थिक उन्नति र विकासका लागि त्यहीं कै मानिसले जनप्रतिनिधि भएर काम गर्नु पर्छ। यसो भएन भने देशमा गणतन्त्र लागु गरेको कुनै अर्थ लाग्दैन भनेर बढो सूक्ष्म ढंगले विश्लेषण गरेको हिजोजस्तै लाग्छ।  

यो प्रसङग हो २०५५ साल फागुन महिनाको। त्यसपछि चारपटकसम्म राष्ट्रिय चुनाव पनि सम्पन्न भए। राज्यको शासन शैलीको ढाँचा बदलियो। संविधान जारी भएपछि पनि २०७४ सालको चुनावको कार्यकाल पूरा भएर आगामी मंसिर ४ गते सम्पन्न गरिने राष्ट्रिय चुनावका लागि अहिले राष्ट्र, जनता र उम्मेदवारहरू मैदानी प्रतिस्पर्धामा देखा परिसकेका छन् । तर बझाङलगायतका दुर्गम जिल्लाका बस्तीका नागरिकले अरूले झैं परिवर्तनको परिणाम पाइसकेका छैनन्। आफ्नो दुःख बुझ्ने प्रतिनिधि नपाउँदा सदैव गुनासो चुनावताका गरिरहन्छन्।  

सुदूरपश्चिमका अन्य ८ जिल्ला नेपाली कांग्रेस पार्टीका उर्वर भूमि पनि हुन्। तर यो पार्टीको धरातल २०६४ सालको चुनावयता खस्कँदै गइराखेको छ। यसका पछाडि धेरै कारणहरू छन्। जसमध्ये हेरक जिल्लामा नेकपा एमालेले झंै उम्मेदवार फेरबदल नगरिनु पनि नेपाली कांग्रेसले हार व्यहोर्नु एउटा प्रमुख कारण हो। जनता व्यवस्था मात्र परिवर्तन भएको हेर्न चाहँदैनन्, उम्मेदवार फेरिएको पनि देख्न चाहन्छन्। यो तर्क दिवंगत नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको पनि हो।  

अब मेरो प्रसङ्ग अगाडि बढाउँछु। सुदूरपश्चिम र कर्णाली प्रदेशका लोकगीत र देउडा संस्कृतिको बलियो र भरपर्दाे खम्बाका रूपमा लाखौं मानिसले मलाई सम्मान गर्ने गर्दछन्। यसो हुनुका पछाडि २०३४ सालदेखि गायनका माध्यमले र त्यहाँको मौलिक संस्कृतिलाई जतनले राजधानीसम्म पुर्‍याई व्यापक रूपमा प्रचारप्रसार गरेका परिणामले पनि हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा सांस्कृतिक क्रान्ति नै गरेका कारणले लाखौं संस्कृतिप्रेमीले र राज्यले ममाथि अटुट माया दिलाएका हुन्। यो गुण कदापि बिर्सन सक्दिनँ। नेपाली कांग्रेस पार्टीका शीर्षस्थ नेताहरूले केबल गायक र संस्कृति कर्मीका रूपमा मात्र हेरिनु अन्याय भएको छ, सीमान्तकृत लोकतन्त्रवादी परिवर्तनकामी जनताको हितविपरीतको कार्य भइरहेको छ। मूलतः पंक्तिकार राजनीतिक पृष्ठभूमिको गणतन्त्रवादी नागरिक हुँ। देशमा परिवर्तनकै लागि २०३४ साल मंसिर, २०३५÷३६ सालको विद्यार्थी आन्दोलन, २०३९ सालको सडक सफाइ अभियान, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा गरी दुई वर्ष राजधानीका विभिन्न कारागारहरूमा थुनिएको छु। २०६२÷६३ को जनआन्दोलनमा चार महिना जेल जीवन बिताएको छु र १७ पटक हिरासतमा परेको छु। तर आन्दोलनका क्रममा र कारागारमा थुनिँदा पनि देउडा गीत र संस्कृतिलाई छोडिनँ। झ्याम्म झ्याम्म देउडा गीत गाई नै रहें। जुन आजका नेताहरूले गायकका रूपमा मात्र हेरे। गीत गाउनु र संस्कृति बचाउनुलाई नेका नेताहरूले मेरो कमजोरी सम्झे, जुन उहाँहरूको भुल हो। नेका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले सुम्निमा, मोदी आइन्, दोषी चस्मा, हिटलर र यहुदीजस्ता अमर कृति जन्माउनु गल्ती थियो र? २०३७ साल वैशाख २० गते सम्पन्न जनमत संग्रह अघि बहुदलको प्रचारका लागि होस् या २०६२÷६३ सालको जनआन्दोलन सफल पार्न होस्, देशभरका ३८ जिल्लामा सम्पन्न गरिएका प्रतिगमन कदमका विरुद्धका सभाहरूमा ज्यान जोखिममा पारी देउडा गीत गाएको थिएँ। कृष्ण पहाडी, श्याम श्रेष्ठ, डा. देवेन्द्रराज पाण्डेलगायतका साथीहरू मेरा अघिपछि थिए। यसै गरी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग २०६३÷६४ ताका सुदूरपश्चिमका ९ वटै जिल्लाहरूमा पार्टीले आयोजना गरेका विशाल सभा र चुनावी सभाहरूमा पंक्तिकारले सम्बोधन गरेका भाषा र गाएका गीतहरूले जनमत एकत्रित गरेको इतिहास हिजोजस्तै लाग्छ।  

२०६१ माघ १९ गते तत्कालीन राजाले प्रतिगमन कदम लागु गर्दा यसको विरोधमा उत्रिएको पंक्तिकारलाई धम्की दिएर प्रहरीले काठमाडौंस्थित मेरो घर घेराउ पनि गरेका थिए। यी कुराहरू नेका नेताहरूले सायद भुल्नुभयो होला।  

२०५६, २०६४, २०७० र २०७४ सालमा जिल्लाबाट सिफारिस भएर नाम पठाउँदा नेतृत्व पंक्तिले ममाथि गरेको अन्यायलाई सामान्य रूपमा लिएको छैन। आँखाबाट आँसु खसाल्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको रक्षार्थ सुदूरपश्चिमको गाउँगाउँ बस्तीबस्तीमा पुगें। चारतारे झन्डा झुक्न दिइनँ। हजारौं मानिसहरूलाई रुख चिन्हमा छाप लगाउन लगाएँ। ती तस्बिरहरू आँखाअघि नाचिरहेछन्। पंक्तिकारमाथि मात्र होइन, दूरदराजका जनताको भावनामाथि सोह्रै आना अन्याय भएको छ। नेपाली कांग्रेसको कुन अदालतमा यसको सुनुवाई होला? पर्खेर बसेको छु। २०४७ सातताका तत्कालीन राजा वीरेन्द्रले सर्वाेच्च कमान्डर गणेशमान सिंहलाई प्रधानमन्त्री बनिदिनुस् भनी आग्रह गर्दा ठाडै अस्वीकार गर्ने वीर पुरुषको पार्टीको इमान्दार कार्यकर्ता हुँ म। धैर्यता अझै साँचेर राखेको छु। पार्टीले टिकट दिएका उम्मेदवारहरूविरुद्ध केही जिल्लामा बागी उम्मेदवार उठेर प्राप्त लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही व्यक्तिले स्वेच्छाचारी राजनीति गरी जनतालाई झुक्याउने कोसिस गर्दै छन्। यो उहाँहरूको सरासर भुल कार्य हो, पार्टीको हित विपरीत कर्म हो। पंक्तिकारको यस कार्यमा विमति छ। पार्टी गंगा हो बगिरहन्छ। स्वतन्त्र उम्मेदवार भदौरे भेल हुन्। हिउँद लाग्दै छ सुकेर जाने छन्।  

अब संक्षिप्त कुरा गरौं प्रधानमन्त्री निवास बालुवाटारको। २०७४ सालको राष्ट्रिय चुनाव सम्पन्न गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा नै सत्तामा हुनुहुन्थ्यो। टिकट माग्नका लागि देशभरबाट कांग्रेसी जनको जमघट त्यस बेला पनि बाक्लो थियो। त्यस बेला प्रधानमन्त्री निवास पुरानै भवनमा थियो। प्रधानमन्त्रीलाई भेट गर्न अहिलेको जस्तो ७ ठाउँमा स्पष्टीकरण दिनुपरेको थिएन। अलि सहज थियो। तर यसपटक प्रधानमन्त्रीलाई भेट गर्न निकै मुस्किल पर्‍यो। धन्य हो, स्वकीय सचिव भानु देउवा रातदिन खटिरहेका देखिन्थे। उनलाई भेट गर्न पनि मुस्किल थियो। अरू ६ जना सचिव पनि चियाको भरमा दिनभर सेवा दिइरहेका थिए। सुरक्षाकर्मीहरूको निगरानी कडा देखिन्थ्यो। तर बढ्दो भिडका कारण बालुवाटार प्रशासन अस्तव्यस्त देखिन्थ्यो। त्यसको प्रमुख कारण दिनहुँको गठबन्धनको बैठक थियो। दोस्रो कारण टिकटका आकांक्षी गत सालभन्दा चौबर बढी देखिन्थे। बालुवाटारमा दिनहुँ गठबन्धन र टिकटको दाबी गर्नेको उपस्थिति पशुपतिनाथ मन्दिरमा लाग्ने बाला चतुर्दशीको मेलाजस्तै देखिन्थ्यो।  

भदौ २४ गतेदेखि असोज १५ गतेसम्म मैले ४ पटक प्रधानमन्त्री देउवालाई भेट गर्ने अवसर पाएँ। मलाई देख्ने बित्तिकै ४ पटक नै उत्साहित हुँदै प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपार्इं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो भन्नुभयो। यसैबीचमा कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रत्युत्तरमा पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले जोशीमाथि न्याय हुने छ भन्नुभयो। आश्वासन पाएर ढुक्क हुँदै म बाहिर निस्कें।  

राजधानीमा बडा दसैंको रमाइलो थियो। गतसाल कोरोनाका भयले मानिसहरू शक्तिपीठ र मान्यजनकहाँ पुग्न नसकेको अवस्था थियो। यसपटक सहज थियो। तर पोहोर सालझंै यसपटक पनि झरीले दुःख दिइरहेको थियो। राजनीतिक कर्मीहरू भिज्दै ओत लाग्दै बालुवाटारको टिकटको भीडमा मिसिँदै थिएँ। म पनि त्यो भीडमा दिनहुँ सामेल थिएँ। समाचारमा काली कर्णीमा बाढी पहिरोका कारण ठुलो मात्रामा जनधनको नोक्सानी पुर्‍याएको खबर सुनेर मन पिरले पोल्थ्यो। यता टिकटमा प्रधानमन्त्री देउवाबाहेक टिकट पाउने व्यक्तिको नाममा टिपेक्स लगाएर राजनैतिक उपबुजु्रकहरूले देउवाको आँखा छल्छन् कि भन्ने पिर पनि पलाउँथ्यो। किनकि नातागोताबाहेक बोर्डमा बसेकाले कार्यकर्ताको त्याग, योगदान, इमान्दारितामाथि धावा गरेर आफ्नालाई टिकट दिलाउने कांग्रेस पार्टीको पुरानै रोग हो भन्ने बुझ्न् मलाई गाह्रो थिएन। अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ। यो त नबुझ्ने कुरा भएन। तैपनि कांग्रेसका पुरानादेखि नयाँ नेता कार्यकर्ताले पंक्तिकारलाई अग्रिम बधाई दिईरहेका थिए। लेखनाथ न्यौपाने, शुक्रराज शर्मा, आनन्द ढुंगाना, बलदेव बोहरा, राजेन्द्र बुर्लाकोटी, नवराज गुरुङ, अनार बस्नेत र ऊर्जामन्त्री पम्फा भुसालसमेतले पंक्तिकारलाई अग्रिम बधाई दिएको सम्झिरहेको छु।  

गत असोज २०, २१ र २२ गते घनघोर पानी पर्‍यो। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पूरै जनमग्न भयो। कर्णालीमा ३३ जनाको अकालमा ज्यान गयो। प्रधानमन्त्रीबाट आश्वासन पाएको कार्यकर्ताले यसपटक पनि टिकट पाउनबाट वञ्चित हुनुपर्‍यो। पीडाको पसिनाले बर्खामासको जुरेली चरी भिजेझैं भएँ। धराधाममा घनघोर पानी परेझैं आँखाबाट पनि रोक्न नसकिने गरी अनायासै आँसुका धारा बगे। भुइँ अध्यारो देखेँ। विकासबाट धेरै पिछडिएको दुर्गम बस्ती र त्यहाँ बसोबास गर्ने निमुखा दाजुभाइलाई सम्झेँ। साढे बाह्र बजे राति वितरण गरिएको प्रान्तको टिकट मेरो नाममा नपाउँदा म केही विचलित पनि भएँ। यो मेरो प्रान्तको टिकटको माग थियो। साथै यो मेरो चारऔँ पटकको टिकटको वञ्चित जिन्दगी हो। २०६४ सालमा समानुपातिक लिस्टमा पनि यस्तै अन्यायमा परेको थिएँ।  

जन्मभूमिको सेवा गर्नेसम्बन्धी अभिभाराबाट म वञ्चित भएँ। जिन्दगी सामान्य रूपमा बिताएकै छु। तर, गाउँका मानिसका लागि सेवा कसरी गर्न सकिएला। पाँच वर्षपछि अझ बुढो हुने छु। चाहना पूरा गर्न गाह्रो पर्ने छ। विकासका सम्भावना धेरै बोकेको ठाउँ हो मलाई जन्माउने भूमि। तर के गर्ने? यसबारे कसैलाई दोष दिन्नँ। मेरो भाग्य यस्तै रहेछ। सेती नदीमाथि पक्की पुल निर्माण गरी बझाङका उत्तरी क्षेत्रका नागरिकका साथै धुली धलौनबासीलाई सुख दिँदै तिब्बतसम्म मोटर बाटो निर्माण गर्ने सपना अधुरै रह्यो।

गायिका देविका बन्दनाले गाएको गीत सम्झेँ– ‘हार्नेको आँसु, आँसु, जित्नेको हाँसो तर छैन केही हजुरलाई गुनासो।’

प्रकाशित: ५ कार्तिक २०७९ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App