८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

देखावटी र देखासिकी

अरूले गरेको देखेर वा हेरेर आफूले पनि त्यही नक्कल गर्न खोज्नु देखासिकी हो भने अरूलाई देखाउनकै लागि गरिने क्रियाकलाप देखावटी हो। सकी–नसकी अरूलाई देखाउनु हाम्रो सामाजिक संस्कृति हो। देखावटीको मुख्य उद्देश्य अरूलाई प्रभावित गर्नु हो। देखासिकी देखेको वा हेरेको कुरामा निर्भर रहने हुँदा यो धेरै हदसम्म देखावटीबाट प्रभावित हुने गर्दछ।  

हरेक वर्ष साउन महिनासँगै काठमाडौँ सहरमा हरिया चुरा, पोते र पहिरन लगाउने महिलाको लस्कर देखिन्छ। त्यससँगै हरेक साउने सोमबार आराध्यदेव पशुपतिनाथको मन्दिर वरपरका सडकमा पैदलयात्रु र सवारी आवागमन नै अस्तव्यस्त हुने गरी सोमबारे व्रत बस्ने भक्तजनहरूको ताँती लाग्छ। त्यसलगत्तै सुरु हुन्छ, लगभग एक महिनासम्म चल्ने तीज उत्सव। यी दुवै हिन्दु धर्मसँग जोडिएका कुराले धार्मिक आस्थालगायतका धेरै अर्थ बोक्छन् तर अलि पाका मानिसहरूका कुरा सुनेर पत्याउने हो भने तीमध्ये एउटा अर्थचाहिँ यी दुवै कुरा समाजलाई गाँजेको देखासिकी पनि हुन्। परम्परासँग जोडेर परम्परागतरूपमा एक दिनको तर लगभग एक महिना मनाइने तीज र संस्कृतिलाई आफूखुसी अथ्र्याई मादक पदार्थ सेवन मिसाइएको झन्डै हप्तादिन लाग्ने पर्व होलीले हाम्रो संस्कृति जोगाउनुभन्दा ज्यादा हाम्रा सांस्कृतिक चेतनामा प्रहार गर्छन्।  

विवाहसँग जोडिएका दाइजो प्रथा, ब्याचलर पार्टी, हल्दिमेहन्दी, ढोगभेटलगायतका नयाँ प्रचलन देखावटी र देखासिकीप्रतिको हाम्रो सामाजिक लगावका अरू ज्वलन्त उदाहरण हुन्। समाजमा साउनका हरिया चुरापोते, पहिरन, साउने व्रतको अपरिहार्यता र सर्वस्वीकार्यले हामी कति छिटो नयाँ प्रचलन र संस्कृतिप्रति अभ्यस्त हुन्छौँ भन्ने पनि देखाउँछ।  

चलचित्र, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालको व्यापकताले देखावटी र देखासिकीलाई राम्रै बढावा दिएका छन्। वस्तु र सेवा व्यापार प्रवद्र्धनका लागि गरिने विज्ञापनको प्रभावकारिता देखावटी र देखासिकीमा नै टिकेको हुन्छ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ। जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढावा पाएको छ। जन्मदिन मनाएर केक काटेको, कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमेडुलेकोलगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ। जसले हरेक अवसरमा उत्सव गर्नैपर्ने र त्यसो गरेपछि अरूलाई देखाउनैपर्ने एकप्रकारको होडबाजी सिर्जना गरेको छ भने यस्ता उत्सव गर्न र देखाउन नसक्नेहरूमा अलिकति लघुताभास पनि गराएको पाइन्छ।

समाजमा चर्चामा रहनुपर्ने पेसागत बाध्यता, अरूले के भन्ला भन्ने सामाजिक डर, घुलमिल हुने चाहना, अरूलाई देखाउनैपर्ने मानसिकता र हुललाई पछ्याउने बानी आदि समाजमा देखावटीले जरा गाड्ने मूल कारणहरू हुन्। समाजमा शक्तिशाली, हुनेखाने र क्षमतावान्लाई मात्र पछ्याउने परम्पराले गर्दा केही निश्चित पेसा अँगालेका मानिसहरूलाई चिनिन र चर्चामा रहन केही न केही देखावटी गर्नैपर्ने अवस्था हुन्छ किनभने ती पेसा गर्नेका लागि पेसागत सफलता पाउन सकेसम्म ठूलो समूहको ध्यान आफ्नोतिर खिच्नैपर्ने हुन्छ।  

केही मानिसमा अरूले जे गर्‍यो, त्यही अथवा उस्तै काम नगरेमा अरूले आफ्नोबारे हैसियत नभएको, असामाजिक, असभ्य आदि सोच्लान् कि भन्ने डर ज्यादा मात्रामा हुन्छ। जसले गर्दा उनीहरू सकी–नसकी अरूले जे गर्छ त्यही पछ्याउन सक्दो कोसिस गर्छन्। देखावटीले सामाजिक सम्बन्ध बनाउन र जोगाइराख्न भूमिका खेल्ने हुँदा केही मानिसहरू समाजमा घुलमिल हुने चाहना पूर्ति गर्न पनि यसलाई पछ्याउँछन्। समाजमा केहीलाई आफू सफल र क्षमतावान् हुनुभन्दा अर्को भन्दा सफल र राम्रो देखिऊँ भन्ने अभिलाषा ज्यादा हुने गर्छ। जसले गर्दा आफ्नो क्षमता भएसम्म वा नभए पनि सक्दो देखावटी गर्नैपर्ने उनीहरूको चाहना हुन्छ। अनि केही मानिसहरू चाहिँ ठीक–बेठीक छुट्याउनुभन्दा धेरैले जे गर्‍यो, त्यही पछ्याउने गर्छन्।

औसत निम्न र निम्न मध्यम वर्गको नेपाली परिवारले जीवनभरको कमाइ विवाह, व्रतबन्ध, पास्नीलगायतमा खर्च गरेर सकाउँछ भने त्यही परिवारमा कुनै कडा खालको रोग लागेमा उपचार नपाएर कि त ज्यान गुमाउनुपर्छ कि उपचारका लागि चन्दा उठाउनुपर्ने अवस्था आईपर्छ। केही अभिभावक छोराछोरीको विद्यालय शुल्कभन्दा उनीहरूका छोराछोरीका जन्मदिन मनाउन खर्च गर्छन् भने छोराछोरीको शिक्षादीक्षामा भन्दा दुई दिनको विवाह र वैवाहिक संस्कारमा जीवन भरको कमाइको धेरै ठूलो हिस्सा खर्च गर्ने सामाजिक पंक्ति ठूलै छ।  

समाजमा देखावटी अनेक रूपमा प्रकट हुन्छ। आफ्नो क्षमता नहुँदा नहुँदै पनि सामाजिक तडकभडक गर्नु, आफ्नो नभएको आर्थिक/सामाजिक हैसियत देखाउन खोज्नु, अनावश्यक रूपमा भोजभतेर गर्नु, नभएको प्राज्ञिक/शैक्षिक उपलब्धी प्रदर्शन गर्न खोज्नु, नजानेको/नबुझेको कुरामा विद्वता प्रदर्शन गर्न खोज्नु आदिलाई चल्तीका सामाजिक देखावटीका केही उदाहरणका रूपमा लिन सकिन्छ।  

हाम्रा गाउँसहरका बजारमा सफ्ट ड्रिङ्क, हार्ड ड्रिङ्क, र जन्क फुड एकदमै लोकप्रिय छन्। कतिसम्म भने सडक सञ्जालभन्दा अघि सफ्ट ड्रिङ्क, हार्ड ड्रिङ्क, र जन्क फुड पुगेका हुन्छन्। ती पेय तथा खाद्य पदार्थ स्थानीय बजारमा माग भएर नै पुगेका हुन्। ती सबै कुराको लोकप्रियता स्वास्थ्यवर्धक भएर, स्थानीय रूपमा उपलब्ध उस्तै प्रकृतिका पेय पदार्थभन्दा उत्कृष्ट स्वाद अथवा गुण भएका कारणले मात्र भएको पनि होइन। ती पेय तथा खाद्य पदार्थको लोकप्रियताले हामीमा देखासिकी कतिसम्म प्रभावकारी हुन्छ भन्ने प्रस्ट्याउँछन्।

देखासिकीको समाजमा सकारात्मकसँगै नकारात्मक प्रभाव पनि हुने गर्दछ। देखासिकीका सकारात्मक प्रभावमा जनचेतना अभिवृद्धि, योगदान, नयाँ प्रविधिको प्रचारप्रसारमा सहजता लगायत हुन् भने नकारात्मक प्रभावमा गरिबीको दुष्चक्रको प्रभावमा परेका मानिसहरूको सङ्ख्यामा वृद्धि, आर्थिक असमानताको खाडललाई प्रश्रय, अनावश्यक मानसिक तनाव, मनोवैज्ञानिक लघुताभास, दुव्यसनको शिकार र आपराधिक घटनामा वृद्धिलगायतका विभिन्न खाले सामाजिक समस्या आदि पर्दछन्।

सामाजिक देखावटी र देखासिकीले न्यून आय भएका श्रमिक, साना किसान, मजदुर, कर्मचारीलगायतलाई दिनानुदिन थप आर्थिक समस्यामा धकेलिरहेको हुन्छ। आफ्नो दैनिक गुजारा र परिआउँदा औषधोपचारलगायतका आकस्मिक खर्च जुटाउन मुस्किल पर्ने न्यून आय भएका परिवार पनि सामाजिक, धार्मिक, सांस्कृतिक र परम्परागत संस्कारका नाममा फजुल खर्च गर्न बाध्य हुन्छन्। समाजलाई देखावटीपनले यति हदसम्म गाँजेको छ कि मानौँ यस्ता गतिविधि गर्न आफ्नो क्षमताले भ्याउँदैन अथवा सक्दिनँ भन्ने मानिस असक्षम, असामाजिक, अनैतिक र असभ्य नै ठहरिन्छ।

सामाजिक विकासक्रमसँगै हाम्रो समाज संयुक्त परिवारबाट एकल परिवारतर्फ जतिजति उन्मुख हुँदै गयो, उतिउति समाजमा एक अर्कासित सरोकारको सम्बन्ध पनि पातलिँदै जान थाल्यो। पछिल्लो समयमा सूचना प्रविधिको विकाससँगै पातलिएको सामाजिक भेटघाट भर्चुअल दुनियाँले सम्भव बनाएको सहज कुराकानीमार्फत पुनस्र्थापित भएजस्तो देखिए पनि देखावटी सरोकारमात्र ज्यादा मात्रामा बढ्न थाल्यो।

सूचना प्रविधिले एक आपसमा जोडिने बित्तिकै हामीमध्ये धेरैले वास्तविकता बिर्सिएर एक अर्काको धेरै निकट भएजस्तो अनुभूति गर्न पुग्यौँ। यो कुरालाई पहिले सामाजिक सम्बन्ध अत्यन्त प्रगाढ भएका समयमा समाजमा एक अर्काका सम्बन्धमा राखिने सरोकारका विषय, अहिले समान सामाजिक कुराकानीमा महŒव दिइने विषय अनि ती फरक विषयले हाम्रो जीवनमा पार्ने प्रभाव तुलना गरेर हेर्ने हो भने देखावटीको तितो यथार्थ छर्लङ्ग हुन्छ।  

कारण जेसुकै भए पनि समाजमा हामी सबैले देखासिकी र देखावटी गरिरहेकै हुन्छौँ। समाजमा सामाजिक परिवर्तनका कुरा गर्ने, समताको वकालत गर्ने, अधिकारका कुरा गर्ने लगायतका कुनै पेसा, वर्ग, तह र तप्काको मानिस छैन, जो देखासिकी र देखावटी गर्नबाट सधैँ टाढा रहेको होस्। अनि लवाइ, खुवाइ, पढाइ, लेखाइ, बोलाइलगायतका कुनै काम छैनन्, जसमा देखासिकी र देखावटीको प्रभाव पर्दै नपरेको होस्।

देखासिकी गर्नु केही हदसम्म हाम्रो बाध्यता हो भने धेरै हदसम्म रहर। राम्रा कामको देखासिकीले हामीलाई हाम्रो दक्षता/क्षमता बढाउन, केही नयाँ कामकुरा सिक्न/जान्न सहयोग मिल्छ भने नराम्रो कामको देखासिकीले हामीलाई अनावश्यक समस्यामा धकेल्छ।

बालबालिकालाई अनावश्यक रूपमा किताबका भारी बोकाउने, भानुजयन्तीमा भानुभक्तको, कृष्णाष्टमीमा कृष्णको, क्रिसमसमा सान्ताक्लजको पहिरन लगाएर पठाउन कुनै खास पर्वसँग जोडेर संस्कृतिसँग परिचित गराउने नाममा विद्यालयहरूले गर्ने क्रियाकलापले समाजमा पथप्रदर्शकका रूपमा कार्यरत शिक्षकहरू पनि कतिसम्म देखावटी गर्न सिकाउँछन् भन्ने प्रस्ट हुन्छ।

आफ्नो रहेको परिस्थिति, आवश्यकता, रूचि, क्षमतामा कुनै ध्यान नदिई अर्कोलाई अन्धाधुन्ध पच्छ्याउनु देखासिकीको कारण हो। एउटाले जे काम गर्‍यो, अर्कोले पनि ठ्याक्कै उही काम गर्नु जस्तै कसैले गोलभेँडा खेती गर्न थाले अर्कोले पनि त्यही गर्नु, एउटाले किराना पसल खोल्यो भने अर्कोले पनि किराना पसल नै खोल्नु, एउटाले कुनै विषय पढे अर्कोले पनि त्यही विषय पढ्नु, एक जना विदेश पढ्न गए अर्को पनि विदेश नै जानु, एक जना वैदेशिक रोजगारमा गए अर्को पनि वैदेशिक रोजगारमा नै जानु, एउटाले गाडी चढे अर्कोले पनि गाडी चढ्नु समाजमा चल्तीका देखासिकीका उदाहरण हुन्।

सक्नेले देखावटी गर्दा नसक्नेले बाध्यतावश देखावटी गर्नै पर्ने हुनजान्छ। परम्परादेखि चलिआएका विवाह, व्रतबन्धबाहेक पनि कसैले जन्मदिन, पास्नी, वैवाहिक वार्षिकोत्सवजस्ता वहानामा भोजमा निम्ता गर्दा सके पनि नसके पनि सकभर एउटा सानोतिनो उपहार नसके थोरै भए पनि दक्षिणाको औपचारिकता निभाउनै पर्ने हुन्छ। फेरि अर्काकोमा जाने आफ्नोमा नबोलाउने भन्ने कुरा पनि नमिल्दो देखिन आउँदा उस्तै नक्कल गर्न अर्कोलाई सामाजिक दबाब अनुभूति हुने नै भयो। वर्षभरि हुनजाने यस्ता सामाजिक जमघटका खर्च हुनेखाने अथवा हैसियत भएकालाई मनोरन्जनमा गरिने सामान्यखर्च लागे पनि न्यून आय भएकालाई ठुलो आर्थिक बोझ हुन पनि सक्छ।

जीवित रहुन्जेल बेवास्ता गरिएका पारिवारिक सदस्य र आफन्तका मृत्युसंस्कारमा देखाइने आडम्बर र तडकभडकले मृत्यु संस्कारलाई दिवंगतप्रति श्रद्धा प्रकट गर्ने बेलाभन्दा ज्यादा उत्सव बनाएको भान हुन्छ। अलिकति सोच्ने हो भने कतिपय अवस्थामा त मृत्युसंस्कारमा गरिने देखावटी र सरोकार जीवित रहँदा तिनै मानिसले पाउँथे भने तिनको सांसारिक बसाई पक्कै लम्बिन्थ्यो भन्ने अनुभूति पनि हुने गर्दछ।

के हामीलाईहरेक कुरामा अरूभन्दा जान्नेसुन्ने, राम्रो, हैसियत भएको, ज्यादा क्षमतावान हुनै पर्ने जरूरत हुन्छ? के हामीले अरूलाई आफ्नो हैसियत देखाउनैपर्छ? यी प्रश्नहरूको उत्तर नकारात्मक हुन्छ अर्थात पर्दैन। जसरी हामीलाई हरेक कुरामा अरूभन्दा जान्नेसुन्ने, राम्रो, हैसियत भएको हुन जरूरत छैन, त्यसैगरी हामीलाई हरेक कुरामा अरूको स्वीकारोक्ती (अप्रुभल) आवश्यक पर्दैन। समाजका सबै मानिसको आर्थिक र सामाजिक हैसियत फरक फरक हुन्छ, त्यसैले हाम्रा सरसङ्गतका सबैको समान हैसियत हुनु सम्भव कुरो पनि होइन। त्यति तथ्य मान्न तयार हुने हो भने देखावटीको आवश्यकता धेरै हदसम्म समाप्त हुन्छ।  

देखावटी गरेर छोटो अवधिमा कसैलाई प्रभावित पार्न त सकिएला तर दीर्घकालमा सकीनसकी देखावटी गर्ने व्यक्ति आफैलाई त्यही देखावटी आर्थिक समस्याका कारण बन्न पुग्छ। देखासिकी चाहिँ असल र सही कुराको मात्र गर्नसके हामीलाई प्रगति पथमा डोर्‍याउन सक्छ भने नचाहिँदो देखासिकीले अधोगतितर्फ। आफ्नो र अरूको हैसियतको सिमालाई ख्याल गरेर आफ्नो क्षमताले भ्याएसम्ममा मात्र सामाजिक र सांस्कृतिक गतिविधिमा हुने खर्च सीमित राखी सकेसम्म कम देखावटी गरेर समाजमा सबैले सहज रूपमा बाँच्न सक्ने वातावरण बनाउने कामको सुरुवात सबैबाट हुनुपर्छ।

प्रकाशित: १८ भाद्र २०७९ ००:४३ शनिबार

पशुपतिनाथ