६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

युवामय उपचुनावको अर्थ

गत फागुनमा दार्चुलाबाट काम विशेषले राजधानी काठमाडौँ आएका बाबुछोरासँग शान्ति बाटिकामा भेट भयो। समवयका कारण बाबुले मलाई चिनिहाले। नमस्ते गरे। छोरालाई पनि गर्न लगाए। २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको पूर्ण कदको सालिकको छेउमै हाम्रो भेट भएकोले ती बाबुलाई यो सालिक कसको हो थाहा पायौ भनी प्रश्न गर्दा बाबुछोरा नाजवाफ भए। 

गणेशमान सिंहको नाम सुनेका छौ ? मेरो जिज्ञासाको उत्तर छोराले नाई सुण्या (सुनेको छैन) भने। बाबुले सुण्या छौ (सुनेको छु)भने। सुदूरपश्चिममा कसको नाम सुन्या छौ त बाबु ? प्रश्न गरेँ। उनले सरल तरिकाले जवाफ दिए–शेरबहादुरजी, दिलेन्द्रप्रसाद बडु लगायत सबैको। झिक्क (बढी) नाम गीतबाटी तमरी (गीतबाट तपाईँको) नाम सुन्या छु।

१० मिनेटको कुराकानीपछि हामी आ–आफ्नो गन्तव्यमा लाग्यौँ। मेरो मनमा यी कुराले पौडी खेल्यो। जसले जीवनमा प्रजातन्त्रप्राप्तिका लागि राणा शासनका विरुद्ध लड्यो, पञ्चायत कालखण्डमा निकै कष्टकर जीवन बितायो, जसको नेतृत्वमा वामघटक पनि २०४६ मा सडकमा बलिदानीपूर्ण संघर्षमा उत्रे। 

आन्दोलन सफल भयो, बहुदलीय शासन व्यवस्थाको सूत्रधार बने, श्रध्दापूर्वक लौह पुरुषको उपाधि पाए, जसको सालिक जनताद्वारा मर्यादितरूपमा महानगरको बीचमा स्थापना पनि गरियो, तिनै वीर पुरुषको नाम नसुन्नु कतै युवा पिँढीमा राजनीतिप्रति वितृष्णा जागेर त होइन ? या शिक्षा मन्त्रालयअन्तर्गतका विभागहरूको पाठ्यक्रममा हाम्रो देशका महापुरुषहरूको नाम र कामबारे उल्लेख नभएर त हैन ? हेर्दा सामान्य लागे तापनि विषय गहिरो छ।

पञ्चायतकालमा अनुशासन कडा थियो, शिक्षा, राजनीति र सामाजिक क्षेत्रमा। तर विकासका संरचना सीमित थिए। ती संरचनाको केही सुत्राधार बनेका थिए प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला। १६ महिने कार्यकालमा उनले २०१६ सालमा नेपाल देश कस्तो बनाउने भन्ने दीर्घसोच राखेका थिए। 

तत्कालीन राजा महेन्द्र र बिपीबीचको व्यत्तित्वको लडाइँका कारण त्यसबेला राष्ट्र एकदलीय व्यवस्थामा ३० वर्षसम्म खुम्चिएर बस्नुपर्‍यो। बिपीले आठ वर्षसम्म कारागारमा थुनिनुपर्‍यो, प्रवासमा जीवन बिताउनु पर्‍यो। देशमा संवैधानिक राजतन्त्रको शासन हुँदै वर्तमानमा देश पूर्णरूपमा लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि १५ वर्ष पूरा भयो। राजनीतिक अधिकार घर–घरमा पुग्यो। सिंहदरवारका काम गाउँपालिका र वडा तहसम्म पुग्दा भुइँमान्छेले पनि पूर्णरूपमा नागरिक अधिकार पाए। जुन गौरवको विषय पनि हो।

२०४६ सालपछि वर्तमानसम्म देशमा विकास भइ नै राखेको छ। विनाश भयो, देश बिग्रियो, युवाहरू विदेश पलायन भए, पहाडका जमिन बाँझो रहेलगायतका नकारात्मक भावना मनमा पालिरहने हो भने देशको उन्नति र भलाइ कसले गर्ने ? हो, एउटा डरलाग्दो पक्ष नेपालीका सामु खडा हुँदैछ। त्यो हो भ्रष्टाचार। 

पत्याउनै नसकिने विषय र जनताले पूर्णरूपमा विश्वास गरेर सरकारमा पठाएका जनप्रतिनिधि नै भ्रष्टाचारमा रमाउने भएपछि राजनीतिकर्मीलाई कसरी विश्वास गर्ने ? प्रत्येक दिन भ्रष्टाचार र अनियमितताका खबर सुन्दा शिक्षित वर्ग त रातो मुख लगाउँछौँ भने दूरदराजका नागरिकलाई कस्तो प्रभाव पर्दो होला।

पूर्वसभामुखदेखि पूर्वमन्त्री, पूर्वसचिव, कार्यालय प्रमुखहरू घृणित कार्यमा मुछिएपछि नागरिकले कसलाई विश्वास गरेर सिंहदरबार पठाउने ? विषय गम्भीर छ। दार्चुलाका युवालाई राजनीतिप्रति वितृष्णा जागेर राजनीतिको मूर्धन्य व्यक्तित्वप्रति पिठ्युँ फर्काउनुको कारण यही मान्न सकिन्छ। 

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ‘घूस दिन्या र घूस लिन्या दुवै देशका शत्रु हुन्, यिनलाई देश निकाला गर्नुपर्छ’ भनेको सत्य रहेछ। अब अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको सीमाभित्र पनि यो विषय अटाउन सकेन। नेपाल सरकारले संविधान संशोधन गरी भ्रष्टाचारीलाई उसको करतुत हेरी कडा सजाय दिनेसम्मको कानुन बनाउनु अपरिहार्य भईसक्यो।

भ्रष्टाचार मात्र नहुने हो भने दक्षिण एशियामा नेपाल धनी मुलुकमा छिटै गणना हुनेछ । किनकि हाम्रो देश भूस्वर्ग मुलुक हो। जल, जमिन, जंगल र हिमालले मात्र पनि हामी राम्रैसँग पेट पाल्न सक्छौँ, रेमिटेन्सको भर पर्नुपर्दैन। युवाहरूको मनोविश्लेषण गर्दा पदासीन, सन्भ्रान्त वर्ग, सदैव शक्तिको वरिपरि डुलिरहने पहुँचवालाका करतुत देखेर विरक्तिएर मात्र विदेशिएका छन् भन्ने बुद्धिजीवीहरूको भनाइ छ।

अब केही चर्चा इलाम २ र बझाङ प्रदेश १ को उपचुनावबारे गरौँ। यी दुवै जिल्लामा रिक्त रहन गएका पदका लागि वैशाख १५ गते चुनाव सम्पन्न हुँदैछ। सुदूरपूर्व र सुदूरपश्चिमी भूगोलमा अवस्थित दुवै आ–आफ्ना भौगोलिक विशेषता बोकेका रमणीय जिल्ला हुन्।

एउटा राष्ट्रियरूपमै सुपरिचित राजनीतिमा पाको व्यक्ति हुन्। जसले सभामुख जस्तो पदमा रही कुशलतापूर्वक सभा सञ्चालन गरेका थिए । एमालेका भरपर्दा नेता सुवास नेम्वाङको गत भदौ २६ गते मृत्यु भयो। रिक्त स्थानमा उनका छोरा सुहाङ नेम्वाङलाई पार्टीले उम्मेदवार खडा गर्‍यो। नेपाली कांग्रेसबाट अघिल्लो वर्ष थोरै मतान्तरले पराजित डम्बर खड्कालाई उम्मेदवार तोकिसकेको छ।

यता बझाङ १ क बाट प्रदेश सभा सदस्य तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी गत असार ५ गते निधन भएपछि रिक्त स्थानमा उनका छोरा अभिषेकबहादुर सिंहलाई उम्मेदवार चयन गरेको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार २४ गते शनिबार आयोगमा उम्मेदवारी दर्ताको कार्य भइसक्यो। 

नेपाली कांग्रेस, बझाङ १ क मा आफ्नो वर्चश्व यथावतरूपमा कायम राख्न चाहन्छ भने उता इलाममा पनि एमाले पार्टी पनि आफ्नो पुरानो सिट सुरक्षित राख्न चाहन्छ। बाँकी रहेको तीन वर्षे कार्यकालमा यी दुइटा सिटले राष्ट्रिय राजनीतिमा खासै असर नगरे तापनि सम्बन्धित पार्टीले आफ्नो प्रतिष्ठाको हिसाब भने पक्कै राख्ने देखिन्छ।

दुवैजना युवा हुन्, जोश जागर युवाहरूमा हुने भइ नै हाल्यो। डम्बर खड्का कांग्रेसका लोकप्रिय युवा नेता हुन्। इलामको राजनीतिलाई राम्ररी बुझेका कांग्रेसका भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको पूर्णसाथ पाएर मैदानमा उत्रँदै छन्। 

यसैगरी बझाङ १ क बाट युवा नेता अभिषेकबहादुर सिंहले पनि राष्ट्रिय राजनीति बुझेका र मतदातबीच लोकप्रिय मानिन्छन्। यी दुवै उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंह उम्मेदवार खडा भए तापनि बझाङमा कांग्रेस उम्मेदवार सिंहको राजनीतिक भिडन्त एमालेका दमन भण्डारीसँग रहने देखिन्छ। माओवादीले इलाममा एमालेलाई सघाउने देखिए तापनि बझाङमा कसलाई सघाउने भन्ने टुंगो लागेको देखिँदैन।

२०४६ र २०६२/०६३ सालको जनक्रान्ति सफल पार्न युवाहरूको महत्त्वपूर्ण भूमिका छ। लोकतन्त्र प्राप्तिका लागि सहादत पनि युवाहरूले नै गरेकाले यिनीहरूप्रति समाजको ठूलो भरोसा छ। २०३६, २०४२, २०४६ र ०६२/०६३ सालको जनक्रान्तिमा पंक्तिकार पनि युवा अवस्था हुँदा सक्रिय भूमिका निर्वाह गरेको याद आउँछ। देशको बदलिँदो राजनीतिक अवस्था विश्लेषण गर्दा हालका राजनीतिक पार्टीका शीर्ष नेताहरूले नेतृत्व युवालाई चित्त बुझेको देखिँदैन।

अब उहाँहरूले विस्तारै विश्राम लिने, युवाहरूलाई मार्गनिर्देश गर्ने, लोकतन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गरेका व्यक्तिलाई अवसर दिने काम नेतृत्व पंक्तिले गर्नुपर्छ भन्ने विदेशको भूमिबाट पनि युवाहरूको आवाज आइरहेको देखिन्छ। यसो भैदिए देशमा भ्रष्टाचार अन्त्य, युवाहरूको विदेश पलायनमा कमी र समाज विकासका केही शुभसंकेत देखापर्नेछन् भन्ने आमसर्वसाधारणको विश्वास रहेको पाइन्छ।

प्रकाशित: २८ चैत्र २०८० ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App