६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

रङरङको राजनीति

राजधानीकेन्द्रित केहीदिन पहिलेका राजनीतिक जुलुस अहिले देखिँदैनन्। अनावश्यक राजनीतिक जुलुसले राजधानीबासीलाई हिँडडुलमा कठिनाइ गरेको थियो। जुलुस तुहिनुका पछाडि बेतुकका नाराबाजी र गन्तव्यहीन यात्रा थियो। केही तनाव पनि दियो राजनीतिका शीर्षस्थ नेताहरूलाई। 

अहिले राजनीतिक पार्टीका नेताहरू आ–आफ्ना कार्यकर्ताका साथ जिल्ला पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने केही जिल्लाको भ्रमण सकेर राजधानी फर्किएका छन्। देउवा कांग्रेसका जिल्ला सम्मेलनहरूमा केही दिन नवलपरासी, ओखलढुंगालगायतका जिल्लामा व्यस्त भए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दलबलसहित बैतडी जिल्लाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्राका लागि गत १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा गतिशील देखिन्छन्। यो यात्राले चीनका नेता माओत्सेतुङको त्यसबेलाको देश भ्रमणको झझल्को पनि देखाउन खोज्छ।

चीन विशाल राष्ट्र हो। उनको यात्राको उद्देश्य फरक थियो। यात्रा पनि धेरै लम्बिएको थियो। ओलीको यात्रा अब धेरैदिनसम्म कायम नरहन सक्छ। मध्यपहाडी लोकमार्गमा भइरहेको उनको यो राजनीतिक यात्रा ‘मिसन–८४’ को चुनावका लागि भनेर जनाइएको छ। यस यात्राबारे केही सामाजिक र राजनीतिक चर्चा गर्नु सान्दर्भिक ठहरिनेछ।

कांग्रेस, माओवादी र राप्रपा पार्टीले पनि देश दौडाहाका केही योजना तय गरेका देखिन्छन्। थोरै बोलेर राजनीतिक गोटी चाल्न सिपालु कांग्रेसका सभापति देउवाले हालै नवलपरासीको कांग्रेसी सभामा आफूले धेरै नबोल्ने तर काम गरेर देखाउने भनेर कार्यकर्ता र राजनीतिकर्मीलाई काम गर, गफ गरेर समय मात्र खेर नफाल भन्ने उपदेश दिए। कांग्रेसी वृत्तमा देउवाको उक्त भनाइलाई महत्वका साथ चर्चा पनि गरियो। यस अघि राजधानीको एक कार्यक्रममा आफ्नो पार्टी जहिले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको, जनताद्वारा बिदाइ गरिसकिएको राजतन्त्रका पछाडि कहिल्यै पनि लाग्न नसक्ने स्पष्ट पारेका थिए।

८३ प्रतिशत हिन्दुधर्मावलम्बी भएको हाम्रो मुलुकमा बरु हिन्दु धर्मबारे बहस गर्न सकिने बताएका थिए। धर्मनिरपेक्ष अपनाइरहेको हाम्रो देशमा देउवाको बोलीले दीर्घरूपममा असर पार्न सक्छ भन्ने मानिसको तर्क पनि एकातिर देखा परेको छ। यही कुरालाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केही सभामा आ–आफ्ना तर्कले कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्ने भएकाले सबैथरी जातजातिले आ–आफ्नो सनातनी धर्म अपनाउनु नै उचित ठहरिने बताइरहेका छन्।

पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे। हुन पनि बाजुरा खाद्यान्न अभावमा पर्ने पहाडी जिल्ला हो। स्वास्थ्यका कारण गर्भवतीहरू बाटामै बच्चा जन्माउन विवश छन्। 

यही कुरालाई नेता डा. शेखर कोइरालाले धर्मलाई खासै महत्व नदिई आफ्नो पार्टीमा आन्तरिक लोकतन्त्र बलियो पार्नु र भविष्यमा कसैसँग गठबन्धन नगरी समाजवादको नीति र सिद्धान्तअनुसार आगामी चुनावमा जित हासिल गर्नु हो भन्ने तर्क अघि सारेका छन्।

गत साउनको दोस्रो साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको संगठन विस्तारका लागि एक वर्षसम्म समय र कार्यक्रम निर्धारणसमेत गरेको थियो। कार्यक्रमअनुसार २० देखि ३० गतेसम्म केही जिल्लामा सोसम्बन्धी काम पनि भए। तर पार्टीका आन्तरिक विवादका कारण बीचैमा सो अभियानले गति लिन सकेन। 

यसैगरी माओवादी केन्द्रले पनि गत भदौदेखि तीन महिनासम्म देशका सबै पालिकामा संगठन विस्तार गर्ने भनेको थियो। बाह्यरूपमा नदेखिएतापनि सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री प्रचण्डको पार्टीमा आन्तरिक लोकतन्त्रको अभावका कारण संगठन विस्तारको कार्य अघि बढ्न नसकेको हुन सक्छ।

हाल संसद्मा विपक्षी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा सभामा नयाँ विचार बोकेको यो पार्टीले देशैभर संगठन विस्तारको अभियान छिट्टै चलाउने उद्घोष गरेका थिए। 

आलंकारिक राजा र हिन्दुधर्मसहितको सो पार्टीका नीति र उद्देश्य गत ७ गते सुरु गरेको उद्देश्यरहित दुर्गा प्रसाईको नीति र योजनासँग मिल्दोजुल्दो देखिन्छ। कोसीमा धेरै पानी बगिसकेकाले शायद लिङ्देनको सपना पूरा हुन सक्दैन।  

अब चर्चा एमालेले सुरु गरेको संकल्प अभियानबारे गरौँ। महाकाली अञ्चलको अमर सहिद दशरथ चन्द जन्माउने जिल्ला हो बैतडी। सदरमुकाम गोठालापानीबाट भारतको पिथौरागढ प्रष्टै देखिन्छ। जहाँ विकासका राजमार्गहरू टल्किरहेका देखिन्छन्। ऐतिहासिक झुलाघाट तरेर त्यहाँ दिनहुँ यात्रुको आवागमन भइरहन्छ। 

बझाङ र बैतडीका सयौँ मानिस कामको खोजीमा सीमापारि गइरहन्छन्। संवेदनशील ठाउँ पनि हो झुलाघाट। तराईंमा कञ्चनपुर जिल्लाको वनबासाको पुल, बैतडीको झुलाघाटको पुल र हिमाली जिल्ला दार्चुला भएर बग्ने महाकाली नदीमाथिको पुलले नेपाल–भारतबीचको आर्थिक, सामाजिक, धार्मिक मात्र नभएर राजनीतिक सम्बन्ध पनि राख्ने गर्दछ। 

आफूले सरकारको नेतृत्व गरिरहँदा मौनता कायम राखिराख्ने एमाले सरकारबाट बाहिरिँदा भने अनेकौँ राजनीतिक प्रसंग उठान गर्ने भएकाले महाकाली सन्धिदेखि नाभी, कुती र गुञ्जीका विषयमा एमालेको द्वैध चरित्रसँग हामी पूर्ण परिचित छौँ भन्छन् त्यस क्षेत्रका पत्रकार र राजनीतिक विश्लेषकहरू।

नक्सा दार्चुलाको सिमाना देखाएर गाडे तापनि भारतीय सेनाले नेपालीभूमि कब्जा गरेको टुलुटुलु हेर्नुबाहेक भारतीय पक्षसँग कूटनीतिक वार्ता केपी शर्माको प्रधानमन्त्रित्वकालमा हुन सकेन। कोरोनाका बेला भारतीय पक्षको अमानवीय व्यवहारका कारण नदीमाथिको डोरी काटेर नेपाल आउँदै गरेका जयबहादुर धामी महाकालीमा डुबे। लास बेपत्ता भयो। भारतभूमि प्रवेश गर्दा त्यहाँका सुरक्षाकर्मीले नेपालीमाथि गरेका अमानवीय व्यवहार दिनहुँ बढ्दो छ। झुलाघाट पुगेर ओलीले केही बोलिदिनुपथ्र्यो, यसो गरेको खण्डमा दलबलसहित पुगेका उनको भ्रमणलाई महाकालीबासीले अर्थपूर्णरूपमा लिने गर्थे तर त्यसो गरिएन।

शेरबहादुर देउवाको प्रथम पटकको प्रधानमन्त्रीत्वकाल २०५२ सालमा चौडा पारिएको बैतडीको चट्टानीय भूभाग खोड्पेदेखि डडेल्धुरासम्म जोखिमयुक्त सडक हुँदै देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर केपीले सो जिल्लाबाट सातपटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बन्न सफल देउवालाई फोनमा कुराकानी गरे। 

कुराकानी दुई नेताबीच के भयो थाहा नभए पनि लोकतान्त्रिक साइनो जोडेको मान्न सकिन्छ। देउवाकै कार्यकालमा कर्णालीपारिका २२ वटा पुलको शिलान्यास पनि भएको थियो। 

डडेल्धुराको स्याउल्या सडक हुँदै ऐतिहासिक गौँडा मानिएको जिल्ला डोटी पुगेर थकाइ मारेका केपी पार्टीका भरपर्दा मित्रका साथ चौखुट्टेको सडकको सौन्दर्य अवलोकन गर्दै अछाम पुगे।

महाकाली अञ्चलमा छोर्‍याट्टा–छोर्‍याट्टीसँग देउडा खेलमा सामेल भएका उनले अछामको सदरमुकाम मंगलसेनको आमसभामा वर्तमान सरकारको आलोचना निकै गरेको सुनियो। अछामको कमलविनायकको सडक हुँदै नेपालको सबैभन्दा लामो नदी कर्णाली तरेर कर्णाली प्रदेशमा उनको फौजले दैलेखमा उपस्थिति देखायो।

गत कात्तिक १७ गते राति आएको भूकम्पले क्षतविक्षत पारेको जाजरकोट र रुकुम पश्चिमका जनताको पीरमर्का सुन्दै चिसोका कारण ३२ जनाको दुःखद् निधनले उनी पनि दुःखी भए। उद्धारमा खटिएका नेमाओवादीका नेता जनार्दन शर्मासँग भेटेर हात मिलाउनु वामपन्थीहरू मिलौँ भन्ने आशय पनि हुन सक्छ।

प्रकाशित: ६ पुस २०८० ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App