१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रोधी

आदिम सभ्यताको सुरुवातमा
अन्नपूर्ण हिम शृंखलाको फेदीतिर
मेरा बाजे बराजुहरूले
काटे केही बांगाटिंगा कटुसका बोटहरू
उक्काए अक्करे पहराका ढुङ्गाहरू
सम्याए उबडखाबड जमिनहरू
र जन्मियो सिंगो इतिहास बोकेर
मेरो संस्कृतिको धरोहर
रोधीं घर ।
‘रो’ अर्थात् बुन्नु, ‘धीं’ अर्थात घर
इतिहास बोकेको सिंगो बुन्ने घरमा
बुनिनन् मेरी रोस्याें आमाले
चोलो, घलेक, भांग्रा र राडी मात्रै
फुलाइनन् मेरी रोस्यों आमाले
पहाडी छातिभरि गुराँसहरू मात्रै
सँगै हुर्काइन रोधींबाटै
प्रेमको सौन्दर्य
सम्बन्धको सौन्दर्य
र विश्वासको सौन्दर्य ।

अहिले समयको यो
वल्लो डाँडामा आइपुग्दा
मेरा यी चिम्सा आँखाहरूमाथि
मेरा यी थेप्चा नाकहरूमाथि
मेरा यी अग्र्यानिक लवजहरूमाथि
थोपरेर रोधींबारे अर्नगल विकृत विचारहरू
नफैलाऊ  महोदय !
दूर दराजसम्म अफवाह...

बस् यत्ति भन्छु म,
कि अहिले यहाँ छैनन् रोधीं घर
र त,
बजिरहेछन् विदेशी -यापहरू
जन्मिरहेछन् बेवारिसे शिशुहरू
हुर्किरहेछन् कागजी सम्बन्धहरू
चुहिरहेछन् तप्प तप्प विश्वासहरू  

अनि भएको छ यहाँ छाडा
संस्कृति
प्रवृत्ति
र, तिमीले बाँचेको
यो समय ।

प्रकाशित: ९ असार २०७५ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App